आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भागबन्डामा आयल निगम डिपो प्रमुखमा व्यापक हेरफेर

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) ३८७ पाठक संख्या

भाद्र , ८ : मन्त्रीदेखि प्रबन्ध निर्देशक, निर्देशक र कर्मचारी युनियनको भागबन्डामा फेरबदल
नेपाल आयल निगम व्यवस्थापनले देशभरका मुख्य प्रादेशिक कार्यालय र डिपो प्रमुखमा व्यापक हेरफेर गरेको छ । पुराना कर्मचारीका ठाउँमा नयाँलाई पठाउँदा मन्त्री, प्रबन्ध निर्देशक, निर्देशकदेखि कर्मचारी संठगनसमेतको भागबन्डा गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल, निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई, निर्देशक वीरेन्द्र गोइत र निगमका क्रियाशील नेकपा र कांग्रेसका कर्मचारी संगठनले भागबन्डा गरेर डिपो प्रमुख खटाएका हुन् । साउन अन्तिम साता डिपो प्रमुख हेरफेर गर्ने निर्णय भएको थियो । सरुवा भएका डिपो प्रमुखले काम सुरु गरिसकेका छन् ।निगममा कार्यरत नेकपा समर्थित कर्मचारी संगठनको सिफारिसमा झापाको आरआली, विराटनगर र पोखराको हवाई इन्धन डिपो प्रमुख सरुवा गरिएको छ । चारआलीमा बिपिन श्रेष्ठलाई प्रमुख बनाएर पठाइएको छ । त्यहाँ कार्यरत सनम कार्कीलाई विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयमा सरुवा गरिएको छ । विराटनगर प्रादेशिक कार्यालयको प्रमुखमा संगठनको सिफारिसअनुसार अशोक साहलाई पठाइएको छ । त्यहाँ कार्यरत दिनेश यादवलाई काठमाडौं तानिएको छ ।

यादव निगमभित्र भ्रष्ट कर्मचारीका रूपमा आरोपित छन् । दसैँ, तिहारमा डिपो प्रमुखले पम्प र ढुवानी व्यवसायीलाई दबाब दिएर ठूलो रकम संकलन गर्ने आरोप लाग्दै आएको छ । कात्तिकमा अवकाश पाउन लागेका यादवले यसपटकको दसैँमा विराटनगरलगयात पूर्वका व्यवसायीलाई धेरै पैसा पठाउने सहमति नगरे अहिलेबाटै तेल कम दिएर दुःख दिन लागेको केन्द्रीय कार्यालयमा उजुरी परेको थियो । त्यसपछि यादवलाई तुरुन्त हटाएर साहलाई पठाइएको स्रोतको भनाइ छ । दुई वर्षअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको दबाबमा उनी विराटनगर डिपो प्रमुख भएका थिए ।

मन्त्री यादवले यसपटक पनि आफ्नो सिफारिसमा जनकपुर डिपो प्रमुखमा मनोजकुमार साहलाई पठाएका छन् । त्यहाँ कार्यरत रमेश थापा काठमाडौंको थानकोट डिपोस्थित अर्पेसन विभाग तानिएको छ । नेकपा समर्थित संगठनको सिफारिसमा पोखराको हवाई इन्धन डिपो प्रमुख भएर टीकाजंग थापा पुगेका छन् । यहाँ कार्यरत नवराज पोख्रेल केन्द्रीय कार्यालयको प्रशासन शाखा आएका छन् ।

कांग्रेस समर्थित स्वतन्त्र कर्मचारी युनियनको सिफारिसमा विराटनगर हवाई इन्धन डिपोमा राजकुमार राई सरुवा भएर पुगेका छन् । यहाँ कार्यरत प्रदीपमान बसी सिनामंगलस्थित हवाई डिपोमा छन् । त्यस्तै, नेपालगन्जको डिपो प्रमुख नवराज पोख्रेल गएका छन् । उनी युनियनको कोटासँगै प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलको रोजाइमा नेपालगन्ज गएका हुन् । केन्द्रीय कार्यालयमा रहँदा सुरुदेखि नै पोख्रेलले प्रबन्ध निर्देशक पौडेललाई सहयोग गर्दै आएका छन् ।देशको सबैभन्दा ठूलो इन्धन डिपो अमलेखगन्जमा भने यसपटक सरुवा गरिएको छैन । त्यहाँ कार्यरत प्रदीप यादवको अमलेखगन्जमा दुई वर्षको कार्यकाल सकिए पनि डिपोसँगै मोतिहारी–अमलखेगन्ज पेट्रोलियम पाइपलाइनमा समेत उत्कृष्ट काम गरेको भन्दै सरुवा गरिएको छैन । पाइपलाइनको उद्घाटनपछि उनको सरुवा हुने स्रोतको भनाइ छ ।

किन हुन्छ चलखेल ?

आयल निगममा सबैभन्दा बढी अनियमिता डिपोमा हुने गरेको छ । डिपोमा तोकिएको पैसा दिने पेट्रोलपम्पलाई मात्र मागअनुसार तेल दिने गरिन्छ । पैसा नबुझाउने वा कम दिन खोज्ने पेट्रोल पम्पलाई मागभन्दा कम तेल दिएर डिपो प्रमुखले दबाबमा ल्याउँछन् ।
इन्धन ढुवानी गर्ने ट्यांकर व्यवसायीले नियमित रूपमा डिपोमा रकम बुझाउँछन् । रकम नबुझाए डिपो प्रमुखले भारतमा गएर तेल ल्याउन ट्यांकरलाई अनुमति दिँदैनन् । यस्ता व्यवसायीका ट्यांकरलाई तेल ल्याउने अनुमति दिनुपरे निकै ढिला गरिदिन्छन् र महिनामा १–२ वटा ट्रिप मात्र दिन्छन् । त्यस्तै, तेल बोकेर आएका ट्यांकरलाई डिपोमा खन्याउन पनि दिँदैनन् । पालो नकुरी तेल लिन जान र तेल बोकेर आएको ट्यांकर तुरुन्तै डिपोमा खाली गर्न पनि ढुवानी व्यवसायीले नियमित रूपमा डिपो प्रमुखलाई रकम बुझाउनुपर्ने बाध्यता छ ।
डिपो प्रमुखले पेट्रोल पम्प र ट्यांकर ढुवानी व्यवसायीबाट असुलेको अवैध रकम आफू तथा आफ्नो कार्यालयका कर्मचारीलाई ६० प्रतिशत वितरण गर्छन् । ४० प्रतिशत केन्द्रीय कार्यालय पठाउँछन् । केन्द्रीय कार्यालयका उच्च व्यवस्थापनमा रहेका कर्मचारी र विभिन्न पार्टीका कर्मचारी युनियनमा रहेका पदाधिकारीले यो रकम पाउँछन् । त्यसैले आफ्नो पक्षको कर्मचारीलाई डिपो प्रमुख बनाउन आयल निगममा सधैँ हानाथाप हुन्छ ।
थानकोट डिपो जान हानाथाप
इन्धन वितरणका लागि सबैभन्दा चुनौतीपूर्ण मानिएको ३ नम्बर प्रादेशिक कार्यालय थानकोटको डिपो प्रमुखमा चलखेल गरिएको छ । सबैभन्दा धेरै ‘घुस’ संकलन हुने भएकाले थानकोट डिपोको प्रमुख नियुक्ति गर्न सधैँझैँ यसपटक मन्त्रालयदेखि निगमको कर्मचारीसम्मले जोड गरेका थिए ।

थानकोटमा कार्यरत भरत रेग्मीलाई एक वर्षभित्रै केन्द्रीय कार्यालय तानिएको छ र उनका ठाउँमा केन्द्रीय कार्यालयको वितरण विभागमा रहेका निमित्त निर्देशक विनितमणि उपाध्यायलाई पठाइएको छ । निगमको विनियमावलीमा डिपो प्रमुखको कार्यकाल २ वर्षको रहने व्यवस्थाविपरीत रेग्मीको सरुवा गरिएको हो । उपाध्यायलाई प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले थानकोटको जिम्मेवारी दिइएको दाबी गरिएको छ तर, उनी बजार विभागका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई र वितरण विभाग प्रमुख वीरेन्द्र गोइतको विश्वास पात्र हुन् ।

स्रोतका अनुसार गोइत र भट्टराईकै जोडबलमा उपाध्यायले थानकोट डिपो प्रमुखको उपहार पाएका हुन् । भट्टराईले निमित्त प्रमुखका रूपमा निगम हाँकेका वेला उपाध्ययलाई फाइल बढुवामार्फत नवौँ तहमा वरिष्ठ बनाएर आफ्नो पक्षमा पारेका थिए । उपाध्यायलाई थानकोट पठाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको सचिवालयले समेत सहयोग गरेको थियो । उपाध्यायलाई ट्यांकर ढुवानी व्यवसायी र कांग्रेस समर्थित कर्मचारी संघले पनि थानकोट लैजान चर्को दबाब दिएका थिए ।

एक वर्षसम्म नियमित इन्धन आपूर्ति गरेर उदाहरण देखाएका रेग्मीलाई केन्द्रीय कार्यालय तानेर एलपी ग्यास विभागको दोस्रो दर्जामा राखिएको छ । रेग्मीको कार्यकालमा उपत्यकालगायत आसपासमा एक दिन पनि इन्धन असहज भएको थिएन । अक्सर थानकोट डिपो प्रमुखले इन्धन आपूर्ति सहज गरी आर्थिक लाभ लिने गरेको विगतका प्रवृत्तिलाई रेग्मीले छायामा पारेका थिए ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस