आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उत्पादनको खानी लमजुङमै बिजुलीको समस्या

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) ३०९ पाठक संख्या

भाद्र , ८ : मध्यमर्स्याङ्दीजस्तो ठूलो आयोजना भएको जिल्ला लमजुङमै दिनदिनै झयाप्प–झ्याप्प लाइन जान थालेको छ । यो जिल्लामा ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दीदेखि दोर्दीलगायतका साना आयोजनाबाट करिब डेढ सय मेगावाट उत्पादन भइरहेको छ । तर, दुई महिनादेखि दिनमा १५–२० पटक लाइन जान थालेपछि सर्वसाधारणदेखि उद्योगी–व्यवसायी निकै पीडित बनेका छन् ।

विद्युत् प्राधिकरणका अनुसार तनहुँको डुम्रे हुँदै लमजुङ ल्याइएको १ सय ३२ केभिएको प्रसारण लाइन, भौतिक संरचना, पेट्रोलिङका कारण जिल्लामा विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प बिजुली जाने क्रम) भएको हो ।

बिस्तारै फस्टाउँदै गएको उद्योगधन्दामा नियमित विद्युत् आपूर्तिमा अनावश्यक ट्रिपिङ भइरहँदा उद्योगले क्षमताअनुसार वस्तु उत्पादन गर्न सकेका छैनन् । विद्युत् ट्रिपिङ भइरहँदा पूर्ण रूपमा सञ्चालन हुने उद्योगले उत्पादन गर्ने वस्तुमा गिरावट आएको युनिक बेकरीका सञ्चालक शिव सिलवालले बताए ।

विद्युत् ट्रिपिङले जिल्लामा सञ्चालित इँटा उद्योग, क्रसर, काष्ठ उद्योग, दालमोठ उद्योग, पाउरोटी उद्योग तथा अन्य साना तथा मझौला उद्योग मर्कामा परेका छन् । यसैगरी, अनियमित विद्युत्ले जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थालाई समेत असर पुर्‍याएको छ ।

लगातारको विद्युत् ट्रिपिङ हुने समस्याले जिल्लावासीलाई हैरान बनाएको छ । घरी जाने, घरी आउनेले त झनै सास्ती दिएको छ । विद्युत् प्राधिकरणको मातहतमा रहेर जिल्लामा विद्युत् वितरण गर्ने जिम्मा लिएको लमजुङ विद्युत् उपभोक्ता संस्था रानीकुवाले प्रवाह गरेको विद्युत् लाइनमा कहिले उच्च भोल्टेज त कहिले कम भोल्टेज भएर जिल्लावासीले सास्ती खेपिरहेका छन् ।

भोल्टेजको उतार–चढाव हुनु, अनियन्त्रित तथा अनियमित विद्युत् आपूर्ति हुनुले जिल्लाका उद्योग, कलकारखाना धराशायी भएका छन् भने सञ्चारगृहलाई समेत प्रभावित बनाएको छ । जिल्लामा विद्युत्का भौतिक संरचना कमजोर भएकाले बिजुली आउने–जाने क्रम बढेको उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले जानकारी दिए ।

लमजुङमा ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी, ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४.४ मेगावाट क्षमताको राँधी खोला जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा मिसाइएको छ । तर, जिल्लावासीले तनहुँबाट पठाएको बत्ती बाल्न बाध्य भएका छन् । लमजुङ विद्युत् उपभोक्ता संस्थाले समयमा जिल्लाको कमजोर संरचना मर्मत गर्न नसक्दा जिल्लाको विद्युत् विकास हुन सकेको छैन ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस