आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पशु चौपाया छाडा छोड्दा वृद्धभत्ता नै रोकियो

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) ३३५ पाठक संख्या

भाद्र , ८ : रिडी बजार क्षेत्रमा छाडा चौपायाको संख्या बढेपछि स्थानीय तहले नियन्त्रणका लागि कडाइ गरेको छ । गाईगोरु छाडा छाड्नेलाई वृद्धभत्ता नै कटौती गरिदिएको छ ।
रुरु गाउँपालिका–१ कि टीकादेवी न्यौपाने बजारमा गाई छाड्दा वृद्धभत्ताबाटै वञ्चित भएकी छिन् । गाई छाडेर बजार क्षेत्र फोहोर पारेको भन्दै स्थानीयले विरोध गरेपछि उनी अप्ठ्यारोमा परेकी छिन् । स्थानीय तहले उनलाई ०७५ कात्तिकदेखि वृद्धभत्ता रोकिदिएको हो ।

रुरु गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विकले विवाद समाधान गर्न वृद्धभत्ता रोकिएको बताए । कात्तिकदेखि आफ्नो खातामा वृद्धभत्ता नआएको न्यौपानेले पनि बताएकी छिन् । वडासचिव रामप्रसाद ज्ञवालीले भने केही समय रोके पनि पछि खातामा वृद्धभत्ता जम्मा गरिदिएको दाबी गरेका छन् ।

बजार कुरूप बन्दै
पवित्र तीर्थस्थल भएकाले रिडीमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । साथै, बुटवल हुँदै कालीगण्डकी करिडोर, तम्घास, अर्घाखाँची र बाग्लुङका विभिन्न स्थानमा पुग्ने सवारीसाधनको भिड रिडी बजारमा हुने गर्दछ । छाडा वस्तुभाउले बजारको सुन्दरतासमेत खलबल्याएको रिडीका युवा सुन्दर कसजूले बताए । उनले पशु चौपायाले एकै ठाउँ बसेर गोब्राउने भएकाले पनि बजार दुर्गन्धित भएको बताए ।

व्यवसायी र किसान हैरान
बसपार्क, लामाचौपारी, एक्ले पिपललगायत स्थानका स्थानीयले छाडा चौपाया लामो समयदेखि व्यवस्थापन नहुँदा स्थानीय सरकारको आलोचना गरेका छन् । होटेल व्यवसायी अञ्जली गुरुङले गाईले होटेलभित्रै छिरेर पकाएको भात, तरकारी तथा रोटी खाइदिँदा आफूहरूलाई समस्या पर्ने गरेको गुनासो गरिन् । ‘सामान्य तरिकाले धपाउँदा टेर्दैन, पिटे मर्ने डर व्यवसाय गर्न मुस्किल पर्‍यो,’ उनले भनिन्, ‘स्थानीय सरकारले उचित व्यवस्थापन गर्नु जरुरी छ ।’

गौरव डेरी सञ्चालक रवि पन्थले स्थानीय सरकारले कडा कदम नचालेकाले समस्या बढ्दै जाने बताए । अनुदान पाएर ट्याग लगाएका गाईसमेत बजारमा छाडिएकाले गाईले दूध दिने वेलाबाटै त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने उनको भनाइ छ । पन्थले गाईको दूधमा प्रतिलिटर ५० पैसा किसानले र ५० पैसा व्यवसायी तथा प्रतिलिटर एक रुपैयाँ स्थानीय सरकारले गरेर निश्चित कोष निर्माण गरेपछि त्यसको व्यवस्थान कोषमार्फत किसान आफैँले गर्ने सुझाब दिए ।

खुट्टा र पुच्छर काट्न थाले
छाडा चौपायाले सताउन थालेपछि स्थानीयले लुकिछिपी खुट्टा काट्ने, पुच्छर काट्ने र पिटेर घाइते बनाइ दुःख दिने गर्न थालेका छन् । अहिले बजारमा घाइते भएर विभिन्न अंग कुहिएका गाईगोरु पनि भेटिन्छन् । त्यसले झन् ठूलो समस्या देखिएको लामो समय गाईहरूको व्यवस्थापन गरिरहेकी स्थानीय भक्तिनी राधा पाण्डेयले बताइन् । ‘छाडा चौपाया धेरै भए मान्छे पनि अधर्मी निस्किए, गाई काटेर बेहाल छ,’ उनले भनिन्, ‘घाइते गाईगोरुकै उपचार गर्दा म सबैको आँखाको तारो बनेकी छु ।’ राम्रो सेवा पाउने गौशालामा गाईहरूको व्यवस्थापन गराैं भन्दा स्थानीयले घेराबन्दी गरेर तनाव दिइरहेको पाण्डेले गुनासो गरिन् ।

गाई व्यवस्थापनको योजना छैन
स्थानीय सरकारसँग गाई व्यवस्थापनको योजना छैन । समस्या दैनिक थपिएको छ । स्थानीयस्तरमा त्यसको व्यवस्थापन गर्ने कुनै विकल्प आफूसँग नभएको रुरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । उनले गाईको संख्या स्थानीयस्तरमा व्यवस्थापन गर्नेभन्दा धेरै भएकाले बाहिर पठाउने विकल्प खोजिरहेको बताए । ‘बजारमा छाडा चौपायाको संख्या थपिँदै गएपछि समस्या छ,’ गिरीले भने, ‘छिमेकी तथा बाहिरका जिल्लामा व्यवस्थापनको विकल्प खोजिएको छ ।’ जुन पायो त्यही संस्था र ठाउँमा बजारको गाई संरक्षण समितिले पनि नदिएका कारण ठोस समाधान नभएको गिरीले बताए ।

गाई मरेपछि चालक थुनिए
गत साउन २८ गते बजारमा दौडिएको जिपमा ठोक्किएर गाई मर्‍यो । रुरु–४ का जिपचालक गोविन्दमान श्रेष्ठलाई प्रहरी पक्राउ गरेर अदालत पेस ग¥यो । शुक्रबार उनी एक लाख आठ हजार धरौटीमा हिरासतबाट छुटे । स्थानीयका अनुसार बजारमा झन्डै दुई सय छाडा चौपाया छन् । बिहान रिडी नै भरिन्छ । दैनिक सडकजामको समस्या छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका रिडी इन्चार्ज ज्ञानेन्द्र रावलले छाडा चौपायाले धेरै चालक फस्ने अवस्था आएको बताए । ‘चालक आफैँले मार्दैन स्पिड आएको गाडीमा कति आफैँ ठोक्किने गरेका छन्, उनले भने, ‘बिहानमा सडक र पुल जाम गरेर गाडी पार गर्नै मुस्किल पर्छ ।’ आफूहरूले एकछिन धपाएर मात्रै नहुने भएकाले दीर्घकालीन समाधान खोज्नुको विकल्प नभएको टा«फिक प्रहरी कार्यालय रिडीका इन्चार्ज नारायण खनालले बताए ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस