आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रुम्जाटारका किसानहरु आफ्नो पर्म परम्परा जोगाउँदै

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) २८६ पाठक संख्या

भाद्र , ८ :
‘ठाडे, टोड्के देउराली
चिप्ले चौर पसल
अरुको माइती भन्दा
हाम्रै माइती असल’
रुम्जाटारको पर्मेली गीत खोजिखोजी कलाकारले म्युजिक भिडियो बनाउन थालेका छन् । यी ओखलढुंगाको रुम्जाटारमा हरेक वर्ष गुन्जने गीतका शब्दहरू हुन् । यतिवेला रुम्जाटारका किसान कोदो रोपाइँमा व्यस्त छन् । अन्य ठाउँको तुलनामा रुम्जाटारको रोपाइँ निकै फरक हुन्छ । सयौँ वर्षदेखि चलेको पर्मेली परम्परा अझै कायमै छ ।

सबै किसान भेला हुने निकै प्राचीन संस्कृति मानिने पर्मेली गीत गाउँदै अर्म–पर्म लगाएर काम गर्ने यहाँको पुरानो चलन हो । रुम्जाटारको विशेषताकै रूपमा लिइने पर्मेली मेलामा गाइने पर्मेली गीत बिस्तारै लोप हुन थाले पनि पछिल्लो पुस्ता परम्परा जोगाउन लागिपरेको स्थानीय लीलामाया खतिवडाले बताइन् । ‘उहिले उहिले त खुबै मेला लाग्थ्यो । गानाबजानाले गाउँ नै संगीतमय हुन्थ्यो,’ उनले भनिन्, ‘त्यस्तै त अहिले अलि छैन, तर पनि पुरानो चलन हराउन दिएका छैनौँ ।’ स्थानीय किसान भेला हुन्छन् । एकदिन एउटाको र अर्को दिन फरक व्यक्तिको खेतबारीमा उनीहरू भेटिन्छन् । किसानले समूह बनाउने र पालैपालो सबैको खेती लगाउने चलन करिब दुई महिनासम्म चल्छ ।

रुम्जाटारमा मध्य असारदेखि धान, कोदो रोप्ने पर्म सुरु हुन्छ । यो क्रम भदौको १५ देखि २० गतेसम्म चल्छ । गीत गाउन, मादल बजाउन र खेतीको काम गर्न आलोपालो गरिन्छ । आधुनिकता र कृषिमा पछिल्लो पुस्ताको आकर्षण कम हुँदा परम्परा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कृषक विष्णु गुरुङले बताए । ‘पहिले मादल, बासुरी बाच्छे बाजा अनिवार्य गरिन्थ्यो अहिलेका नानीहरू मोबाइलमा गीत बजाएर रमाइलो गर्न खोज्छन्,’ गुरुङले भने, ‘यहाँको पर्मेली हेर्न बाहिरका मान्छे पनि आउँथे । युवाहरू बारीमा काम गर्न रुचाउँदैनन् अब यो चलन पनि हामी हुन्जेल मात्रै रहला जस्तो छ ।’ स्थानीयहरू बसाइँ सरेर अन्यन्त्र जानु, युवा बिदेसिनु र कृषि पेसा पछिल्लो पुस्ताको आकर्षणको पेसा नबन्नुको असर रुम्जाटारको पर्मेली परम्परामा पनि परेको उनको भनाइ छ ।

रुम्जाटारका किसान दुईदेखि तीन समूहमा बाँडिएर काम गरिरहेका हुन्छन् । एउटा समूहमा १० देखि ६० जनासम्म छन् । एक दिन एकजनाको मेला सकेपछि अर्को दिन अर्काको मेलामा सहयोग गर्ने यो परम्परा सयौँ वर्ष पुरानो हो । अझै माइती र चेलीका रूपमा चेलीले कोसेली दिएपछि माइती पर्मका लागि पक्का हुने र पर्म सकिएपछि हुक्काई खाने चलन अझै छ ।

नेपाल एकीकरणका वेला झागल गुरुङको नेतृत्वमा आएर गुरूङ सेनाका रूपमा आउँदा यहीँ बसोवास गरेको इतिहासमा उल्लेख छ । दुई सय वर्षअघिदेखि सुरु भएको यो चलन अहिले लोप हुने अवस्थामा पुगेको हो । कोदो रोप्ने, गोड्ने, टिप्ने मात्रै नभएर धान रोप्दा पनि पर्म लगाउने चलन अझै कायम छ । तर, पर्मको मुख्य विशेषता पर्मेली गीत भने आगामी केही वर्षमा सुन्न मेलामा नभएर क्यासेटमा सुन्नुपर्ने अवस्था भएको स्थानीय कर्णबहादुर दर्जीको तर्क छ । ‘बुढाबुढीले परम्परा धानेका छन् । नानीहरू सिक्न पनि खोज्दैनन् केही–केहीले मात्रै सिकेर अग्रजलाई सघाइरहेका छन्,’ उनले भने, ‘स्थानीय सरकारले यसलाई सम्पत्तिका रुपमा लिएर संरक्षण गरेर युवाहरूलाई पनि समेट्न आवश्यक छ । नभए पर्मेली गीत रेडियो र क्यासेटमा सुन्नुपर्ने अवस्था आउँछ ।’ विगतका वर्षझैँ अर्मपर्म गरेर रोपाइँको काम गरिरहेका रुम्जाटारका किसानलाई यस वर्ष पर्म तिरेर सकिँदैन कि भन्ने चिन्ता छ । रोपाइँको समय सकिने वेला भए पनि अझै २५ जनाको समूहमा १० जनाको रोपाइँ गर्न बाँकी छ । समयमै पानी नपरेका कारण सबैको खेतबारीमा रोपाइँको काम सक्न हम्मे–हम्मे भएको किसान बताउँछन् ।

पूर्वकै प्रसिद्ध संस्कृतिका रूपमा परिचित पर्मेली मेलाको मुख्य पहिचान जोगाउन सक्दो भूमिका खेल्ने सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले बताइन् । पर्मेली परम्परा संकटमा पर्ने अवस्था आउन नदिन आफूहरूले पहल गर्ने बताइन् । ‘सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । स्थानीय सरकारले त्यसको नेतृत्व लिन्छ ।’ पर्म लगाउँदै खेती गर्ने पर्मेली परम्परा संरक्षण र प्रचारप्रसार गर्न सक्नुपर्ने उपप्रमुख गुरुङको भनाइ छ ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस