आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेविसंघबारे कांग्रेसमा छलफलै हुन छाड्यो

AuthorAP Khabar२०७६ भाद्र ९, सोमबार (४ साल अघि) २६२ पाठक संख्या

विद्यार्थी संगठन ६ महिनादेखि नेतृत्वविहीन हुँदा पनि परेन प्राथमिकतामा
भदौ ,९ : नियमित दुई वर्ष र थप गरिएको पाँच महिनामा १२औँ महाधिवेशन हुन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको ६ महिना बितिसकेको छ । तर, निर्वाचित संगठन स्वतः विघटनमा पुगेको आधा वर्ष बितिसक्दा पनि तदर्थ समिति गठनबारे छलफल हुनै छोडेको छ ।

निर्वाचित कार्यसमितिले महाधिवेशन गर्न नसकेपछि आफूअनुकुलको समिति बनाएर महाधिवेशन गराउने लक्ष्य माउ पार्टी कांग्रेसले गरेको थियो । तर, कांग्रेस आफैँ तदर्थ समिति गठनमै अलमल गरिरहेको छ । यसका विधि, प्रक्रिया, नेतृत्वसहितका भागबन्डा नमिल्दा पार्टी संगठनको सबैभन्दा ठूलो नर्सरी मानिने नेविसंघ यतिखेर अस्तित्वविहीन अवस्थामा छ ।

कुन विषयले अड्कियो नेविसंघको तदर्थ समिति ?
निर्वाचित समितिले महाधिवेशन गर्न नसकेपछि तदर्थ समिति गठनका लागि खुला अवस्था भए पनि समितिको प्रक्रियामै अझै सहमति भएको छैन । विधानको व्यवस्थाअनुसार पदाधिकारीसहित एक सय एक सदस्यीय समिति बनाउने, महाधिवेशन गर्न संयोजक मात्रै तोक्ने वा सीमित पदाधिकारी मात्रै तोक्नेमा भन्नेमा कुरा मिलेको छैन । साथै, ३२ वर्षे उमेर हद पनि अर्को विवादको विषय हो ।

विधानमा व्यवस्था भइसकेकाले ३२ वर्षे उमेर हद लगाउनुपर्ने संस्थापनविरोधी पक्षको माग छ । तर, संस्थापन पक्षका नेताहरू १२औँ महाधिवेशन गराउनका लागि बन्ने समितिका लागि उमेर हद आवश्यक नपर्ने तर्क गरिरहेका छन् ।

अघिल्ला तदर्थ समितिको इतिहास यस्तो छ
यसअघि ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा र रञ्जित कर्णको नेतृत्वमा तदर्थ समिति बने पनि कार्की, गुरुङ, राठौर, शर्मा र कर्ण नेतृत्वको तदर्थ समितिले महाधिवेशन गरे ।

गुरुङ नेतृत्वको समितिले महाधिवेशन गर्न सकेन भनेर केशव सिंह सभापति बनाइए पनि उनले पनि महाधिवेशन गर्न सकेनन् । नेविसंघको इतिहासमा तदर्थ समिति बनाइएकामध्ये महाधिवेशन गर्न नसक्ने उनी मात्र हुन् । सिंहले नसकेपछि महेन्द्र शर्माले १०औँ महाधिवेशन गराउँदा प्रदीप पौडेल विजयी भए ।

को–को छन् अध्यक्षका सम्भावित दाबेदार ?
पार्टीले पर्याप्त तयारी नगरे पनि केही नेता अध्यक्ष दाबेदारीको दौडमा छन् । सभापति शेरबहादुर देउवा निकटबाट राजीव ढुुंगाना, ऋषिकेशजंग शाह, सरोज थापा, प्रकाश घिमिरे र प्रेम जोशी दाबेदार छन् । जसमा ढुंगाना र शाह पूर्वउपाध्यक्ष हुन् ।

घिमिरेलाई उपसभापति विमलेन्द्र निधि र बालकृष्ण खाणको पनि समर्थन छ । जोशी सहमहामन्त्री डा. प्रकाशशरण महत निकटका मानिन्छन् । यी दाबेदारमध्ये घिमिरे र जोशी मात्रै ३२ वर्ष मुनिका हुन् । देउवानिकटकै अम्बिका चलाउने पनि अध्यक्षका लागि दाबेदार हुन् । महामन्त्री डा. शशांक निकटबाट नीलकण्ठ रिजाल, सागर परियार पनि दाबेदार छन् । रिजाल ३२ माथिका र परियार ३२ मुनिका हुन् ।

आउँदो केन्द्रीय समिति बैठकपछि तदर्थ समिति गठन गर्छौँ : डा. प्रकाशशरण महत
तदर्थ समिति गठनमा ढिलाइ भएको साँचो हो । तर, अब केन्द्रीय समितिको बैठकपछि नेविसंघको समिति गठनमा लाग्ने भन्ने कुरा भएको छ । सभापतिले नै यस्तो आश्वासन दिनुभएको छ । अरू कारणले भन्दा पनि सभापतिले सबैको सहमति लिन खोज्दा ढिलाई भएको हो । अब धेरै ढिलाई हुन्न ।

निवर्तमान अध्यक्ष महर भन्छन्– पार्टीमा भागबन्डाको सकस छ
मैले राजीनामा दिएको ६ महिना बितिसकेको छ । तर, तदर्थ समिति गठनको सुरसार छैन । अबको केन्द्रीय समितिको बैठक सकिएपछि मात्रै नेविसंघको विषय पार्टीको प्राथमिकतामा पर्ने देखिन्छ । पहिले पनि हामी निर्वाचितलाई महाधिवेशनका लागि पर्याप्त सहयोग मिलेन ।

भागबन्डा खोज्न हाम्रो समितिको विकल्प खोजियो, तर फेरि पनि भागबन्डामै कुरा मिलिरहेको छैन । तदर्थ समिति गठन गर्दा विधानअनुसार पदाधिकारीसहित एक सय एक सदस्यीय नै बनाउनुपर्छ । अब यसरी नेविसंघको विषय अड्काइरहनु हुँदैन । सभापतिले छलफल अघि बढाएर टुंग्याउनुपर्छ । कसरी गठन गर्ने भन्ने प्रक्रियागत विषयले नै नेविसंघलाई अड्काउनु हुन्न ।

नेविसंघप्रति पार्टी उदासीन छ : कुन्दन काफ्ले, विद्यार्थी नेता
नेविसंघप्रति पार्टीको उदासीनताले नै यस्तो समस्या आएको हो । अब ढिलाई भयो भनेर विधानविपरीत तदर्थ समिति गठन गर्न हुन्न । लामो समयसम्म समिति नभए पनि हामी सरोकारवालाहरूलाई बोलाएर पार्टीले पर्याप्त छलफल गरेको छैन । नेविसंघको गाँठो फुकाउनेबारे पार्टीमै पनि छलफल नभएको बुझेका छौँ ।

नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस