आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिर्तामोडका विद्यालयमा आचरण सचेतना शिक्षा

AuthorAP Khabar२०७६ भाद्र ९, सोमबार (४ साल अघि) ३०५ पाठक संख्या

झापा, भाद्र ९ : बिर्तामोड नगरपालिकाले समुदायमा आधारित जीवनोपयोगी शिक्षाका लागि आफ्नै पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई लक्षित गरी कक्षा–३ र ४ का लागि आचरण सचेतना शिक्षा लागू गरेको हो ।

विद्यार्थीलाई नैतिक र आचरणयुक्त बनाउन नगरपालिकाले आचरण सचेतना शिक्षासम्बन्धी पाठ्यपुस्तक निर्माण गरेको नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले बताइन् । ‘आचरण सचेतना शिक्षाको पढाइले मर्यादित समाजको निर्माण हुन्छ भन्ने आशा राखेका छौँ,’ आइतबार पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भनिन्, ‘यसले विद्यार्थीलाई आचरणमा बस्न मात्रै होइन, समुदायप्रति जिम्मेवार हुन पनि सिकाउँछ ।’

नगरपालिकाका तत्कालीन शिक्षा अधिकारी युवराज पाण्डेको संयोजकत्वमा बनेको पुस्तक लेखन समितिले आदर, सम्मान, बोलीवचन र व्यवहार, सहकार्य र सहयोग, शारीरिक व्यायाम, स्थानीय जातजाति र भेषभूषा, लोकबाजा र लोकसंस्कृति, वातावरण संरक्षण, नेतृत्व विकास, वातावरण र सरसफाइ, पोषणयुक्त खाना, सामाजिक अपराध, ट्राफिक व्यवस्थापन, मातृभाषालगायतका विषय समेटेर पहिलो चरणमा दुईवटा कक्षाका लागि पाठ्यपुस्तक बनाएको हो ।

यसरी तयार भएका पुस्तक बिर्तामोड नगर क्षेत्रभित्रका १८ वटा सरकारी र ५४ वटा संस्थागत विद्यालयलाई हस्तान्तरण गर्न थालिएको छ । ‘मोफसलमा पनि पाठ्यक्रम बन्दो रहेछ भन्ने उदाहरण हो यो,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले भने, ‘बिस्तारै आचरण सचेतना शिक्षा कक्षा–८ सम्म लागू गर्ने नगरपालिकाको योजना छ ।’

‘स्थानीय तहले विद्यालय चलाउनु भनेको समुदायले चलाउनु हो,’ प्रमुख प्रशासकीय अधिकृत खतिवडाले भने, ‘अब यो विकल्परहीत छ ।’ पुस्तक लेखन समितिका संयोजक युवराज पाण्डेले स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्ने बिर्तामोड नगरपालिका पहिलो भएको बताए । विद्यालयहरूलाई पुस्तक हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य एकराज कार्कीले भने, ‘अहिलेसम्म हामीले किताब मात्रै पढायौँ, आचरण र व्यवहार सिकाएनौँ, त्यही भएर पनि नगरपालिकाले आचरण सचेतना शिक्षाको आवश्यकता महसुस गरेको हो ।’

उनले सरकारी विद्यालयको शिक्षाको गुणस्तर बढ्न नसकेको बताए । ‘गुणस्तरीय छैन सरकारी शिक्षा, सरहरू लाग्नुपर्छ, आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्छ,’ सांसद कार्कीले भने, ‘सरहरूलाई राजनीति नगर्नुस् भनेको होइन, तर राजनीति धेरै भयो ।’

नगरपालिकाका शिक्षा शाखा अधिकृत दिनेशप्रसाद आचार्य, डम्बर बस्नेत, मोहनप्रसाद ओली, टंकप्रसाद सेढाईं, केशरबहादुर खवास, लीलाप्रसाद भण्डारी, भोजराज दाहाल, युवराज कँडेल, देवेन्द्र हुमागाईं, टीका पोखरेल, श्यामप्रसाद दाहाल, युवराज ढकाल र इन्दिरा वस्तीको लेखन तथा सम्पादनमा पुस्तक प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ ।

Educationpati;

प्रतिक्रिया दिनुहोस