तेस्रोलिंगी मेघनाको मोडलिङ करिअर

6

भाद्र , १९ :  झापामा जन्मिएकी उनलाई १६ वर्षकै उमेरमा परिवारले जबर्जस्ती बिहे गरिदिन लागेपछि उनले आत्महत्याको प्रयास गरेकी थिइन् । धन्न ज्यान जोगियो । पुरुषबाट महिला बनेकी (व्यवहार मात्र परिवर्तन) उनी आफूलाई देखेर आफैँ चकित थिइन्, त्यस वेला । सानो हुँदा केटीहरूसँगै हुल बाँधेर हिँड्ने उनलाई गाउँघरतिर धेरैले भन्ने वाक्य हुन्थे, ‘कस्तो कृष्णजस्तो गोपिनीका पछि लागेर हिँडेको’, ‘यो त केटीजस्तै छ’ ।

ती वाक्य सुन्दा उनको मन कुँडिन्थ्यो । सुरु–सुरुमा उनले आफ्नो लैंगिक परिचय दिनै सकिनन् । त्यो सबै बुझ्ने समाज थिएन । आफ्नो परिचय र आफूबारे बताउन सक्ने मान्छे उनले भेटिनन् । आफैँ पनि आफूप्रति अनभिज्ञ थिइन् । शरीर पुरुषको, हाउभाउचाहिँ महिलाको जस्तो । यो देखेर दिक्क भएका आफन्तले घरमा बुबा–आमासँग गुनासो गरिरहन्थे, ‘एउटा छोरो बितेर गयो, भएको छोरो पनि छोरी भएर हिँड्छ । यसो कुटेर तह लगाउन सक्नुहुन्न ?’ मेघनाका दाइको दुर्घटनामा परी मृत्यु भएको थियो । छोरालाई छोराजस्तै बनाउने अन्य केही उपाय नदेखेपछि विवाह गरिदिने निर्णयमा परिवार पुग्यो । तर, मेघनाले विवाह गर्नुभन्दा विष खाएर मर्नु नै उचित ठानिन् ।झापामा जन्मिएकी मेघना लामाको शरीर पुरुषको थियो, तर व्यवहार महिलाको जस्तो । परिवारले बिहे गरिदिन खोजेपछि आत्महत्याको प्रयास गरिन् । बाँचेर काठमाडौं आइन् । अनि सुरु भयो, मोडलिङको करिअर ।

त्यही क्रममा मोडलिङमा उनको सक्रियता बढ्यो । तेस्रोलिंगी समुदायलाई समेट्ने गरी सुरु गरिएको ‘मिस पिंक’ नामक ब्युटी प्याजेन्टमा उनी सहभागी भइन् र जितिन् पनि । त्यसपछि उनको चर्चा एकाएक चुलियो । आकर्षक जीउडाल र अनुहार, मन पराउने त हुने नै भए । पुरुषसँगै चार वर्षयता प्रेम सम्बन्धमा रहेकी उनले अहिले उक्त सम्बन्धलाई विश्राम दिएकी छिन् । भन्छिन्, ‘त्यो उमेरमा आफ्नो पनि ब्वायफ्रेन्ड होस् भन्ने त पक्कै थियो । तर, करिअर छ भने मात्र सबैथोक हुन्छ । करिअर छैन भने केही पनि छैन ।’ठमेलमा हिँड्दा उनीजस्ता धेरैलाई यौनकर्मी नै ठान्छन् मान्छेहरू । ‘आफूजस्ता मानिसलाई एकोहोरो हेरिदिँदा, हाँसिदिँदा र गिज्याउँदा दिक्क लाग्छ,’ उनी भावुक बन्छिन् । ‘नाइट लाइफ’का लागि चर्चित ठमेलका नाम चलेका बार, पब र क्लबमा उनीजस्ता समलिंगीले सजिलै प्रवेश पाउँदैनन् ।

पाइहाले पनि कहिलेकाहीँ दुव्र्यवहारसमेत हुन्छ । त्यसबाट मेघना आजित भइसकेकी थिइन् । गएपिच्छे ढोकामा बाझ्नुपर्ने । कहिलेकाहीँ साथीहरूसँग रेस्टुराँ जान मन लागे पनि आफूहरूजस्ताका लागि कुनै ‘स्पेस’ नभएको उनको गुनासो छ । भन्छिन्, ‘जता गए पनि मानिसले अनौठो नजरले हेर्ने, जिस्क्याउने । कतै पनि ढुक्कले बस्ने वातावरण छैन ।’वसन्तपुरस्थित ‘जेसी पेनी’ नामको रेस्टुराँ उनीहरूको जमघटको थलो थियो । त्यहीँ साथीहरूसँग दुःख, सुख साट्थे उनीहरू । एक दिन मनमा हठात् प्रश्न उब्जियो, ‘आफूजस्तै व्यक्तिलाई सहज हुने रेस्टुराँ किन नखोल्ने आफैँले ?’ उनीहरूले आफ्नो पीडाको समाधान खोज्न थाले । उक्त रेस्टुराँका एक कर्मचारीले उनीहरूको विचारमा समर्थन जनाइदिएपछि हौसला अरू बढ्यो ।

टिफानी रेस्टुराँलाई उनीहरू आफ्नो माइती भन्ने गर्छन् । राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा मोडलिङ गरिसकेकी मेघनाले अहिले त्यस रेस्टुराँलाई ‘पार्टटाइम जब’ बनाएकी छिन् । टिकोस् या नटिकोस् मतलब छैन, तर विवाह गर्ने मेघनाको ठूलो सपना छ । ‘धुमधामले बिहे गर्ने धोको छ,’ उनी भन्छिन् । मेघनाको अर्को सपना पनि छ– टिफानीका शाखा देशका अन्य सहरमा स्थापना गर्ने । खासगरी, पोखराको लेकसाइडमा शाखा स्थापना गर्ने सोचमा छिन् उनी ।
नयापत्रिका ;

Loading...