आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्णालीमा न औषधि, न डाक्टर

AuthorAP Khabar२०७६ भाद्र २०, शुक्रबार (४ साल अघि) २२९ पाठक संख्या

कर्णालीमा एक डाक्टरलाई २३ हजार जनताको उपचारको जिम्मा

भाद्र, २० : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एक हजार जनसंख्याबराबर एक चिकित्सक हुनुपर्ने मापदण्ड तोकेको छ । तर, कर्णालीका एक डाक्टरलाई डब्लुएचओको मापदण्डभन्दा २४ गुणा बढी जनताको स्वास्थ्य सम्हाल्ने जिम्मेवारी छ । कर्णालीमा सरकारले एक डाक्टरको भागमा २३ हजार जनताको स्वास्थ्य सुम्पिएको छ ।

कर्णाली प्रदेशमा १२ सरकारी अस्पताल, १३ प्राथमिक स्वास्थ्य उपचार केन्द्र र तीन सय ३६ वटा स्वास्थ्य चौकी छन् । यी स्वास्थ्य संस्थाले १५ लाख ७० हजार जनसंख्यालाई उपचार सेवा दिनुपर्छ । एक सय १८ दरबन्दी भए पनि कर्णालीमा ६६ डाक्टर मात्र कार्यरत छन् ।

प्रदेश राजधानीकै अस्पतालमा दरबन्दीको आधा पनि छैनन् डाक्टर
अस्पताल हाँक्ने सुपरिटेन्डेन्ट १३ वर्षमा १४ जना फेरिए

कर्णालीको राजधानी सुर्खेतमा रहेको एक मात्र सरकारी अस्पतालमा दरबन्दीको आधा पनि डाक्टर छैनन् । ३० विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि १२ जना मात्रै कार्यरत छन् ।

विशेषज्ञ डाक्टर कम मात्रै होइन, लामो समय नटिक्ने समस्या पनि छ । स्थापनाको १३ वर्षमा अस्पतालको नेतृत्व गर्ने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमै १४ जना फेरिएका छन् । डाक्टरले सरुवा नमाग्दा पनि विभागले सरुवा गरिदिने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए ।

यो अस्पतालमा अन्य कर्मचारी दरबन्दीअनुसार छैनन् । ८८ कर्मचारीको दरबन्दी भएकोमा विशेषज्ञ चिकित्सकसहित ६२ जना मात्रै कार्यरत छन् । तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकारले हाल नाम बदलेर ‘प्रदेश अस्पताल’ बनाए पनि सेवा भने बदलिएको छैन । उपलब्ध जनशक्तिबाटै प्रभावकारी सेवा दिन प्रयास गरिरहेको खड्काले बताए ।

कालिकोट जिल्ला अस्पतालमा दैनिक एक डाक्टरले हेर्छन् सय बिरामी
कालिकोटमा पनि स्वास्थ्य सेवा नाजुक छ । जिल्ला अस्पतालमा चार डाक्टर भए पनि नियमित दुई वा तीनजना मात्रै अस्पताल उपस्थित हुन्छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कटक महतका अनुसार यी डाक्टरले दैनिक करिब दुई सय बिरामीको उपचार गर्नुपर्छ । सीमित स्रोत, साधन र जनशक्ति अभावमा बिरामीलाई गतिलो उपचार सेवा दिन कठिन रहेको उनले बताए । कालिकोट अस्पतालले आकस्मिक, प्रसूति र भिडियो एक्सरे सेवा दिँदै आएको छ । औषधि भने उपलब्ध रहेको महतले बताए ।

जाजरकोटका स्वास्थ्य चौकीमा डाक्टर, उपकरण र बेड छैनन्, बिरामीलाई चौरमा राखिन्छ र स्लाइनका बोतल झ्यालमा झुन्ड्याएर अहेवले गर्छन् उपचार

जाजरकोटका नागरिकको स्वास्थ्यमाथि राज्यले चरम खेलबाड गरेको छ । उपकरण र स्वास्थ्यकर्मी छन्–छैनन् भन्नेमा चासो नदिएको मात्रै होइन, भएकैले काम गरे–नगरेको अनुगमन पनि छैन ।

जुनिचाँदे गाउँपालिकाको गर्खाकोट स्वास्थ्य केन्द्रमा बिरामी बस्ने बेडसमेत छैन । स्लाइन लगाएका बिरामीलाई चौरमा राखेर बोतले झ्यालमा झुन्ड्याएर उपचार गरिन्छ । यहाँ एमबिबिएस तहको डाक्टरको दरबन्दी छ । तर, एक वर्षदेखि डाक्टर छैनन् । डा. पवन शाक्य अध्ययन बिदामा गएपछि रिक्त पदमा नयाँ डाक्टर आएका छैनन् । दैनिक आउने दर्जनौँ बिरामीलाई अहेबले चेकजाँच गरेर पठाउँछन् ।

त्यस्तै, नलगाड नगरपालिकाको दल्लीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सञ्जयकुमार यादव तीन महिनादेखि बिदामा छन् । उपचारका लागि धाउने बिरामी स्वास्थ्य केन्द्रको बोर्ड नियालेर फर्किन्छन् । नगरपालिकामा रहेका आठवटा स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएको प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए । बारेकोट गाउँपालिकाभर एउटा मात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, सरकारले खटाएका स्वास्थ्यकर्मी बस्न नमानेपछि करारमा नियुक्त गरिएका कर्मचारीले सेवा दिइरहेका छन् ।

कुसे गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकी छन् । तर, कुनैमा पनि एमबिबिएस डाक्टर छैनन् । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचार गर्न पनि जिल्ला अस्पताल धाउनुपर्ने अवस्था छ । जाजरकोमा ५० शड्ढयाको जिल्ला अस्पताल छ । तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य चौकी छन् । त्यस्तै एउटा आँखा अस्पताल, एउटा आयुर्वेद स्वास्थ्य केन्द्र र दुईवटा आयुर्वेद औषधालय छन् ।

डोल्पा अस्पतालमै छैन गर्भ जाँच्ने मेसिन, कार्यरत दुई डाक्टरमध्ये एउटाले बिरामी हेर्छन्, अर्कोले प्रशासन चलाउँछन्
डोल्पा जिल्ला अस्पताल आफै बिरामी छ । न उपकरण छन्, न त पर्याप्त चिकित्सक । दुई डाक्टरको दरबन्दी रहेको अस्पतालमा बिरामी जाँच्ने जिम्मेवारी एउटाको काँधमा छ । अर्का डाक्टर प्रशासन चलाउँछन् । विकट डोल्पामा दुर्गमबाट दुई–तीन दिन हिँडेर बिरामी आउँछन्, तर उनीहरूलाई समय दिएर जाँच्न र उपकरणको अभावमा आवश्यक परीक्षण गर्न सम्भव नभएको डा. मेलिना हमालले बताइन् । अस्पतालमा गर्भमा रहेको बच्चाको स्वास्थ्य जाँच गर्ने मेसिनसमेत छैन । प्रशासन सम्हाल्दै आएका अर्का डा. सिजन रावल अहिले जिल्लाबाहिर छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–८ का नर कटुवाल छोराको मुखमा आएको घाउको उपचार गर्न तीन घन्टा पैदल हिँडेर स्वास्थ्यचौकी पुगे । तर, स्वास्थ्यकर्मीले ‘यहाँ औषधि छैन, निजी मेडिकलतिर लैजानू’ भनेर फर्काइदिए । जिल्लाका स्वास्थ्य चौकीमा सामान्य रुघाखोकी र ज्वरोको औषधिसमेत छैनन् ।

कर्णालीबाट फर्केर दीपक अधिकारी र पुष्प ढुंगाना, सुर्खेतमा खगेन्द्र भट्टराई, जाजरकोटमा हेमन्त केसी, डोल्पामा रामचन्द्र न्यौपाने, कालिकोटमा रमेश रावल

नयापत्रिका:

प्रतिक्रिया दिनुहोस