आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पारिजातको सार्जे दिम

AuthorAP Khabar२०७६ भाद्र २१, शनिबार (४ साल अघि) ४६५ पाठक संख्या

भाद्र , २१ : अपराजिता,०७६ भाद्र ७ गते । पर्यटन बोर्डमा आयोजित ‘तामाङ ज्ञान महोत्सव’मा केही अनुभूति साट्न यो लेख तयार पारिरहेको छु । मेरा अनुभूति तिमीलाई मन्जुर छन् भन्ने मलाई विश्वास छ ।यस ज्ञान महोत्सवमा कुनै ठोस लेखन लिएर उपस्थित भएकी छैन । तामाङ धार्मिक, सांस्कृतिक र मातृभाषाको माहोलमा मेरो बचपन र शैशव हुर्कन पाएन । त्यसैले मेरो प्रस्तुति केही अनुभव, केही जिज्ञासा, केही असन्तुष्टि र केही आशाका पेटिका मात्र हुनेछन् । विषय प्रवेश गर्नुअघि पारिवारिक पृष्ठभूमिका केही झलक अघि सार्न सान्दर्भिक ठान्छु ।

भनिन्छ, हाम्रा म्हेम्हे (हजुरबुबा) धनमानसिंह लामा वाइबा संखुवासभाका बासिन्दा थिए । भारतमा तिनताकाका अंग्रेज सरकारले दार्जिलिङमा चियाखेतीका निम्ति उपयुक्त ठह-याएपछि नेपालबाट कामदार ओसार्ने टोलीका हजुरबुबा नाइके थिए । कालान्तरमा हजुरबुबा सिनताम चिया बगानका सरदारमा नियुक्त भई त्यही घरजम गरी बसे । अझै पनि उनले सम्हालेका क्षेत्र धनमान धुराको नामले चिनिन्छ ।

हाम्रा आपा (बुबा) कालुसिंह लामा वाइबा म्हेम्हेका कान्छी श्रीमतीबाट जन्मेका दुई छोरामध्ये जेठा थिए । पेसाले चिकित्सक बुबा लिंगिया चिया कमानमा कार्यरत हुँदा दिदी पारिजात जन्मेकी थिइन् । अंग्रेज म्यानेजरको हैकमलाई चुनौती दिँदै जागिर त्यागी दार्जिलिङ सहरमा आफ्नै निजी मेडिकल हल सञ्चालन गरेर बसेका थिए, बुबा । हाम्री आमा, एक दिदी र एक दाइको दुर्भाग्यर्पूण निधन त्यसैताकाका नियति हुन् ।

००७ सालको क्रान्तिमा होमिएर नेपाल भित्रिएका हाम्रा दाइ (काकाको छोरा) कुमारसिंह लामा क्रान्तिको सफलतापश्चात् काठमाडौं नै बस्न थालेका थिए । त्यसैवेला हाम्रा एक मात्र दाइको असामयिक निधनले विक्षिप्त हाम्रा बालाई यिनै दाइले काठमाडौँ ल्याए । एक वर्षपछि विं.सं. २००९ तिर दिदी पारिजात काठमाडौं आइन् । अन्तमा विं.सं. २०१२ मा म पनि काठमाडौं आएँ । त्यसपश्चात् सुरु हुन्छ जिज्ञासा, जातिबोध, असन्तुष्टि र आशाका तरंगहरू ।

समय बित्दै गयो । ती अग्रज प्रण्ोताको एकपछि अर्को गर्दै निधन भयो । सन्तवीर लामा बिते । हर्कजित लामा बिते । सिद्घिबज्र लामा बिते । हाम्रा दाइ कुमारसिंह लामा विवाह बन्धनमा बाँधिए र परिवारको देखरेखमा व्यस्त रहन थाले । उक्त जागरण अभियानमा शिथिलता छायो । निरन्तरता दिने कोही भएन । बितेका ती सक्रिय क्रियाकलाप विस्मृतिका धुलोले पुरिँदै गए ।

दिदी दिवा कलेज पढ्थिन्, जहाँ उनी एकजना मात्र तामाङ विद्यार्थी थिइन् । म रात्रि कलेज पढ्न थालेँ, जहाँ म एकजना मात्र तामाङ विद्यार्थी थिएँ । किन यस्तो ? मेरो दिमागमा परेको दोस्रो झट्का थियो त्यो ।

०२८ सालतिरको कुरो हो । बाको निधन भइसकेको थियो । निर्मल लामा, दिदी र म म्हेपीमा बसाइँ सरिसकेका थियौँ । प्राध्यापक माणिकलाल श्रेष्ठ हाम्रा छिमेकी थिए । उनको विद्वता जगजाहेर छ । उनीसँगको कुराकानीका दौरान हामी अनभिज्ञ रहेको एउटा कटुु सत्य उजागर भयो । राणाशासनका वेला विभिन्न जनजातिका भरियालाई भारी बोकाउँदा तामाङ भरियालाई विभेद गरिन्थ्यो ।

अरू जातिका भरियालाई ज्यालास्वरूप खाजा र तीन पैसा दिइन्थ्यो । तर, तामाङ भरियालाई खाजा मात्र दिनू भन्ने सरकारी उर्दी नै थियो । एउटा जाति विशेषलाई किन यस्तो अवहेलना ? मेरो मनमा जिज्ञासा, असन्तुष्टि र विद्रोह जगाउने अर्को विषय थियो त्यो । त्यसपश्चात् कुनै एक विज्ञ (नाम सम्झना भएन) को हाम्रो घरमा आगमन हुँदा प्रकाशमा आएका तामाङ जातिमाथिको दमन त सुनिनसक्नुकै थियो

। उनले भनेका थिए, तामाङ जातिका जवानलाई तिग्य्राहा भनिन्थ्यो । यी मासिन्या जात हुन् । यिनीहरूलाई केवल सेनाका ब्यारेकमा घोडा स्यहार्ने, घोडाका फोहोर सोर्ने, दाउरा चिर्ने, भाँडा माँझ्ने काममा मात्र नियुक्त गर्ने र यस्ता कार्य गर्ने जवानलाई पिपा नामक दर्जा दिइएको थियो । उक्त तथ्य पुष्टि गर्नलाई पुतली सडक डेरामा छ“दा छि“डीमा बस्ने एकजना तामाङ किशोरले बिहानी पख सिंहदरबारतिर हेर्दै भनेको सम्झन्छु, ‘मेरो आपा अहिले सिंहदरबारभित्र घोडा स्यहार्दै हुनुहुन्छ होला ।’ उनको त्यो अबोध भनाइ नै काफी थियो ।

दिदी र मैले बाल्यकालमा तामाङ भाषा बोल्ने संगत पाएनौँ । हामीले प्रयत्न त गरेका हौँ तर लागि पर्न सकेनौँ । दिदीले केही सिकिन् र आफ्नो मातृभाषाको सम्मानार्थ हाम्रो घरलाई ‘सार्जे दिम’/‘सजिया दिम’ (साझा घर) नाम दिएकी थिइन् । साथै परिवारमा जन्मेका बच्चालाई तामाङ नाम दिन रुचाउँथिन्, दिदी । दिदी तामाङकी छोरी भएकोमा असाध्यै गर्व गर्थिन् ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस