‘पर्यटनमा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर’

3

एक सय ४० देशको सूचीमा नेपाल एक सय २ औं

काठमाडौं ,भदौ २५ : सरकारले देशको समृद्धिका लागि पर्यटन प्रवर्द्धनलाई मुख्य हतियार बनाउने रणनीति लिएको छ । नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विश्वस्तरमा चिनाउने प्रयासहरु पनि भइरहेका छन् । तर, एउटा अन्तर्राष्ट्रियस्तरको सर्भेक्षणले भने पर्यटन क्षेत्रमा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर देखाएको छ ।

विश्व आर्थिक मञ्च (डब्लूइएफ)ले हालै सार्वजनिक गरेको ‘ट्राभल एण्ड टूरिजम कम्पिटेटिभनेश इन्डेक्स २०१९’ मा नेपालको अवस्था कमजोर देखिएको हो । गौतम बुद्ध जन्मेको, विश्वकै सर्वोच्च शिखर सगरमाथा अवस्थित रहेकोे, एक सिंगे गैंडा र जलस्रोतको दोस्रो धनी देशका रुपमा नेपालले आफूमा गर्व गर्दै आए पनि त्यसबाट पर्याप्त लाभ भने लिन नसकेको यसबाट प्रष्ट हुन्छ ।

प्रतिवेदनले विश्वभरका १ सय ४० मुलुक समेटेर तयार पारेको सूचीमा नेपाल १ सय २ औं स्थानमा रहेको छ । सूचिको पहिलो स्थानमा स्पेन छ भने फ्रान्स, जर्मनी, जापान र अमेरिका क्रमशः पाँचौस्थान सम्म छन् । सबैभन्दा पुछारमा यमन रहेको छ ।

त्यसो त सार्क मुलुकमै नेपाल कमजोर देखिएको छ । सार्कमा नेपाल पछाडि बा‌ंगलादेश र पाकिस्तान मात्र छन् । १ सय ४० मुलुकमध्ये बा‌ंगलादेश १ सय २० औं र पाकिस्तान १ सय २१ औं स्थानमा रहेका छन् । नेपालभन्दा माथि श्रीलंका ७७ औं स्थानमा रहेको छ । भारत सबैभन्दा माथि ३४ औं स्थानमा छ ।

पर्यटनमा निकै राम्रो प्रगति गरिरहे पनि विश्व आर्थिक मञ्चमा समावेश नभएका भुटान, माल्दिभ्सजस्ता मुलुक र कमजोर मानिएको अफगानिस्तान भने यस सूचीमा छैनन् ।

विश्व औसतभन्दा कमजोर नेपाल

सन् २०१८ मा विश्व अर्थतन्त्रको वृद्धिदरमा पर्यटनको हिस्सा करीव १०.४ प्रतिशत रह्यो । रोजगारी सिर्जनामा पनि पर्यटन क्षेत्रले उत्तिकै योगदान गरिरहेको छ । तर, नेपालमा यी दुवैमा कमजोर अवस्था छ ।

पर्यटनले नेपालको कूल गार्हस्थ उत्पादनमा मुस्किलले तीन प्रतिशत मात्र हिस्सा ओगट्छ । खासगरी पूर्वाधारमा नेपाल कमजोर देखिएको छ । दीगो पर्यटन विकासको अवधारणा अनुसार सरकारले नीति बनाउन नसक्नु र सडक तथा हवाई यातायात पूर्वाधारमा भएको कमजोर उपस्थितिले नेपाल विश्व पर्यटन बजारमा पछाडि परेको पाइएको छ ।
विश्व आर्थिक मञ्चले कम्पिटेटिभनेस इन्डेक्सका लागि पर्यटकीय वातावरण निर्माणको अवस्थालाई एक आधार मान्छ । यसबाहेक नीति–नियम, पूर्वाधार र प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई पनि सूचकांक निर्माणको आधार मानेको छ । यी आधारहरु भित्र पर्यटनले पाएको प्राथमिकता, दीगो पर्यटनमा सरकारले चालेका कदम, पर्यटक आगमन संख्या, पर्यटकको सुरक्षा र सेवा–सुविधालगायत करीव एक दर्जन विषयवस्तुका आधारमा सूचंकाक निकालिएको हो ।

विभिन्न रोग र महामारीका कारण कतिपय मुलुक संक्रमणमा छन् । त्यसबाट पर्यटकलाई बचाउन उक्त मुलुकले चालेका कदमलाई पनि हेरिएको छ । हवाई, सडक तथा जल यातायातको पूर्वाधारले पनि सूचकांकमा प्रभाव पार्ने मञ्चको भनाइ रहेको छ । बजार मूल्यका आधारमा पनि पर्यटन बजारको प्रतिस्पर्धी क्षमतालाई मापनको आधार मानिएको छ ।

एसियामा कुन देश उत्कृष्ट ?

समग्र क्षेत्रलाई आधार मान्दा एसियाका २२ मुलुक यो सूचकांकमा परेका छन् । त्यसमध्ये नेपाल २० औं स्थानमा छ । विश्व आर्थिक मञ्चले गरेको विश्लेषण अनुसार एसियाली मुलुकमा पर्यटनको विकास तीव्र गतिमा भइरहेको छ । प्राकृतिक, सांस्कृतिक सम्पदाको उपलब्धतासहित हवाई यातायातको विकासले यस क्षेत्रमा पर्यटन फस्टाउने क्रममा छ ।

तर, दीगो पर्यटकीय वातावरण बन्न नसक्दा यस भेगमा पर्यटनले सोचेअनुसार प्रगति गर्न सकेको छ्नै । एसियाली मुलुकहरुमध्ये पर्यटकीय विजनेसको वातावरणका दृष्टिकोणबाट हङकङ सबैभन्दा माथि छ भने भारतले उच्च गतिमा सुधार गरेको छ ।

इन्धन, हवाई टिकटको मूल्यजस्ता आधारमा ब्रुनाई एसियामा सबैभन्दा प्रतिस्पर्धी मुलुक हो । अष्ट्रेलियाले आफूलाई निकै सुधार गरेको छ । पर्यटकको सुरक्षाको दृष्टिकोणबाट हङकङ सबैभन्दा सुरक्षित मुलुक हो भने बांगलादेशले निकै सुधार गरेको छ । स्वास्थ्य र सरसफाइमा जापान अगाडि छ भने इन्डोनेसियामा निकै सुधार आएको छ । जनशक्ति विकासमा सिंगापुर अग्रस्थानमा रहेको छ भने पाकिस्तानले सबैभन्दा बढी सुधार गरेको छ । पर्यटनलाई प्राथमिकता दिने उत्कृष्ट मुलुक सिंगापुर बन्दा सबैभन्दा बढी सुधार मंगोलियाले गरेको छ ।

लोडसेडिङ अन्त्यको सकारात्मक प्रभाव नेपालमा

विश्व पर्यटन बजारमा अब्बल दर्जामा उक्लन आवश्यक पूर्वाधारमध्ये ‘आइसीटी रेडिनेश’ पनि मुख्य आधार हो । खासगरी मोबाइल नेटवर्कको विस्तार, नेटवर्कको गुणस्तर र नियमित विद्यत् आपूर्तिका दृष्टिकोणबाट हङकङ एसियाको सबैभन्दा उत्कृष्ट मुलुक बनेको छ भने यस क्षेत्रमा सबैभन्दा सुधार गर्ने मुलुक नेपाल बनेको छ ।

Loading...