आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बुटवलका युवकले बनाए गाडीको इन्धन बचत गर्ने उपकरण

AuthorAP Khabar२०७६ भाद्र २५, बुधबार (४ साल अघि) ४१० पाठक संख्या

पेटेन्ट राइट दर्ताको लागि उद्योग विभागमा निवेदन

बुटवल , भदौ २५ : बुटवलका एक युवकले सवारी साधनमा प्रयोग हुने डिजेल-पेट्रोलको खपत कम गर्ने उपकरण आविष्कार गरेका छन् । यो उपकरण गाडीमा जडान गरेपछि २५ देखि ४० प्रतिशतसम्म इन्धन बचत हुने उनको दाबी छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका मिलनचोकका २६ वर्षीय शिशिर जीसीले ‘फ्यूल सेभर किट’ निर्माण गरेका हुन् । उनले भने, ‘पेट्रोल वा डिजेलबाट १५ किलोमिटर माइलेज दिने गाडीले यो उपकरण जडान गरेपछि प्रतिलिटर २५ किलोमिटर माइलेज दिन थाल्छ ।’

भारत बैंगलोरको भिशेश्वरा टेक्निकल युनिभर्सिटी (भीटीयु)मा चार वर्षे मेकानिकल इन्जिनियरिङ पढेर फर्किएका उनले तीन वर्षको खोज र अनुसन्धानपछि यस्तो उपकरण बनाएका हुन् । उनले यो उपकरणलाई आफ्नै नामबाट ‘शिशिर्स हाइड्रोजन अक्सिजन डिभाइस (सक्स)’ नाम दिएका छन् ।

उपकरणले कसरी काम गर्छ ? कति पर्छ मूल्य ?

‘सक्स’मा प्रशोधित पानी राखिएको हुन्छ । जुन पानी गाडीमा जडान गरेपछि हाइड्रोजन र अक्सिजन छुट्टिन्छ । हाइड्रोजनले इन्धनको काम गर्छ । हाइड्रोजन डिजेल-पेट्रोलभन्दा तीन गुणा बढी प्रज्ज्वलनशील पदार्थ हो ।

यसबारे जानकारी दिँदै शिशिर भन्छन्, ‘किटले पानीबाट हाइड्रोजन र अक्सिजन छुट्टाएर इलेक्ट्रोलाइसिस प्रक्रियाबाट हाइड्रोजनलाई इन्जिनमा पठाउँछ, जसले गर्दा गाडीमा राखिएको इन्धनको खपत ४० प्रतिशतसम्म कम हुन्छ ।’ यो उपकरण कार, बस, ट्रक, मोटरसाइकल, एक्साभेटर जस्ता सबै प्रकारका सवारी साधनमा जडान गरेर इन्धन खपत कम गर्न सकिने उनको भनाइ छ ।’

शिशिरका अनुसार कारमा प्रयोग गर्न मिल्ने किटमा ४.६ लिटर प्रशोधित पानी राखिएको हुन्छ । यसले ६ सय ५० किलोमिटर दुरीसम्म गाडी गुडाउन मिल्छ । उपकरणमा पानीको मात्रा देखाउने इण्डिकेटर हुन्छ । पानी सकिएपछि फेरि भर्न मिल्छ । सवारी साधन अनुसार ‘सक्स’ किटको साइज पनि फरक-फरक हुने उनले बताए ।

कारमा प्रयोग हुने फ्यूल सेभर किटलाई ४० देखि ५० हजार रुपैयाँ मूल्य पर्ने उनले बताए । तर यसको खपत धेरै भएमा मूल्य घटाउन सकिने उनले बताए ।

आफ्नै कारमा परीक्षण गरेपछि व्यावसायीक उत्पादन

यो उपकरणले इन्धनको बचत मात्रै होइन, इन्जिनको आयु बढाउने, माइलेज बढी दिने, पिकअप र पावर बढाउने अनि इन्जिनमा जम्मा हुने फोहोर (कार्बन) उत्सर्जन कम गरिदिने शिशिर बताउँछन् । इन्धन कम खपत हुँदा इन्धन किन्दा लाग्ने रकम पनि स्वत: बचत हुन्छ ।

एक वर्षदेखि आफ्नै कारमा यो उपकरणको जडान गरेर परीक्षण गर्दा सफल भएको शिशिरको दावी छ । परीक्षणका क्रममा देखिएका कमी कमजोरीलाई सुधारेपछि किटको व्यावसायिक उत्पादनमा लागेको उनले बताए ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रदेश सांसदहरु, बुटवल उपमहानगरकी कार्यवाहक प्रमुख, यातायात कार्यालयका प्रतिनिधिलगायतको उपस्थितिमा ‘फ्यूल सेभर किट’ औपचारिकरुपमा सार्वजनिक गरेका शिशिरले अब एक महिनापछि व्यावसायिकरुपमा बिक्री शुरु गर्ने योजना सुनाए ।

‘यसले इन्धन मात्रै बचत गर्दैन, सवारी साधनबाट हुने कार्बनमोनोअक्साइड र हाइड्रोकार्बन ग्यास उत्सर्जनलाई ५० प्रतिशतसम्म कम गराउँछ, जसले गर्दा वातावरण संरक्षणमा टेवा पुग्छ,’ शिशिर भन्छन्, ‘फ्यूल सेभर किटको सफल प्रयोगसँगै अब शतप्रतिशत इन्धन खपत बचत गराई पानीबाट मात्रै गाडी चलाउन मिल्ने उपकरण आविश्कार गर्ने सोचमा छु ।’

यो उपकरणको उत्पादन र बिक्रीका लागि उनले जीसी रिसर्च एण्ड डेभलपमेन्ट प्रालि सञ्चालन गरेका छन् ।

नाकाबन्दीपछि पलाएको सोच

२०७२ को भारतीय नाकाबन्दीका बेला इन्धन आयात ठप्प हुँदा जनजीवन कष्टकर बनेको देखेपछि इन्धनको विकल्प के हुनसक्ला र इन्धनको खपत कसरी घटाउन सकिएला भन्ने सोंच पलाएको र पढाइ सकेर नेपाल फर्केपछि खोज अनुसन्धानमा लागेको शिशिरले स्मरण गरे ।

‘अरुले इन्धन नदिँदा देशले भोगेको पीडाले यसको विकल्प खोज्ने अठोट जाग्यो अनि तीन वर्षसम्म निरन्तर मेहनत गरेपछि फ्यूल सेभर किट बनाउन सफल भएँ,’ शिशिरले भने, ‘सरकारले यसको प्रयोग र प्रवर्द्धन गरिदिने हो भने वर्षमा एक खर्ब रुपैयाँको इन्धन आयात कम गराउन सकिन्छ ।’ हाल वार्षिक दुई खर्ब ४३ अर्बको इन्धन आयात हुँदै आएको छ ।

पेटेन्ट राइट दर्ताको लागि निवेदन

उपकरणको परीक्षण सफल भएपछि शिशिरले उद्योग विभागमा पेटेन्ट राइट दर्ता गराएका छन् । तर प्रमाणपत्र अझै पाएका छैनन् ।

नेपाल इन्जिनियरिङ परिषदका सदस्यसमेत रहेका उनको नयाँ आविश्कारलाई देखेर प्रदेश ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले युवा वैज्ञानिकको रुपमा सम्मानसमेत गरेको छ । परिवारको एक्लो छोरो शिशिरलाई बुवा, आमा र एक दिदीले नयाँ खोज र अनुसन्धानमा साथ दिएको उनी बताउँछन् ।

आफ्नो यो सफलतामा पूर्व विज्ञान, प्रविधि तथा वातावरणमन्त्री गणेश शाहको पनि हौसला र प्रोत्साहन रहेको शिशिरले स्मरण गरे । ‘मलाई यो आविश्कार गर्नमा उहाँको (गणेश शाहको) पनि ठूलो योगदान छ,’ शिशिरले भने, ‘अब योभन्दा अगाडि बढेर वैकल्पिक ऊर्जाका क्षेत्रमा नयाँ आविश्कार गरेर देशलाई योगदान गर्ने धोको छ ।’ उनले युवा प्रतिभालाई संरक्षण र प्रोत्साहन गर्न तीनै तहका सरकारको ध्यान पुग्नुपर्ने धारणा राखे ।

onlinekhabar;

प्रतिक्रिया दिनुहोस