आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परपुरुषसँग सम्बन्धले श्रीमतीको हत्याः ‘पोल खुल्ने डरले छोरी मारेँ’

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ६१६ पाठक संख्या

हेटाैँडा , पौष  ०१ : एकाएक महिला र बालिकाको शव फेला प¥यो । केही दिन अघि हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित राप्ति खोलामा बेवारिशे अवस्थामा उनीहरु भेटिए । परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै श्रीमानले श्रीमती र नाबालक छोरीको हत्या गरेको खुलेको छ । भारतको बिहारस्थित मोत्तिहारी घर भएका २६ वर्षीय महमद रमजान मियाँ दर्जी (श्रीमान) र उनका भाई अरमान मिँयाले आफ्नै श्रीमती र छोरीको हत्या गरेको जिल्ला प्रहरी मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिनुभयो ।

महमद रमजानले नेपाल गएर काम गर्ने भन्दै श्रीमती र छोरीसहित उनका भाई अरमानलाई लिएर मंसिर ५ गते हेटौंडा आएका थिए । हेटौंडा–५ पिप्लेमा डेरा गरी बस्ने महमद कबाड र लेबर काम गर्दै आइरहेका थिए । हेटौंडामा परपुरुषसँग लागेको शंकामा दाजुभाईले हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । भाई अरमान नेवारपानीस्थित तारजाली बनाउने उद्योगमा काम गर्थे । मंसिर १७ गते मृतक महिलाका बाबुआमा आएको भन्दै भेटाउने बहानामा अटोमा नेवारपानी पु¥याएर खोलामा उनीहरुको हत्या गरेको स्वीकार गरेका छन् ।

दाजु महमद र भाई अरमानले योजनाबद्ध ढंगले भारतीय नागरिक २५ वर्षिया लालमुन खातुन (श्रीमती) र १ वर्षिया छोरी रोशन खातुनको राप्ति खोला किनारमा कपडाले मुख थुनेर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेपछि छोरीलाई जिउँदै राख्दा घटना बाहिर आउने डरले छोरीको पनि घाँटी थिचेर हत्या गरेको महमदले घटना स्वीकार गरेको प्रहरीको भनाय छ ।

मंसिर १८ गते नाबालकको शव रहेको ठाउँभन्दा ५० मिटरमाथि खोलामा थिचेर राखेको अवस्थामा २२ गते महिलाको शव प्रहरीले बरामद गरेको थियो । प्रहरीले महिलाको गोजीमा भएको फोन डायरीको आधारमा अभियुक्त श्रीमान महमदलाई हेटौंडामै लुकीछिपी बसेको अवस्थामा मंसिर २९ गते पक्राउ गरेको थियो । उनका भाई अरमान भने फरार रहेको र खोजी कार्य जारी राखेको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस