आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय कांग्रेसका पूर्वसांसदलाई जन्मकैद

AuthorAP Khabar२०७५ पौष २, सोमबार (५ साल अघि) ३५५ पाठक संख्या

काठमाडौं , पुस २  :  दिल्ली उच्च अदालतले भारतीय कांग्रेसका पूर्वसांसद सज्जन कुमारलाई जन्मकैद सजायँ सुनाएको छ । सन् १९८४ मा भएको शिख दंगाको घटनामा दोषी ठहर गर्दै सज्जन कुमारलाई जन्मकैदसँगै पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

३४ वर्षअघि भएको घटनाका दोषी सज्जन कुमारलाई ३१ डिसेम्बरभित्रै आत्मसमर्पण गर्न अदालतले आदेश दिएको छ ।

सन् १९८४ अक्टुबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको उनकै सुरक्षाकर्मीहरुले हत्या गरेका थिए । त्यसपछि दंगा भड्किएको थियो । दंगाको क्रममा दिल्लीको छावनी क्षेत्रमा शिख समुदायका केहर सिंह, गुरप्रीत सिंह, रघुविन्दर सिंह, नरेन्द्र पाल र कुलदीप सिंहको हत्या भएको थियो ।

उक्त हत्याको आरोप सज्जन कुमारलाई लागेको थियो । तर, दिल्लीको एक अदालतले सो सज्जन कुमारलाई सफाइ दिएको थियो । त्यसविरुद्ध केन्द्रीय जाँच व्यूरो -सीबीआई)ले दिल्ली उच्च अदालतमा अपिल गरेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार उच्च अदालतका न्यायाधीशद्वय एस मुरलीधर र विनोद गोयलले तल्लो अदालतको फैसला उल्टाइदिएर जन्मकैदको फैसला सुनाएका हुन् ।

सज्जन कुमारसँगै क्याप्टेन भागमल, पूर्वपार्षद बलवान यादव र गरिधारी लाललाई पनि उच्च अदालतले जन्मकैदको सजायँ सुनाएको छ ।

यस मुद्दाको सुनुवाइ २९ अक्टुबरमै सकिएको थियो तर न्यायाधीशद्वय मुरलीधर र गोयलले फैसलालाई सुनाएका थिएनन् । दिल्ली उच्च अदालतको फैसलामा लेखिएको छ, ‘१९७४ मा बिभाजनको दौरान नरसंहार भएको थियो । ३७ वर्षपछि दिल्लीमा पनि यस्तै एक घटना भयो । अभियुक्तहरुले राजनीतिक संरक्षणको फाइदा उठाए र आरोपबाट भागीरहे ।’

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस