आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रेल उद्घाटन अन्योलमा : आरोप–प्रत्यारोपमा नेपाल र भारत, उद्घाटन मोदीले गर्ने कि ओलीले ?

AuthorAP Khabar२०७५ पौष २, सोमबार (५ साल अघि) ५०८ पाठक संख्या

काठमाडौँ , पुस २   : पुनः सञ्चालनको तयारीमा रहेको जयनगर–जनकपुर–कुर्था रेल उद्घाटन अन्योलमा परेको   छ ।

नेपाल र भारतले एकअर्कालाई दोषी देखाउँदै उद्घाटनलाई अन्योल बनाएका हुन् । भारत नेपालको तर्फबाट काम पूरा नभएको भन्दै पन्छिरहेको छ भने नेपाल भारतबाट उद्घाटनका लागि तयारी नभएको भनिरहेको छ ।

विवाह पञ्चमीमा भएन उद्घाटन

विवाह पञ्चमी (मङ्सिर २६) को अवसरमा जयनगर–जनपुर–कुर्था ब्रोडगेज रेलको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने तय भएको थियो । विवाह पञ्चमीमा भारतको अयोध्या भएर जन्तीको नेतृत्व गर्दै मोदी जनकपुरसम्म आउने र सोही दिन रेलको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

त्यसको तयारीमा नेपालस्थित भारतीय दूतावास पनि लागिसकेको थियो । दूतावासका प्रतिनिधि जनकपुर गएर रेल सञ्चालन तयारी तथा सुरक्षा अवस्थाको बारेमा समेत जानकारी लिइसकेका थिए । त्यसका लागि दूतावसका राजदूत मञ्जिभ सिंह पुरी र डीसीएम अजयकुमार पटक–पटक जनकपुर गएर छलफल गरेका थिए ।

जनकपुर–जयनगरसम्म स्थलगत निरीक्षण गर्ने क्रममा गत कात्तिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले डिसेम्बरसम्म रेल सञ्चालन भइसक्ने जानकारी दिएका थिए । प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने भनेपछि उनी आफै दुई पटक त्यसको अनुगमन तथा निरीक्षणमा गएका थिए ।

तर अन्तिम समयमा आएर व्यस्तताको कारण देखाउँदै उद्घाटनका लागि प्रधानमन्त्री मोदी आउने कार्यक्रम रद्द गरिएको थियो ।

त्यसपछि प्रधानमन्त्री मोदीले नै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई रेल उद्घाटनका लागि जान भनेका थिए । रेल उद्घाटनमा मुख्यमन्त्री आदित्यनाथका साथ भारतीय रेल मन्त्री आउने पनि कार्यक्रम थियो ।

जनकपुर–जयनगर रेल भारतका प्रधानमन्त्री मोदीले होइन, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले गर्ने कुराको जानकारी प्रदेश २ को सरकारदेखि नेपालस्थित भारतीय दूतावाससम्मलाई जानकारी गराइएको थियो ।

आदित्यनाथ विवाह पञ्चमीमा जन्ती भएर सहभागी हुने र रेल उद्घाटन गर्ने तय भएपछि त्यसको तयारीमा प्रदेश सरकार र दूतावास लाग्यो । रेल सञ्चालनका लागि बाँकी रहेका काम छिटो छिटो पूरा गर्न कर्मचारीलाई निर्देशन दिइयो । प्रदेश २ आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले नै मुख्यमन्त्री आदित्यनाथले रेलको उद्घाटन गर्ने भन्ने पत्रकरलाई जानकारीसमेत गराएका थिए ।

जनकपुरमा दूतावासका कर्मचारीको चहलपहल पनि बढिसकेको थियो । त्यही बेला नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विरोध सुरु गरेका थिए । नेपाल–भारतको राष्ट्रिय महत्त्वको परियोजनाको उद्घाटन एकजना मुख्यमन्त्रीबाट गराउन नहुने उनले कुरा उठाएका थिए । उनले सार्वजनिक रूपमै कुरा उठाएपछि काँग्रेसका प्रदेश २ का नेताहरूले विरोध गर्न शुरु गरे ।

मङ्सिर ६ गते बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा पनि नेपाली काँग्रेसका प्रदेशसभाका सदस्यहरूले कुरा उठाए । उनीहरुको माग थियो, ‘राष्ट्रिय महत्त्वका परियोजना दुई देशका प्रधानमन्त्री वा केन्द्रीय रेल मन्त्रीले उद्घाटन गर्नुपर्छ, मुख्यमन्त्रीले गर्न हुँदैन ।’

प्रमुख प्रतिपक्षी दल काँग्रेसका उपसभापति निधिले लगातार विरोध गरिरहनु र सदनमा समेत त्यसको विरोध भएपछि मुख्यमन्त्री आदित्यनाथले गर्ने रेल उद्घाटन कार्यक्रम रद्द भएको स्रोत बताउँछ ।

रेल उद्घाटन कार्यक्रम रद्द भएपछि मात्र काँग्रेसका सभापति निधिले विवाह पञ्चमीमा जन्ती भएर आउने उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । आदित्यनाथलाई स्वागत गर्नका लागि निधि जनकपुर आफै पुगेका थिए ।

के भन्छ नेपाल सरकार ?

रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘नेपाल सरकार उद्घाटन गराउनका लागि तयार छ, भारतले नै समय दिएको छैन । यो रेल परियोजना भारतले तयार गरिदिएको हो । कहिले उद्घाटन गर्ने ? कहिलेदेखि सञ्चालन गर्ने ? त्यो भारतको हातमा छ । हामी उद्घाटन गराउन तयार छौँ ।’

भारतका प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने कुरा आएपछि आफूहरू त्यसको तयारीमा लागिसकेको बताउँदै तर भारत फेरि किन पछाडि हट्यो भन्ने कुराको आफूलाई जानकारी नरहेको उनको भनाई छ ।
उनी भन्छन्, ‘भारत उद्घाटनका लागि तयार भयो भने हामी तयारी पूरा गर्छौं ।’

उनले अब इन्जिन र डब्बा ल्याउने काम मात्र बाँकी भएको बताए । नेपाल सरकारले भारतबाट किनेर ल्याउने पहल गरिरहेको बताउँदै उनले इन्जिन र डब्बा ल्याउन ४५ करोड नेपाली रुपैयाँ पर्ने जानकारी दिए ।

के भन्छ भारत ?

तर भारतीय पक्षले भने नेपालले नै तयारी पूरा नगरेको आरोप लगाएको छ । ‘भारतको तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिसकेको छ,’ भारतीय दूतावासका एक अधिकारीले भने, ‘भारतबाट गर्नुपर्ने केही बाँकी छैन । अब नेपालले इन्जिन र डब्बा ल्याएर कहिले लिकमा राख्ने हो, त्यही दिन उद्घाटन हुन्छ ।’

उनी भन्छन्, ‘केवल उद्घाटन गरेर मात्र हुँदैन । उद्घाटन गरेर पनि रेल चलेन भने दुवै देशको बेइज्जती हुन्छ । जसले उद्घाटन गर्छ उसको बेइज्जती हुन्छ । त्यसैले सम्पूर्ण काम पूरा भएपछि मात्र भारत सरकार त्यसको उद्घाटन गर्छ ।’

प्रधानमन्त्री मोदी वैशाखमा नेपाल भ्रमणमा आएको बेला पशुपतिमा एउटा धर्मशालाको उद्घाटन गरेका थिए । तर त्यो अझै सञ्चालनमा आएको छैन ।

नेपाल सरकारले तयारी पूरा नगरेको कारणले नै उक्त धर्मशाला सञ्चालनमा नआएको ती अधिकारीको गुनासो छ । उनी भन्छन्, ‘रेल सेवाको पनि त्यस्तै हालत त हुने होइन भन्ने चिन्ता छ । त्यसैले काम पूरा हुने प्रतिक्षामा हामी छौँ ।”

ओलीले उद्घाटन गर्ने 

भारतले आनाकानी गरेपछि जनकपुर–जयनगर–कुर्था रेल सेवाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्भावना बढेको छ । इन्जिन र डब्बा ल्याइसकेपछि भारतको जयनगर गएर प्रधानमन्त्री ओलीले त्यसको उद्घाटन गर्ने सम्भावना रहेको दूतावास स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीका साथमा भारतका केन्द्रीय रेल मन्त्रीको पनि उपस्थिति रहेने बताइएको छ । सन् २०१९ मा भारतमा हुन गइरहेको चुनावका कारण प्रधानमन्त्री मोदी व्यस्त हुने भएकाले उद्घाटनको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई आउने सम्भावना धेरै रहेको बताइएको छ ।

के छ सम्झौतमा ?

नेपाल–भारतबीचको सम्झौतामा रेल लिक, सिग्नल सिस्टम, प्लेटफर्म, पुल, कर्मचारी आवासलगायत भौतिक संरचना भारतले निर्माण गर्नेछ भने रेल इन्जिन र डब्बा (बोगी) नेपालले खरिद गर्ने भनिएको छ । रेल सञ्चालनका लागि भौतिक संरचना तयार भइसकेको अब नेपालले इन्जिन र बोगी (डब्बा) खरिदको प्रक्रिया पनि सुरु गरिसकेको छ । भारतको राइट्स कम्पनीले त्यसको मूल्यसूची नेपाललाई पठाइसकेको छ । त्यसको अध्ययन गरी जवाफ पठाउने तयारी भइरहेको महानिर्देशक मिश्रले जानकारी दिए ।

भारत सरकारको झन्डै १० अर्ब लगानीमा रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाअन्तर्गत प्रथम चरणमा जयनगरदेखि कुर्थासम्मको ३५ किमि सेवा सञ्चालन हुँदैछ । दोस्रो चरणमा कुर्था–भँगहा (१७ किमि) तथा तेस्रो चरणमा भँगहा–बर्दिबास (१७ किमि) गरी कुल ६९ किमि लामो रेल विस्तार तथा स्तरोन्नति परियोजना आगामी २ वर्षभित्र पूरा हुने दाबी गरिएको छ ।

हेडलाईन

प्रतिक्रिया दिनुहोस