आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यार्थी भर्ना नलिने मेडिकल कलेजहरुको घोषणा,प्रधानमन्त्रीलाई बुझाए साँचो

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) ७०६ पाठक संख्या

असोज , ८ : मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६ ७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना नलिने घोषणा गरेको हो ।राष्ट्रिय चिकित्सा ऐन २०७५, संघीय संसद्, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन अनुरूप भर्ना प्रक्रिया अघि बढाउनु पर्नेमा त्यसो नगरिएकाले विद्यार्थी भर्ना नगर्ने निर्णय गरिएको एसोसिएसन अफ मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसरुद्धीन अन्सारीले जनाएका छन् ।

त्यस्तै, कलेजहरुको सिट संख्या, विदेशी विद्यार्थीहरूको भर्नाबारे अपनाइएको नीतिमा पनि एसोसिएसनले असन्तोष जनाएको छ ।‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागू भई चिकित्सा शिक्षा आयोगले पूर्णता पाइसकेको अवस्थामा समेत ऐनले निर्दिष्ट गरेको सिद्धान्तबमोजिम शिक्षण शुल्क निर्धारण नगरी तथा विदेशी विद्यार्थीहरूको भर्नाका सम्बन्धमा स्पष्ट प्रक्रिया नतोकिकन विश्वविद्यालयहरूले प्रवेश परीक्षा सञ्चालन गरी भर्ना प्रक्रिया सुरु गर्न खोजिएको छ’, अध्यक्ष अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कलेजहरुको सिट संख्या, विदेशी विद्यार्थीहरूको भर्ना संघीय संसद्, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरूको शुल्कलगायतका विविध विषयका सन्दर्भमा दिइएको निर्देशनलाई पालना नगरी यथास्थितिमा कलेजहरूले विद्यार्थी भर्ना गर्न असमर्थता व्यक्त गर्दछौं ।’

विश्वविद्यालयले अघि बढाएको एमबीबीएस विद्यार्थी भर्ना प्रक्रियाप्रति रुष्ट संघले पछिल्लो समय दबावमूलक कार्यक्रमसमेत अघि बढाउँदै आएको छ । मंगलबार मात्रै उसले साँचोसहितको ज्ञापनपत्र प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालयका उपकूलपतिहरू तथा सम्बन्धित डिनहरूलाई बुझाएको छ । हचुवाका भरमा विभिन्न निर्णय गरेर कलेजहरूलाई धराशायी बनाइएको भन्दै एसोसिएसनले साँचोसहितको ज्ञापनपत्र बुझाएको हो ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस