आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेटौँडा हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) ३०६ पाठक संख्या

असोज , ८ : अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्टझँै लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीयझँै लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरालगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग अलग गाई, भँैसी तथा पाडापाडी, माथिल्लो तलामा ब्रोइलर र लेयर्स जातका कुखुरा, पोखरीमा माछा अनि तैरिरहेका हाँस, बारीमा मौसमी तथा बेमौसमी तरकारी, कृषिप्रति रुचि राख्ने जो कोहीको मन लोभ्याउने यो दृश्य हो प्रदेश नं ३ को राजधानी हेटौँडासँग सीमा जोडिएको मनहरी गाउँपालिका, हाँडीखाला, मसिनेस्थित भिजन अफ मकवानपुर एग्रिकल्चरको ।

अर्काको देशमा गएर काम गर्नुभन्दा स्वदेशमा नै काम गरेर विदेशको सरह कमाइ गर्न सकिन्छ र स्वरोजगार बन्दै अरु नेपालीलाई पनि रोजगारी दिन सकिन्छ भन्दै विभिन्न जिल्लाका युवाले शुरु गरेको यस कृषि फार्मले एक वर्षभित्र नै एक हजार ५०० लाई रोजगारी दिने लक्ष्य लिएको छ ।वैदेशिक रोजगारीमा रहेका तथा विगतमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएर हाल नेपालमा फर्किएका युवा र विभिन्न कारणले पीडित बन्न पुगेका महिलासमेत गरी देशका ४० जिल्लाका १५५ लगानीकर्ताको शेयर लगानी रहेको यस फार्मले हाल १०० जतिलाई रोजगारी दिएको र एक हजार ५०० लाई रोजगारी दिनेगरी काम अगाडि बढिसकेको फार्मका अध्यक्ष प्रेम कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार फार्ममा हाल थोरै सङ्ख्यामा पाडापाडी, गाई, बाख्रा र कुखुरा भए पनि आगामी वर्षबाट नै एक हजार ५०० बाख्रा, २०० गाई, १० हजार कुखुरा, १०० पाडा, तीन÷चार हजार बट्टाई, उपलब्ध भएसम्म कालिज, केही हजार टर्की आदिको व्यावसायिक पालन शुरु गरिने छ । केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको कारण आफूहरु कृषितर्फ आकर्षित भएको उहाँको भनाइ छ ।कृषि उत्पादनलाई नै पहिलो प्राथमिकतामा राखेको प्रदेश ३ सरकारले कृषि उत्पादन बढाउन र प्रशस्त रोजगारीसमेत सिर्जना हुने गरी शुरु गरिएको यस फार्मलाई सकेको सहयोग गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ ।

सरकारको प्राथमिकता एकीकृत खेती भएकाले सोहीअनुसार एकीकृत खेती प्रणालीलाई सरकारले सहयोग गर्ने तथा आधुनिक कृषिमा जोड दिने उहाँको धारणा छ ।तराईको तुलनामा केही चिसो वातावरण हुने हुँदा यहाँको हरेक उत्पादन स्वादिष्ट हुने भएकाले उपभोक्ताको पहिलो रोजाइमा हाँडीखोलाको काउली, माछा, आलु, केरा तथा गेडागुडी पर्ने उपभोक्ता मञ्च, मकवानपुरका अध्यक्ष कुमार पौडेल बताउनुहुन्छ । स्वास्थ्यप्रति सजग उपभोक्ता ताजा र विषादीरहित उत्पादन रुचाउँछन् र अहिलेसम्म हाँडीखोलावासी किसानको इमान्दारीका कारण खानयोग्य उत्पादन आएकाले रुचाइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस