आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्यो

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) २८१ पाठक संख्या

असोज , ८ : अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् ।ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)अन्तर्गतको टिम्स पर्यटक जाँच केन्द्र बेसीसहरका अनुसार सेप्टेम्बर महिना सुरु भएयता एक हजार सात सय ४९ जना पर्यटक अन्नपूर्ण पदमार्गमा गएका छन् । दैनिक एक सय ५० देखि एक सय ८५ जना बेसीसहर हुँदै अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् । मुख्य सिजनमा भने दैनिक तीन सय ५० भन्दा बढी आउने केन्द्रको भनाइ छ ।

पदयात्राका लागि अफसिजन मेदेखि अगस्टमा महिना दुई हजार सात सय ४४ पर्यटक आएका थिए । गत वर्ष भने यही समयमा तीन हजार एक सय १२ जना पर्यटक पदयात्राका लागि आएको टिम्स बेसीसहरका इन्चार्ज नन्दराज भट्टले बताए । उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन बढ्ने अपेक्षा छ ।’ बेसीसहर टिम्सका अनुसार अन्नपूर्ण पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउँछन् ।

मोटरबाटो पुगेपछि आन्तरिक पर्यटक बढे
मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटक पनि बढेका छन् । विदेशी पर्यटकको हाराहारीमै आन्तरिक पर्यटक आउन थालेको पर्यटन व्यवसायीहरूको भनाइ छ । पर्यटकहरू विशेष गरेर थोराङ पास, लार्के पास र काला पास साथसाथै तिलिचो ताल अवलोकनका लागि आउने गरेका छन् । पछिल्लो समय विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनिधि समूहमै आउने गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।

अन्नपूर्ण पदमार्गमा विशेषगरी सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा अत्यधिक पर्यटक आउने गर्छन् । यस वर्ष भने अगस्टदेखि नै मनाङमा पर्यटक चहलपहल बढेको पर्यटन व्यावसायी विनोद गुरुङले बताए । उनले भने, ‘तिलिचो ताल घुम्न आउने विदेशी पर्यटकको संख्या पनि वृद्धि भएको छ ।’बेसीसहर अन्नपूर्ण पदयात्रामार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङको बेसीसहरबाट सुरु भएर मनाङको बगरछाप, थोराङ पास हुँदै बेनीको घोरेपानीबाट पोखरामा टुंगिन्छ । पाँच हजार चार सय १६ मिटर अग्लो थोराङ भञ्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् ।

नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस