आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माला आर्टस्मा सरोज र सूर्यमाला

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) ५४५ पाठक संख्या

असोज , ९ : दरबारमार्गस्थित त्रिसरा भवनको भुइँतलामा जुत्ता पसल छ । त्यसको आडैमा छ, माला आर्ट्स एकेडेमी । त्यहीँ भेटिन्छन्, अभिनेता सरोज खनाल र रंगकर्मी सूर्यमाला खनाल । यो एकेडेमी अभिनेता खनाल र सूर्यमालाकी बहिनी चन्द्रमालाको संयुक्त लगानीमा खुलेको हो । तीनैजना रंगमञ्च पृष्ठभूमिकै कलाकार हुन् । ‘बहिनीको सपना त नाटकघर खोल्ने थियो,’ सूर्यमाला भन्छिन्, ‘अभिनयको तृष्णा नमेटिएकाले सानैबाट सुरु गरौँ भनेर माला आर्ट्स खोलेका हौँ ।’एकेडेमीका भित्तामा चर्चित कलाकारका तस्बिर झुन्ड्याइएका छन् । पुस्तकालयमा आख्यान र गैरआख्यान दुवै प्रकारका पुस्तक उपलब्ध छन् ।

०७५ सालमा खुलेको एकेडेमीमा तेस्रो ब्याचका विद्यार्थीले अभिनय सिकिरहेका छन् । ‘युवापुस्ता थिएटरमा आउन चाहिरहेका छन्, तर लामो समय रंगमञ्चमा टिक्ने माहोल छैन,’ सूर्यमाला भन्छिन् । विद्यार्थीलाई रंगकर्मी सरोज अर्यालले अभिनय सिकाउँछन् ।रंगमञ्चमा २५ वर्षको अनुभव सँगालेकी उनी केही वर्ष अमेरिका पनि बसिन् । स्वदेश फर्केपछि फेरि अभिनयमा फर्किन् । अहिले उनी वृत्तचित्र, पटकथा लेखन, सर्ट फिल्मलगायत प्रोजेक्टको योजना बनाइरहेकी छन् । अभिनेता खनाल भन्छन्, ‘हाम्रा विद्यार्थीलाई टेलिफिल्म र सर्ट फिल्ममा अवसर दिने गरेका छौँ ।’

एकेडेमीमा वर्षमा एकपटक मात्र विद्यार्थी भर्ना लिने गरिएको छ । सीमित कोटामा विद्यार्थी भर्ना लिने योजना रहेको सूर्यमाला बताउँछिन् । चर्चित कलाकार बिदेसिनुको पीडा आफैँले भोगेका छन्, सरोज र सूर्यमालाले । त्यो पीडा दोहोरिन नदिन हरेक तीन महिनामा एउटा नाटक मञ्चन गर्ने योजना रहेको सूर्यमाला बताउँछिन् । एकेडेमीका विद्यार्थीले महिनामा एकपटक चर्चित कलाकारसँग साक्षात्कार गर्न पाउँछन् । फिल्म र रंगकर्मी आफैँ एकेडेमी पुगेर विद्यार्थीलाई काम दिन्छन् ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस