विश्व पर्यटन दिवस : लमजुङ र मनाङका पर्यटन व्यवसायीले गरे पर्यटकको स्वागत

9

असोज , ११ : अन्नपूर्ण पदमार्गका लागि हिँडेका पर्यटकहरुलाई सदरमुकाम बेसीशहरमा पर्यटन व्यवसायीहरुले भव्य स्वागत गरेका छन् । ४० औं विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।लमजुङ हुँदै मनाङतर्फ हिंडेका पर्यटकलाई बाटोमै रोकेर जिल्लाका पर्यटन व्यवसायीले खादा र अबिर लगाएर भव्य स्वागत गरेका थिए । राष्टिय प्रकृति कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय भुजुङले पर्यटकहरुलाई खादा र अबिर लगाएर स्वागत गरेको होे ।

‘लमजुङमा पर्यटनको प्रचुर संभावना रहेको छ । तर त्यसको प्रयोग भएको छैन् ।’ लमजुङका पर्यटन व्यावसायी रामकुमार श्रेष्ठले भने ‘प्रकृतिलाई देखाएर आम्दानी लिन सकिने ठाउँ धेरै छ । तर गर्न सकिएको छैन् ।’ मनाङसँगै लमजुङ पनि पर्यटनको हव भएकोले जिल्लामा बाह्य पर्यटकहरुको आगमनलाई तिब्र पार्नको लागि आवश्यक कदम चाल्नुपर्ने उनको भनाई छ ।अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय (एक्याप) भुजुङ र बेसीशहरस्थित पर्यटक चेकजाँच केन्द्रमा पर्यटन दिवसको अवसरमा पर्यटकहरुलाई स्वागत गर्दै आइरहेको छ ।

स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समिती लमजुङका प्रमुख लोकराज पाण्डे, जिल्ला न्यायधिश हरिषचन्द्र ढुङगाना, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई ,एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ता, लमजुङका प्रहरी प्रमुख रविन्द्रमान गुरुङ, शसस्त्र प्रहरी बल लमजुङका प्रमुख रमेशकुमार गुरुङ लगायतले पर्यटकहरुलाई पदमार्गको प्रवेशद्धारमा बसेर स्वागत गरेका थिए ।‘हामी पहिलोपटक घुम्नका लागि नेपाल आएका हौं ।’खादा र टिकामा सज्जिएपछि इन्डोनएसियाका मुहामद रेजाले भने ‘नेपाल आएपछि नेपाली जनताको माया र सुन्दर र रमाणिय पर्यटकिय गन्तव्यहरु देख्दा आफु छक्क परे ।उनीमात्र होइन जर्मनबाट नेपाल घुम्न आएका बार ओरिगान पनि पहिलो पटक नेपाल घुम्न आएका हुन् ।

उनी भन्छन् लमजुङमा आउने वित्तीकै पर्यटकीय सोन्दर्यताले आफुलाई मोहित बनायो अझ यहाँको स्वागत र सम्मानले आफुहरुलाई आनन्दीत बनाएको छ ।सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटकहरुको आगमन हुने महिना भएकोले पर्यटन दिवसले पर्यटकहरुको आगमनमा नयाँ उत्साह थपिने एक्याप भुजुङका प्रमुख गुप्ताको भनाई छ ।‘मनास्लु पदमार्गबाट आएका पर्यटकहरुलाई पनि स्वागत गरिएको छ ।’ उनले भनिन्, ‘मनास्लु पदमार्गको अन्तिम बिन्दु धारापानी भएकोले यहाँ आइपुगेका विदेशी पर्यटकहरुलाई पनि स्वागत गरिएको छ ।’ सगरमाथा पछिको सबैभन्दा धेरै पर्यटक आउने अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमनमा उत्साहजनक रुपमा वृद्धि भएको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।
नयापत्रिका ;

Loading...