आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दशैँपछि चितवनको सौराहा आउने पर्यटक बढे

AuthorAP Khabar२०७६ आश्विन २६, आईतबार (४ साल अघि) ३८६ पाठक संख्या

असोज , २६ : दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो ।सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुनेगरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । उहाँले सुनसान बनेको सौराहा अहिले भरिभराउ हुन थालेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आन्तरिक पर्यटक ह्वात्तै बढेको छ, तर रात बिताउने पर्यटकको सङ्ख्या अझै कम छ ।” केही वर्षयता आन्तरिक पर्यटककै भरमा सौराहाको पर्यटन व्यवसाय चलेको छ । नेपालीहरू बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव बर्सेनि पर्यटकको सङ्ख्या बढ्दै गएको भट्टराई बताउनुहुन्छ ।पछिल्लो समय चितवनमा देखिएको डेङ्गुको प्रकोप र काठमाडौँबाट चितवन भित्रिने सडकको दुरावस्थाका कारण पर्यटकको चहलपहल घटेको सौराहाका रेष्टुरेन्ट व्यवसायी गोकर्ण गिरी बताउनुहुन्छ । उहाँले दशैँपछि घुम्ने परम्परा रहेकाले अब पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सौराहामा गतवर्षको तुलनामा यो सिजनमा यसपटक २० प्रतिशत पर्यटक पनि भित्रिएका छैनन् । गत वर्ष यसबेला दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रिएको क्षेत्रीय होटल सङ्घले जनाएको छ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप सफारीका लागि पर्यटकहरू सौराहा आउने गरेका छन् । साना तथा ठूला १५० होटल र ८० रेष्टुरेन्ट रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन् ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस