आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा तेल तस्करको आक्रमणबाट ४ प्रहरी घाइते, खोसिएको प्रहरीको हतियार खेतमा भेटियो

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (५ साल अघि) ६१४ पाठक संख्या

वीरगन्ज  , पौष ०३ :  : भारतसँग सीमा जोडिएको पर्साको जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा मंगलबार बिहान तेल तस्करी गर्ने गिरोहको आक्रमणबाट चार जना प्रहरी घाइते भएका छन् ।
नेपालबाट भारतमा डिजेल,पेट्रोल तस्करी गर्ने गिरोहको आक्रमणबाट दुईजना प्रहरी सहायक निरीक्षकसहित चार घाइते भएका हुन् ।

घाइते हुनेहरुमा प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव , प्रहरी हवल्दार प्रेम थापा , प्रहरी जवान अर्जुन चौधरी र प्रहरी चौकी पिडारीगुठीका प्रहरी सहायक निरीक्षक जय किशुन महत्तो रहेका छन् ।

ती मध्ये प्रहरी जवान अर्जुन चौधरीको अवस्था चिन्ताजनक छ । उनको वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ । अन्य तीन जना घाइतेहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

मङगलवार बिहान करिब ३ बजेतिर दुईवटा मोटरसाइकलमा डिजेल लोड गरी सीमावर्ती भारतीय बजार इनर्वामा जाँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीहरुलाई आक्रमण गरेका हुन्।

पाँडेपुर र सीमावर्ती भारतीय गाँउका तेल तस्करहरुले प्रहरीको साथबाट ‘थ्री नट थ्री’ राइफल पनि खोसेर भागेका थिए । प्रहरीबाट तस्करहरुले खासेको राइफल भने घटनास्थल नजिकैको खेतमा फेला परेको छ ।

घटनाको खबर पाएलगत्तै सदरमुकाम वीरगन्जबाट प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गएको टोलीले खोजतलास गर्दा खोसिएको हतियार फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । प्रहरी नायव उपरीक्षक राइले भने,‘तस्कररुले लुटेको हतियार हामीले फिर्ता गराई सकेका छांै, घटनामा नेपाल र भारत दुबै तर्फका अपराधी संलग्न छन्, उनीहरुको खोजी भइरहेको छ ।

घटनास्थलमा बिहानैदेखि पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईको नेतृत्वमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
भारतमा  पेट्रोल र डिजेलको मूल्य नेपालको भन्दा महङगो रहेका कारण तस्करहरुले सीमावर्ती पर्साका गाँउमा र पम्पहरुबाट खरिद गरेर सीमावर्ती भारतीय बजारमा बेच्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस