आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप छनोट : कुवेतसँग नेपाल १-० ले पराजित

AuthorAP Khabar२०७६ मंसिर ३, मंगलबार (४ साल अघि) ३४९ पाठक संख्या

२०७६ मङ्सिर ३ मंगलबार

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो । खेलको २८आँै मिनेटमा कुवेतका कप्तान बदर अल अलमोतवाले गोल गरे ।

उनले गरेको गोल नै कुवेतका लागि निर्णायक साबित भयो । उक्त खेलमा नेपालका भरपर्दा चार खेलाडीको उपस्थिति थिएन ।

भूटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरूलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अनुशासन कारवाहीस्वरुप निलम्बन गरेको थियो ।

विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको थियो ।

नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलले पराजित भएको थियो । यस्तै नेपालले चाइनिज ताइपेईलाई २–० ले गोलले हराएको थियो भने अष्ट्रेलियासँग ५–० गोलले र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।

कुवेतले भने अष्ट्रेलियालाई ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेईलाई ९–० गोलले पराजित गरेको थियो ।

दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुन नसकेको भन्दै नेपाल र कुवेतले न्युट्रल भेन्युका रुपमा पहिलो होम खेल भूटानमा खेलेको हो ।

प्रतिक्रिया दिनुहोस