आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रियसभामा १८ को लागि ४५ उम्मेदवार

AuthorAP Khabar२०७६ पौष २०, आईतबार (४ साल अघि) ३१२ पाठक संख्या

पौष २० काठमाडौं ।

राष्ट्रियसभा सदस्यको १८ पदको लागि माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । मुलुकको ७ वटै प्रदेशमा आइतबार उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले सबै प्रदेशमा उम्मेदवारी शान्तिपूर्ण रुपमा दर्ता भएका जानकारी दिनुभयो ।

उम्मेदवारीको लागि सबै ठाउँमा बिहान १० देखि अपराह्न ३ बजेसम्म समय तोकिएको थियो ।  फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो । निर्वाचनबाट ७ महिला, २ दलित, २ अल्पसङ्ख्यक र ७ अन्य सदस्य निर्वाचित हुनुहुनेछ ।

आयोगका अनुसार, प्रदेश १ मा महिला, दलित र अन्य समूहका एक एक पदका लागि तीनको उम्मेदवारी परेको छ । प्रदेश २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक, एक पदका लागि दुई, दुई जनाले उम्मेवारी दर्ता गराउनुभएको छ ।

प्रदेश ३ मा महिला र अन्य समूहका एक, एक पदका लागि तीन/तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा ७ मा महिला र अन्य समूहका एक एक पदका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।

पदावधि सकिनेमध्ये एक सदस्य मनोनित गरिने छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस