आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इराकमा इरानले हमला गर्न थालेपछि नेपालीहरु रातभर बंकरमै

AuthorAP Khabar२०७६ पौष २४, बिहिबार (४ साल अघि) ५०६ पाठक संख्या

पौष २४ एजेन्सी

इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दै छ भन्ने हल्ला फैलिइसकेको थियो । सेनाले तुरुन्तै आपत्कालीन घण्टी बजाएपछि झापाका राकेश क्षत्रीसहित ९ जनाको टोली जमिनमुनिको बंकरमा गएर बसे ।

आपत्कालीन घण्टी बजेपछि उनीहरूलाई तोकिएको बंकरमा गएर बस्नुपर्छ भनेर बेस क्याम्पमा पहिले नै सिकाइएको थियो ।

बेस क्याम्पमा फैलिएको हल्ला बुधबार बिहान स्थानीय समयअनुसार १.४५ मा सही निस्क्यो । इरानबाट लगातार आएको मिसाइल बेस क्याम्पभित्रै ठूलो आवाजले झर्न थाल्यो । २.४५ मा बल्ल रोकियो ।

‘मिसाइलको धक्का निकै ठूलो थियो, यस्तो आवाज मैले यसअघि इराकमा कहिल्यै सुनेको थिइनँ,’ क्षत्रीले कान्तिपुरसँग फोनमा भने, ‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरू भने निकै डराए ।’

क्षत्री पछिल्लो पटक १९ महिनाअघि मात्र इराक गएका थिए । त्यसअघि सन् २००७ देखि ११ सम्म बग्दादमा अमेरिकी सेनाकै क्याम्पमा कार्यरत थिए । ‘त्यतिखेर दैनिक १० वटा मोटर क्याम्पमा झर्थ्यो । बम आउँथ्यो । त्यसले मलाई बानी पारेको थियो ।

बुधबार बिहानको आवाज भने साँच्चिकै डरलाग्दो थियो,’ उनले भने, ‘१० पटकसम्म झरेको त गनियो, त्यसपछि कतिवटा झर्‍यो याद गर्न सकिनँ ।’

इराकी सेनाका अनुसार इरानले प्रहार गरेको २२ मध्ये १७ वटा मिसाइल अल असाद एयरबेसमा झरे । दुईवटा विस्फोट भएन । पाँचवटा मिसाइल अर्विल एयरबेसमा खसे । अल असाद क्याम्प बग्दादबाट झन्डै एक सय ६० किमि टाढा पर्छ ।

‘बंकर निकै सुरक्षित ढंगले बनाइएको छ । यो कडा हुन्छ । फलामे रडमा सिमेन्ट लगाइएको हुन्छ । त्यसको माथि बालुवा र माटोको बोरा राखिएको हुन्छ । यति बलियो भएपछि केही हुँदैन भनेर ढुक्क थियौं । सोचेको जस्तै भयो । हामीलाई केही भएन ।

साथीहरूको मनबाट डर हट्न भने निकै समय लाग्यो,’ उनले भने, ‘बिहान ७ बजेसम्म हामीलाई बंकरमा राखियो ।’

उनीहरू रातभर सुत्न सकेका थिएनन् । ‘सेनालाई सहयोग गर्नका लागि विभिन्न कम्पनीले झन्डै ५ सय जनालाई काममा लगाएको छ । हाम्रो समूहमा ९ जना छन् । यही क्याम्पको अन्य ठाउँमा नेपाली छन् कि छैनन् थाहा छैन,’ उनले भने, ‘मानवीय क्षतिबारे जानकारी भएन ।’

इरानी सरकारी टेलिभिजनले भने ८० जना अमेरिकी मारिएको दाबी गरेको छ । जसलाई अमेरिकाले खण्डन गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस