आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुख्यमन्त्री र मन्त्रीहरुबीच प्रदेश न २ मा बोलचाल बन्द

AuthorAP Khabar२०७६ माघ १४, मंगलबार (४ साल अघि) ४३४ पाठक संख्या

माघ १४ काठमाडौं :

प्रदेश नम्बर २ मा अहिले प्रदेश सरकार परिवर्तनको चर्चाले व्यापकता पाएको छ ।

प्रदेश नम्बर २ को समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनसँगै दरार उत्पन्न हुँदा एकातिर मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन् भने अर्कातिर सत्तारुढ दल राजपाले सरकार परिवर्तनको गृहकार्य शुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलाई केन्द्र सरकारबाट बाहिरिन बाध्य बनाएपछि समिकरण फेरिने चर्चा चलेको हो । जसलाई राष्ट्रिय सभाको चुनावमा राजपासँग नेकपाको समझदारीले थप बल दिएको छ ।

उता राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पनि अहिले प्रदेश सरकारको गठबन्धन तोड्ने र संघ सरकारमा गठबन्धन जोड्ने सम्बन्धमा ठोस निर्णय नभईसकेको बताएका छन् ।

संघीय सरकारमा सहभागी हुने विषयमा ठोस निष्कर्ष नआईसकेको बताएका छन् । यादवले भने–‘अध्यक्ष मण्डलका सबै नेताहरु काठमाडौं पुगेपछि यसबारे छलफल हुन्छ ।’

यही विषयलाई लिएर नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार पनि बालुवाटारमा छलफल भएको थियो । कांग्रेस र समाजवादी मिलेर अघि बढ्ने भएपछि राजपालाई साथमा लिएर संसद र मधेसमा नेकपाविरुद्ध हुने गठबन्धनलाई कमजोर बनाउने प्रधानमन्त्री ओलीको चाहना छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली माघको पहिलो साता नै राजपालाई सरकारमा सहभागी गराउने तयारीमा थिए । यस विषयमा एउटा बैठकमा सो प्रस्ताव राखेपछि महन्थ ठाकुर पार्टीमा छलफल आवश्यक रहेको भनेर उठेका थिए ।

सरकारमा सहभागी हुनका लागि आकांक्षीहरु धेरै भएका कारण पनि राजपालाई व्यवस्थापन गर्न समय लाग्ने देखिएको हो । अहिले दुई मन्त्रालय खाली रहेको छ । तर, महन्थ ठाकुरबाहेक राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव, महेन्द्र यादव र अनिल झा सबैजना मन्त्रीका आकांक्षी छन् ।

उता राजपाका वरिष्ठ नेताहरु सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल लगायतले राजपा नेतृत्वलाई नेकपाको सरकारमा सहभागी नहुन दवाव दिइरहेको बताइन्छ ।

पछिल्ला दिनमा प्रदेश सरकारमा मन्त्रीहरुबीच तीव्र मतभेद बढेको छ । राजपाका तर्फबाट प्रदेश सरकारमा सम्मिलित मन्त्रीहरुका कारण प्रदेश सरकार बदनाम भएको र आफूले काम गर्न नसकेको बताउँदै राजपाबाट सम्मिलित मन्त्रीहरुलाई हटाउन मुख्यमन्त्री राउतले राजपाका शीर्ष नेताहरुसँग ती मन्त्रीहरुलाई हटाएर नयाँ अनुहारलाई पठाउन आग्रह गर्दै आएपनि पछिल्लो बदलिदो परिस्थितिले गर्दा राउत ब्याग हुन पुगेका छन् ।

मुख्यमन्त्री राउतले औपचारिक ढंगले मन्त्रीहरु फिर्ता गराउन राजपालाई आग्रह गरे सरकारनै छोड्ने सम्भावना बढेपछि उनी ब्याग भएका हुन् ।

तर, राजपा नेताहरु मन्त्रीमण्डलमा नयाँ अनुहारहरु पठाउनभन्दा सरकार परिवर्तन गर्ने सोचमा देखिएका छन् । यसले गर्दा प्रदेश सरकारका मुख्यमन्त्री र राजपाका मन्त्रीहरुबीच बोलचाल समेत हुन छाडेको छ ।

समाजवादी र राजपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुबीच अहिले सामाजिक सञ्जालमार्फत घोचपेच भइरहेको छ । यसले पनि सरकारमा रहेका दुई पार्टीबीच तिक्तता बढेको देखिन्छ ।

वर्तमान मन्त्रीहरु फिर्ता बोलाएर नयाँ अनुहारलाई पठाउन समाजवादी पार्टीको प्रदेश समितिले राजपा नेतृत्वलाई पत्र लेख्ने तयारी गरेको छ । मन्त्रीफिर्ता बोलाउन राजपासँग छलफल अघि बढाउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताएका छन् ।

प्रदेश २ मा समाजवादी र राजपा गठबन्धनको सरकार छ । दुबै दलबाट ३–३ जना मन्त्री र ३–३ जना राज्यमन्त्री छन् । श्रोतका अनुसार मन्त्रीमन्त्री राउतले राज्यमन्त्रीलाई कायम राख्दै तीन मन्त्रीलाई फिर्ता बोलाउन राजपाको नेतत्वलाई दवाव दिँदै आएका छन् ।

राजपाबाट संसदीय दलका नेता समेत रहेका जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकास, नवलकिशोर साह सामाजिक विकास र रामनरेश राय यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।

प्रदेश २ सरकारको अहिले टाउको दुखाइको विषय बनेको छ –भुक्तानीको विषय । उपभोक्ता समितिहरुमार्फत गरिएको कामको रकम भुक्तानी नहुँदा प्रदेशसभा स्थगित हुँदै आएको छ ।

गत आर्थिक वर्षमा बाँडिएको ८ सय ४२ वटा योजनाको ९१ करोड भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले यसबापत ८६ करोड रुपैयाँ गत वर्षकै भुक्तानी गरेको छैन ।

आठ सयभन्दा बढी उपभोक्तामा सम्बद्ध चार हजारभन्दा बढी मानिसले एक रुपैयाँ पनि पेस्की नलिएर सरकारसँगको सम्झौताअनुसार विकासको काम गरिसकेका छन् ।

राजपाका महासचिव मनिषकुमार सुमनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सहकार्य भएसँगै प्रदेश नं २ मा सत्ताको गठबन्धन फेरिने चर्चा शुरु भएको बताएका छन् ।

सुमनले मुख्यमन्त्री यादवका कारण सरकारको बद्नाम भएको बताउँदै भ्रष्टाचार बढेको आरोप पनि लगाएका छन् ।

सरकारको पछिल्ला काम कारबाहीका कारण राजपा असन्तष्ट बनेको बताउँदै सुमनले यस विषयमा छिट्टै नै पार्टीले निर्णय लिने जानकारी दिए ।

उनले अब प्रदेश सरकार परिवर्तन आवश्यक रहको जनाउँदै राष्ट्रियसभाको निर्वाचनमा नेकपासँग भएको गठबन्धन इमान्दारितापूर्वक कार्ययान्वयन भएकोले नेकपासँग मिलेर अघि बढ्ने आधार तयार भएको पनि उल्लेख गरे । सुमनको भनाईले प्रदेश सरकार परिवर्तनका लागि भित्रभित्रै गृहकार्य शुरु भएको बुझ्न सकिन्छ ।

केन्द्रीय तहमा पनि प्रतिनिधिसभाको उपसभामुख, प्रदेश सरकारको परिवर्तन र संघीय सरकारमा राजपाको सहभागीताका विषयमा नेकपा र राजपाका शीर्ष नेताहरुबीच छलफल भइरहेको बताइन्छ ।

नेकपाका नेता तथा प्रदेशसभा विपक्षी दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकार परिवर्तन आवश्यक रहेको औल्याउँदै छलफल अघि बढेको बताउँछन् । प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै नेता मण्डलले राजपालाई आफ्ना मन्त्रीहरु फिर्ता बोलाउन आग्रह गरेका छन् ।

राजपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएमा प्रदेश सरकार परिवर्तन हुने भन्दै मण्डलले त्यसो नभएमा आफूहरुले प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए ।

उनले भने–‘राजपा र नेकपासँगको माथि बनेको गठबन्धन तलसम्म ल्याउन हो भने राजपाका साथीहरू सरकारबाट हट्दा अविश्वासको प्रस्ताव ल्याउने अवस्थै रहँदैन ।

दुई वर्ष पुग्न लाग्यो, यो सरकारले के चाहि राम्रो काम गरेको छ र ? स्थिरता र विकासका लागि जनतामा राम्रो सन्देश जाओस् भनेर हामीले विश्वासको मत पनि दियौँ । हामी विपक्षी छौँ, तर हामीसँग कुनै सल्लाह हुँदैन ।’सभार nepaltop

प्रतिक्रिया दिनुहोस