आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न आग्रह

AuthorAP Khabar२०७६ माघ १४, मंगलबार (४ साल अघि) ४१२ पाठक संख्या

माघ १४ काठमाडौं : नोवेल कोरोना भाइरसको महामारी फैलिएपछि पुरै सिल गरिएको चीनको हुवेइ प्रान्तको वुहान शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आफूहरुलाई तत्काल उद्धारका लागि पहल गर्न आग्रह गरेको समाचार बाहिरिएका छन् ।

कोरोना भाइरसको प्रकोप रहेको वुहान शहरमा रहेका करिब ७५ जना नेपाली विद्यार्थीहरु अहिले त्रसित वातावरणमा बसिरहेका छन् ।

चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलले त्यहाँ रहेका विद्यार्थीहरुसँग नियमित सम्पर्क गरिरहेको बताएपनि दुतावासले उचित ध्यान दिन नसकेको भनेर विद्यार्थीहरु चिन्तित हुन पुगेका छन् ।

अहिले कलेजहरु पनि विदा भएको र संक्रमणको त्रासले त्रसित बनेका नेपाली विद्यार्थीहरु केही समयका लागि नेपाल फर्कन चाहेको बताईन्छ । तर यससम्बन्धमा नेपाली राजदुतावासले कुनै चासो नदिएको उनीहरुको गुनासो छ । नेपाली दुतावपासले अहिले ‘वी च्याट’ ग्रुप बनाएर सामाजिक संजालमार्फत नेपाली विद्यार्थीहरुसँग सम्पर्क बढाएको छ ।

राजदूत पौडेलले सबै नेपाली विद्यार्थी स्वस्थ र सुरक्षित रहेको बताएका छन् । उनले वुहानबाट आउतजावतमा नै ठप्प पारिएको बताउँदै जहाजबाट अर्को देशमा पुर्याउने भन्ने कार्य अहिले सजिलो नभएको जनाएका छन् ।

उनले अहिलेसम्म यो संक्रमणमा कोही पनि नेपाली परेको जानकारी नभएको पनि बताएका छन् ।

तीन वर्षदेखि वुहानस्थित हुवाचोङ युनिर्भसिटी अफ साइन्स एण्ड टेक्नोलोजी अध्ययनरत दिबंगर खोटेजाले नेपाल सरकारले जहाजको व्यवस्था तत्काल गर्न आग्रह गर्दै आफू नेपाल फर्कन चाहेको बताएका छन् ।

कोरोना भाइरसको डर त्रासका कारण बाहिर ननिस्किएका अर्का नेपाली विद्यार्थी सन्दीप उप्रेतीले नेपाल सरकारले आफ्नो बारेमा तत्काल केही सोच्न आग्रह गरेका छन् । अहिले वुहानमा अध्ययनरत विद्यार्थीहरुमध्ये ४० जना होस्टेलमा बस्दै आएका छन् भने अन्य विद्यार्थीहरु बाहिर बस्दै आएका छन् ।

भाइरस संक्रमणका कारण कतिपयको मृत्यु समेत भएको खबरले नेपाली विद्यार्थीहरु झनै त्रसित र आतंकित बन्न पुगेका छन् । नेपाली राजदुतावासले सामाजिक संजालमार्फत सम्पर्क गर्दै संयमित रहन आग्रह गरेको विद्यार्थीहरु बताउँछन् । तर यसबाहेक दुतावासले कुनै चासो नदिएको उनीहरुको दुखेसो छ ।

नेपाली विद्यार्थीहरु अहिले पर्याप्त खाद्य सामग्रीको अभावको सामना पनि गरिरहेका छन् । त्रसित मनस्थितिका बीचमा बाचिरहेका नेपाली विद्यार्थीहरु जसरी पनि नेपाल फर्कने चाहना राखेका छन् । तर यससम्बन्धि समन्वय नहुँदा उनीहरु थप चिन्तित बन्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस