आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सन्दिप महंगा सावित, आइसीसीमा नेपालको दोस्रो हार

AuthorAP Khabar२०७६ माघ २७, सोमबार (४ साल अघि) ९९२ पाठक संख्या
माघ २७ काठमाडौं । नेपालको बलिङ लाइनअपले तल्लो स्तरको प्रदर्शन गरेपछि जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग टु मा नेपालले ओमानविरुद्ध दोस्रोे हार खेपेको छ ।
ओमनका आकिब इल्यास र कप्तान जिशान मक्सुदले एक सय ६७ रनको नटआउट पार्टनरसिप गरेपछि नेपाल ओमनसँग लगातार हार खेप्न बाध्य बनेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

२ सय ५० रनको लक्ष्यपछ्याएको ओमनको टोलीले भने लक्ष्य पछ्याउने क्रममा कुनै पनि बेला संघर्ष गर्नु परेको देखिएन । ओमनले लक्ष्य ४७ ओभर २ बलमा जम्मा २ विकेटको क्षतिमा भेट्टायो ।

बलिङमा ४ विकेट लिन सफल आकिब इल्यासले उत्कृष्ट लयलाई जारी राख्दै एक सय ८ बलमा नटआउट एक सय ९ रन बनाए । उनी खेलको म्यान अफ दि म्याच  घोषित भए ।

यस्तै जिशान मक्सुदले ६८ रनको नटआउट इनिङस् खेले । ओमानका ओपनरद्वय जतिन्दर सिंह र खवार अलिले ४८ रनको उत्कृष्ट शुरुवात दिएका थिए । जतिन्दरले २३ तथा अलिले ४१ रनको योगदान गरे ।

नेपालका लागि सुशान भारी र कुशल मल्लले समान एक एक विकेट लिनु बाहेक अन्य कसैले पनि ओमानको ब्याटस्म्यानलाई छेक्न सकेनन् । भरपर्दा भनिएका सन्दिप लामिछाने महंगा सावित भए । उनले १० ओभरमा ६५ रन दिए भने विकेट लिन सकेनन् ।

त्यस्तै अविनाश बोहराको ठाउँमा वान डे डेब्यु गरेका कमलसिंह ऐरीको पनि शुरुवात सुखद बन्न सकेन । उनले जम्मा ४ ओभर बलिङको मौका पाए जसमा उनले सात दशमलब दुई पाँचको औसतले २९ रन खर्चिए ।

यसअघि नेपालको ब्याटिङ इनिङस्मा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय इनिङस् खेल्दै ५६ रन बनाए । ज्ञानेन्द्रको यो एकदिवसीय क्रिकेटमा दोश्रो अर्धशतक समेत हो । यस्तै पारस खड्काले ३८ रन बनाए भने विनोद भण्डारीले ३१ रनको पाली खेले ।

शनिबार अमेरिकाविरुद्धको खेलमा डेब्यु गर्दै अर्धशतक बनाउने कान्छो खेलाडीको किर्तिमान राखेका कुशल मल्ल र आरिफ शेख दुबैले ले समान २८–२८ रनको पाली खेले । ओमनका लागि बलिङतर्फ आकिब इल्यासले ४ तथा मोहमद नदिमले तिन विकेट लिए ।

नेपालले ओमनविरुद्ध भएको पहिलो खेलमा १८ रनले हार बेहोरेको थियो । नेपाल आफ्नो दोस्रो खेलमा शनिबार अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । नेपालले अब बुधबार अमेरिकासँग आफ्नो चौथो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस