आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाभाइरसबाट हजार बढीको मृत्यु, वरिष्ठ चिनियाँ अधिकारीहरू पदमुक्त

AuthorAP Khabar२०७६ माघ २८, मंगलबार (४ साल अघि) ६२७ पाठक संख्या

माघ २८ एजेन्सी ।

चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ।उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो।

यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ।चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्। त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्।

नयाँ सङ्क्रमण घट्दो

सोमवार एकैदिन १०३ जनाको मृत्यु भएको भए पनि नयाँ सङ्क्रमणको सङ्ख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ। हुबेको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि गरेको छ। अघिल्लो दिन २,६१८ जनामा नयाँ सङ्क्रमण भएको थियो।

अहिले चीनमा उक्त भाइरसको सङ्क्रमण भएका कम्तीमा ४२,२०० व्यक्ति छन्।सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो। यो सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले पठाएको चिकित्साशास्त्रीरूको टोली बेइजिङ पुगेको छ।

सीले भेटे बिरामी

चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उपचार गराइरहेका स्वास्थ्यकर्मीहरूलाई सोमवार भेटेका छन्। तर उनी अहिलेसम्म हुबे गएका छैनन्।सीले उक्त भाइरस नियन्त्रण गर्न “थप निर्णायक उपाय” आवश्यक भएको टिप्पणी गरे। “यो प्रकोपलाई अन्तत: परास्त गर्न हामीसँग आत्मविश्वास हुनैपर्छ,” उनलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीनको स्थिति

हुबे प्रान्तको स्वास्थ्य आयोगले सोमवार १०३ जनाको मृत्यु भएको जनाएको छ। आइतवार मृत्यु हुनेको  सङ्ख्या ९७थियो। आयोगका अनुसार हुबेमा मात्र ३१,७२८ जना कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका बिरामी छन्। उक्त प्रान्तमा सोमवारसम्म मृत्यु हुनेको कुल सङ्ख्या ९७४ पुगेको छ।त्यहाँ बिरामीको मृत्युदर तीन प्रतिशत रहेको छ।

चीनभरि भने कुल मृतकको सङ्ख्या १,०११ पुगेको छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ।कोरोनाभाइरस सङ्क्रमणका कारण मारिएका मध्ये तीनचौथाइको मृत्यु उक्त सङ्क्रमण फैलिन सुरु भएको मानिएको वुहानमा नै भएको छ।

उक्त प्रकोप सुरु भएयता हप्तौँदेखि एक करोड १० लाख मानिस बस्ने उक्त सहर बन्दजस्तै छ।चिनियाँ नेतृत्वले प्रारम्भिक चरणमा प्रकोप ढाकछोप गर्न खोजेको आरोप लागेको छ। तर विश्व स्वास्थ्य सङ्गठनले चीनको प्रयासको प्रशंसा गरेको छ।

अन्यत्रको स्थिति

यूकेमा सोमवार थप चार जनामा कोरोनाभाइरस भेटिएको पुष्टि भयो। अहिलेसम्म त्यहाँ आठ जनामा उक्त भाइरस भेटिएको छ।सरकारले उक्त भाइरसका कारण “गम्भीर खतरा” उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

जापानमा क्वारन्टीनमा राखिएको एउटा पानीजहाजका थप ६५ यात्रुमा सङ्क्रमण भएको पाइएको छ। अर्थात् ३,७०० यात्रुमध्ये १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको छ।विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएको घोषणा गरिसकेको छ।

उक्त भाइरसबाट सङ्क्रमित मानिस नेपालसहित दुई दर्जनभन्दा बढी देशमा भेटिएको पुष्टि भएको छ।चीनबाहिर अहिलेसम्म फिलिपिन्स र हङ्‍कङमा एक-एक गरेर दुई जनाको मात्र मृत्यु भएको छ। भाइरस फैलिने आशङ्कामा दक्षिण कोरियाले क्रूजहरूलाई आफ्ना बन्दरगाहमा छिर्न अस्थायी प्रतिबन्ध लगाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस