आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका घोषणा गरिएको १७ दिनमै नयाँ कार्यतालिका सार्वजनिक

AuthorAP Khabar२०७६ फागुन १, बिहिबार (४ साल अघि) ३४० पाठक संख्या

फाल्गुन ०१ काठमाडौं

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका घोषणा गरिएको १७ दिनमै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

संघीयताअनुरुप पार्टीका संरचनाहरुको समायोजन नटुंगिएको जनाउँदै कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनको समय हेरफेर गरेको हो ।

कांग्रेसले गत माघ १३ मा ल्याएको कार्यतालिका अनुसार समायोजनका काम गरिसक्नुपर्ने भएपनि ७७ मध्ये १९ जिल्लाको मात्रै समायोजन सकिएपछि आगामी १५ फागुनसम्म समायोजनको म्याद थप गरेको छ ।

यसैगरी कांग्रेसले समायोजन सकाएका १९ जिल्लामा भने तत्कालै क्रियाशील सदस्यतावितरण प्रक्रिया अघि बढाउने भएको छ । बुधबारको केन्द्रीय कार्य समिति  बैठकबाट १६ फागुनदेखि चैतसम्म सदस्यता वितरणको समयावधि रहने कांग्रेसले निर्णय गरेको छ ।

कांग्रेसको नयाँ कार्यतालिका अनुसार वैशाखभित्र नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन गरी केन्द्रमा पठाउनुपर्ने, १५ जेठभित्र जिल्लास्तरिय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिनुपर्ने, जेठभित्र उजुरीउपर क्रियाशील सदस्यता प्रारम्भिक छनबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि तोकिएको छ ।

त्यसैगरी, १५ असारभित्र प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा छानबिन समितिमा उजुरी तथा पुनरावेदन गरिसक्नुपर्ने, १५ साउनभित्र त्यसमाथि समितिले निर्णय गरिसक्नुपर्ने, २५ साउनभित्र क्रियाशील सदस्यता र नवीकरण नामावलीको अन्तिम सूची तयार गरी सभापतिलाई बुझाइसक्नुपर्ने कांग्रेस बैठकको निर्णय छ ।

नेपाली कांग्रेसले ०७७ सालको १६ कात्तिकमा गाउँ र नगरवडा, १८ कात्तिकमा गाउँ र नगरपालिका, २१ कात्तिकमा प्रदेश सभा क्षेत्र, २३ कात्तिकमा एक प्रतिनिधिसभा क्षेत्र, २५ कात्तिकमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र, २९ मंसिरमा प्रदेश अधिवेशन र ७ देखि १० फागुनसम्म संघीय राजधानीमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको थियो । बैठकमा भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानका सैद्धान्तिक आधार तथा मापदण्ड एकरुपता निर्धारण समितिका संयोजक एन.पी. साउँदले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ र नेपाल दलित संघको विधानसमेत प्रस्तुत गर्नुभएको थियो ।

एक वर्ष नपुगेकालाई पनि क्रियाशील सदस्यता दिइने

नेपाली कांग्रेसले पार्टीको साधारण सदस्यता लिएको एक वर्ष नपुगेकालाई पनि सदस्यता दिने गरी विधान संशोधन गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा यसरी सदस्यता दिने विषयमा नेताहरुबीच सहमति भएको हो ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला लगायतले यसरी सदस्यता दिन नहुने भन्दै असहमति राख्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस