आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चीनको हुबेई प्रान्तबाट १ सय ७५ जना नेपाल घर फर्किए

AuthorAP Khabar२०७६ फागुन ४, आईतबार (४ साल अघि) २०८ पाठक संख्या

फाल्गुन ०४ काठमाडौं

 चीनको हुबेई प्रान्तबाट १ सय ७५ जना नेपाल घर फर्किएका छन् ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा १ सय ७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका छन् ।

नेपाली समयअनुसार करिब १० बजे उडेको विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो । कोरोना भाइरस रोग २०१९ (कोभिड १९) को संक्रमण चीनभर र अन्य दुई दर्जन मुलुकमा फैलिएपछि हुबेईमा रहेका १ सय ८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए।

तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेका छन्। अरू छ जना फर्कन पाएनन्। दूतावासका अनुसार चार जनामा ज्वरो देखिएकाले र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले उड्न नपाएका हुन्। घर फर्कने टोलीमा १ सय ३४ पुरुष र ४१ महिला छन्।

आफ्ना सन्तानलाई स्वदेश फर्काउनका लागि सरकारलाई दबाब दिन संघर्ष समिति बनाएर संघर्षरत विद्यार्थीका अभिभावकले राहतको सास फेरेका छन्। चिनियाँ समयअनुसार शनिबार बिहान हुबेई प्रान्तका विभिन्न सहरबाट वुहानको तियानहे अन्तर्राष्ट्रिय विमानस्थलसम्म नेपालीलाई ल्याउन नेपाली दूतावासले पाँचवटा बसको प्रबन्ध गरेको थियो।

हुबेईको चिङचौ, यान्स, सियान, यिछाङ, चिंमन र वुहानबाट विमानस्थलका लागि समय मिलाएर बसहरू छुटेका थिए।

उद्धारको पर्खाइमा रहेका नेपाली सुरुमा बसमा सवार हुँदा तथा दुई घण्टाको अन्तरालमा विभिन्न रिफ्रेसमेन्ट सेन्टरमा रोकिँदा स्वास्थ्य जाँच गरिएको थियो।

यो भाइरसको संक्रमणका कारण विश्वभरमा १ हजार ५ सय २७ जनाको मृत्यु भइसकेको छ भने ६७ हजार १ सय ९२ जना यसबाट संक्रमित भएको पुष्टि भएको छ। ८ हजार ५ सय ९४ जना भने संक्रमणको उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस