आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महागढीमाईका मेयरविरुद्ध स्थानीयको नाराबाजी, जिल्ला प्रशासन अगाडी प्रर्दशन

AuthorAP Khabar२०७६ फागुन ९, शुक्रबार (४ साल अघि) ३०९ पाठक संख्या

रामबाबु मेहता

कलैया  : बाराको महागढीमाई नगरपालिकाका स्थानीयले मेयर उपेन्द्र यादवको राजीनामाको माग गरेका छन् । छोराले विकासको सवालमा प्रश्न गर्दा बुबालाई चर्पीमा थुन्ने मेयरलाई कारवाहीको माग गर्दै बाराको सदरमुकाम कलैयामा बरियारपुरका स्थानीयले प्रदर्शन गरेका छन् ।

मेयर यादव बिरुद्ध बिहीबार जाहेरी दिन पुग्दा उल्टै कुटिएका छोरा मुकेश कुशवाहामाथि मेयरका समर्थक तथा नगर प्रहरीले कुटपिट गरेपछि शुक्रबार कलैयामा स्थानीयले मेयरविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

बाराको कलैयास्थित कुशवाहा भवन नजिकबाट शुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बारामा पुगेको थियो । विभिन्न नाराहरु लेखिएका ब्यानर तथा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका स्थानियहरुले महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको राजिनामाको माग गर्दै कारवाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

बारा क्षेत्र नं. ३ का सांसद रामबाबु कुमार यादव, क्षेत्र नं. २ को सांसद रामसहाय यादव, प्रदेशसभा सदस्य बच्चा यादव, शारदाशंकर साह, बच्चा यादव राजपा नेता तथा गढीमाई मन्दिर तथा संचालक समितिका अध्यक्ष रामचन्द्र साह, उपाध्यक्ष बिसनाथ कुशवाहा, कोषाध्यक्ष महेश जयसवाल नेकपाका प्रदेश २ का सदस्य जितेन्द्र तिवारी लगायतले स्थानीयहरुको सो प्रदशर्नमा ऐक्यबद्धता जनाउदैं अभद्र व्यवहार गर्ने मेयर र कुटपिटमा सहभागीमाथि कारवाही माग गरेका छन् ।

नाराबाजासहित जिल्ला प्रशासन कार्यालय बारा पुगेका जनप्रतिनिधि तथा स्थानीय अगुवाहरुसँग बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले छलफल गरेका छन् ।

छलफलमा प्रहरी उपरीक्षक कृष्ण प्रसाद पँगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी लगायतको उपस्थिति थियो । छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले मुकेश कुशवाहामाथि आक्रमण गर्नेको पहिचान गरी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

घटनाको छानबिन गरी कारवाही प्रक्रिया अघि बढाउन प्रजिअ पोखरेलले प्रहरी उपरीक्षक पँगेनीलाई निर्देशन दिएका छन् । यद्यपि, घटनामा निर्देशन दिएका मेयर विरुद्ध कारवाहीको माग गर्दै जिल्ला पुगेका स्थानीयहरु भने निराश भएका छन् ।

हालसम्म प्रहरी प्रशासनले एक जनालाई पनि पक्राउ गर्न नसक्नु र मेयरलाई कारवाहीको दायरमा ल्याउने विषयमा कुनै चासो नदिदाँ मेयरको संरक्षणमा प्रशासन लागेको हो कि भन्ने शंका उत्पन्न भएको पिडितका परिवारजनले बताएका छन् ।

आक्रमण संलग्न ६ जना आरोपीविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा फाँटका प्रहरी निरीक्षक विरेन्द्र ठाकुरले बताउनुभयो । शुक्रबार सार्वजनिक बिदा परेकाले आरोपी विरुद्ध मुद्दा दर्ता नभएको हुदाँ आइतबार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाउने प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनुभयो ।

महागढीमाई नगरपालिकाको वडा नं. २ मैनी टोलमा भइरहेको विकास निर्माणमा स्थानीयले असन्तुष्टि जनाएपछि छलफल गर्न पुगेका मेयर यादवको भिडियो खिचेर फेसबुकमा अपलोड भएपश्चात आक्रोसित मेयरले मुकेश कशवाहाका बुबा महेन्द्र कुशवाहालाई चर्पीमा थुनेर कुटपिट गरेको भन्ने घटना सामुन्ने आएको छ ।

घटनाले उग्ररुप लिएपछि पिडित तथा स्थानीय, राजनैतिक दलका प्रतिनिधि र सामाजिक अगुवाहरुले जनप्रतिनिधि भएर संयमता नअपनाउँदा दुःखद घटना भएको भन्दै दुख व्यक्त गरेका छन् ।

घाइते मुकेशलाई प्रहरीको सहयोगमा उपचारको लागि कलैया असपतालमा लगिएको थियो त्यहा उपचार पुरा हुन नसके पछि नेशनल मेडिकल बिरगंज रेफर गरियो त्यहाँ पनि उनको अवस्था समान्य नभएपछि काठमाडौं स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

कुशवाहाको टाउको, छाती र पेटमा गम्भीर चोट लागेको छ । यता मुकेशलाई कुटिरहेको देखेपछि आर्कोशित स्थानियले प्रतिकार गर्दा मेयरका चालक साहेबप्रसाद यादव, स्वकीय सचिव साजन गुप्ता र यी दुवैका अर्का साथी धीरेन्द्र लहेरालाई चोटपटक लागेको छ । उनीहरुको वीरगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस