आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तस्करीको ३६ तोला सुन १६ प्रहरीले बाँडे

AuthorAP Khabar२०७६ फागुन १५, बिहिबार (४ साल अघि) २६७ पाठक संख्या

फाल्गुन १५ काठमाडौं

तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी रसुवा टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।

निलम्बनपछि उनीहरूलाई हिरासतमै लिएर अनुसन्धान अघि बढाउने आयोगको तयारी छ। अख्तियारले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई निलम्बन गर्न पत्राचार गरेको हो।

प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि बढाएको हो। ती प्रहरी बहाल रहँदा आफ्नो विरुद्धको प्रमाण नाश गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउने सक्ने भएकोले प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको आयोगले जनाएको छ।

प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठलाई पनि निलम्बन गर्न आयोगले पत्राचार गरेको छ। उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको छ ।

सीमा प्रहरी कार्यालयमा ३७ जना प्रहरीको दरबन्दी रहेकोमा तस्करीको सुन बरामद भएको दिन ड्युटीमा रहेका सबै प्रहरी मिलेर लिएका हुन् ।

सो चौकीमा हाल थप प्रहरी पठाइएको छ। गत ११ पुसमा केरुङबाट नेपाल आउँदै गरेका सवारी जाँचका क्रममा ना ६ ख ४९३२ नम्बरको कन्टेनरमाथि प्रहरीले खानतलासी गर्ने क्रममा चालक फुर्वा तामाङको साथबाट चार सय २२ ग्राम सुन बरामद गरेको थियो । जुन सुनको बजारमूल्य हाल करिब २८ लाख रुपैयाँ पर्छ ।

तर, बरामद गरिएको सुन कानुनी प्रक्रियाका लागि चालकलसहित विभागमा बुझाउनुपर्नेमा तामाङलाई छाडि ती प्रहरीले आपसमा बाँडफाँट गरी लिएका थिए ।

बरामद सुन उनीहरुले काठमाडौंको सुन पसलमा बिक्री गरेर पैसा बाँडेर लिएका हुन् । सुन तस्करीमा संलग्न गिरोह,तस्करीको सुन किन्ने व्यापारीमाथि समेत छुट्टै अनुसन्धान भईरहेको छ ।सभार जनता समचार

प्रतिक्रिया दिनुहोस