आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय नोटमा प्रतिबन्धका कारण जनजीवन प्रभावित

AuthorAP Khabar२०७५ पौष ९, सोमबार (५ साल अघि) ५२५ पाठक संख्या

भैरहवा पुष ९ : सरकारले भारतीय २ सय, ५ सय र २ हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसले जनजीवनमा प्रत्यक्ष असर पारेको छ । भारतीय नोट प्रतिबन्धले उद्योगी–व्यवसायी मात्रै होइन, पर्यटन क्षेत्रसहित कामदार समेत प्रभावित भएका छन् । व्यवसायीले निर्णय राम्रो भए पनि हतारमा गरिएको टिप्पणी समेत गरेका छन् ।

रुपन्देहीका सीमा क्षेत्रमा अहिले भारतीय रुपैयाँ सटही गर्नेको घुइँचो छ । भन्सार नाका भएकाले भारतबाट सामान बोकेर नेपाल आउने मालबाहक सवारीलाई दिन भारु पैसा यहाँका व्यवसायीसँग छैन । भारतमा काम गरेर फर्कने नेपाली र नेपालमा काम गरेर फर्कने भारतीय नागरिक प्रत्यक्ष मारमा छन् । बेलहिया हुँदै स्थलमार्गबाट आउने पर्यटक झनै समस्यामा छन् ।

नेपाल राष्ट्र बैंकले पनि व्यवसायीको आवश्यकताअनुसार भारु पैसा दिएको छैन । भारु नोट प्रतिबन्धपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । यहाँका व्यवसायीहरुले सरकारको निर्णय दूरदर्शी भए पनि हतारमा गरिएको टिप्पणी गरेका छन् । नोट प्रतिबन्धले राष्ट्रलाई पुग्ने थुप्रै फाइदाहरु भए पनि एकाएक सबै क्षेत्रमा प्रभाव पार्ने किसिमले निर्णय गर्नु राम्रो नभएकोले यसलाई सच्याउनुपर्ने व्यवसायीको माग छ ।

नेपाल–भारत दुई छुट्टाछुट्टै मुलुक भए पनि खुल्ला सीमानाका कारण सहजै ओहोरदोहोर गर्न मिल्ने भएकाले सीमावर्ती क्षेत्रमा अन्य त्यस्तो अप्ठ्यारो हुँदैन । दुबै देशका नागरिक एकअर्काको देशमा सहजै आवतजावत गर्छन् । त्यसैले यहाँ भारतीय रुपैयाँ दैनिक प्रचलनमा अत्यधिक आउँछ ।

तर, सरकारले भारतीय ठूला नोट प्रतिबन्ध लगाएपछि यहाँका होटलमा वास बस्न तथा अस्पतालमा उपचार गर्न आउने भारतीय नागरिकहरु फर्किन थालेका छन् । मनिचेञ्जर व्यवसायीहरुले सरकारले अन्य मुलुकको जस्तै यहाँ पनि विकल्प दिनुपर्ने बताएका छन् ।

सरकारले नोटमा रोक लगाएपछि रुपन्देही प्रहरीले पनि प्रतिबन्धित भारतीय रुपैयाँको कारोबार नगर्न आग्रह गरेको छ । प्रहरीले प्रतिबन्धित पैसाको कारोबार गरेमा कारबाही गर्ने जनाएको छ । नोट प्रतिबन्धको मौका छोपेर केही सटही काउण्टरहरुले मनोमानी समेत गर्न थालेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार सहटी काउण्टरहरुले एकसय रुपैयाँ भारु साँट्दा ४० पैसा बट्टा लिन पाउँछन् । तर, भैरहवा क्षेत्रका व्यवसायीले भने मान्छे हेरेर २ देखि ५ रुपैयाँसम्म बट्टा लिने गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस