आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महामूर्खको उपाधि मुख्यमन्त्री राउतलाई

AuthorAP Khabar२०७६ फागुन २६, सोमबार (४ साल अघि) ५७६ पाठक संख्या

फाल्गुन २६ जनकपुरधाम :

जनकपुरधाममा विगत १५ वर्षदेखि मिथिला नाट्यकला परिषद (मिनाप) ले होली पर्वको पूर्व सन्ध्यामा आयोजना गर्दै आईरहेको होरी महोत्सव एवं महामुर्ख सम्मेलनमा यस वर्षको महामुर्खको उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरिएको छ ।

प्रदेशको सामाजिक रुपान्तरणका लागि मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा विमा, दलित र महिलाको लागि आरक्षणको व्यवस्था जस्ता उठाएको कदमका लागि उनलाई महामुर्खको उपाधी प्रदान गरिएको मिनापले जनाएको छ ।

उनलार्ई प्रशस्ती पत्र, फर्सीको टोपीबाट शुशोेभित गरी सम्मान गरिएको छ । महामुर्खको उपाधि पाएपछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यो क्षण आफ्नो लागी अविस्मरणीय रहेको बताए । उनले भने, ‘आजसम्म म कहिंपनि यस्तो शैलीको कार्यक्रममा सहभागि भएको थिईन् । महामूर्खको उपाधि पाएर आफू गौरवान्वित भएको छु ।’

हास्य ठठ्यौलीका साथ आयोजित सो सम्मेलनमा भभकौवाको उपाधी प्रदेशसभा सदस्य परमेश्वर साह, पटमुर्खको उपाधी प्रदेशसभा सदस्य मनिष सुमन, हराशंखको उपाधी प्रदेशसभा सदस्य राम आशिष यादव तथा विलौर शंकरको उपाधी प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले पाएका छन् ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रलाई टुनमुसरी, साहित्यकार रोशन जनकपुरीलाई बेलगोबना, बृहतर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, महोत्तरीको पिपरा गाँउपालिकाका अध्यक्ष विक्रम चौधरीलाई खापसुरत, जनकपुरधामस्थित संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम साहलाई बज्रकिट, साहित्यकार पुनम झा मैथिलीलाई अदल बदली, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीलाई घरघुसना,नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर र युवा अभियन्ता सुशील कर्णलाई वंशकुरहैर लगायतका हाँस्यास्पद उपाधी प्रदान गरिएको छ ।

मिनापले यस वर्ष कोरोनालाई मध्यनजर गर्दै कार्यक्रमस्थलमा उपस्थित सबैलाई मास्क वित्तरण गरेको थियो । सो सम्मेलनमा सहभागी कवि तथा कवियत्रीहरु विजय दत्त मणि, रोशन जनकपुरी, काशीकान्त झा, सरोज मिश्र, पूनम झा मैथिली, अशोक दत्त, किरण झा रश्मी लगायतकाहरुले आ–आफ्नो कविताको माध्यले विभिन्न विषयवस्तु माथि कटाक्ष गरेका थिए ।

यसअघि मिथिला नाट्यकला परिषद (मिनाप) ले २०६१ सालमा कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा सदभावना नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६६ मा नेकपाका नेता रामचन्द्र झा,२०६७ मा राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा पूर्वसभासद डा.विजयकुमार सिंह,२०७१ मा नेकपाका नेता शत्रुधन महतो,२०७२ मा समाजसेवी पवन सिंघानिया,२०७३ मा मधेश आन्दोलनका कारण कार्यक्रम स्थगित गरिएको थियो भने २०७४ मा राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लाल र २०७५ सालमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

मिथिला नाट्यकला परिषद (मिनाप)ले भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरण, राजनीति जस्ता विधामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष होलीको अवसरमा आयोजत कार्यक्रममा महामुर्खको उपाधी प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस