आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रासैत्रासका बीच भोलिदेखि एसइई परीक्षा

AuthorAP Khabar२०७६ चैत्र ५, बुधबार (४ साल अघि) ६६० पाठक संख्या

चैत ०५ काठमाडौं : भोलि (बिहीबार) अर्थात् चैत ६ गतेबाट शुरु हुने माधयमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पु-याउने, केन्द्राध्यक्षको नियुक्ति लगायतका सबै तयारी सकिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । सबै जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण कार्यक्रमसमेत सकिएको छ ।

यस पटकको परीक्षामा जम्मा चार लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुने जानकारी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दिएको छ ।

यिनमा छात्रतर्फ दुई लाख ३९ हजार ९१ जना र छात्रातर्फ दुई लाख ४३ हजार ६१६ जना परीक्षार्थी हुनेछन् । परीक्षामा छात्रको तुलनामा छ हजार बढी छात्रा सहभागी हुनेछन् ।

परीक्षा साधारण विषयतर्फ चैत १४ र प्राविधिक विषयतर्फ १७ गते सकिने कार्यतालिका छ ।

यसपटकको परीक्षाका लागि एक हजार ९ सय ९५ वटा परीक्षा केन्द्र तय गरिएको छ । जसअनुसार प्रदेश १ मा ३ सय ७५, प्रदेश २ मा २ सय ६६, बाग्मती प्रदेशमा ४ सय २१, गण्डकी प्रदेशमा २ सय २०, प्रदेश ५ मा ३ सय २६, कर्णाली प्रदेशमा १ सय ७६ र सुदूरपश्चिममा २ सय ११ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ । सातै प्रदेशको तुलनामा सबैभन्दा धेरै परीक्षा केन्द्र बाग्मती प्रदेशमा रहेको छ ।

यस वर्ष विश्वव्यापीरुपमा फेलिएको कोरोनाभाइरसको त्रासका बीच एसइई परीक्षा हुने भएको छ ।

विद्यार्थीहरुलाई मानसिक रुपमै परीक्षाका लागि तयार बनाउन तथा भयरहित हिसाबले परीक्षा सञ्चालन गर्न सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिएपनि यस वर्षको एसइई परीक्षा भने त्रासैत्रासका बीच हुने देखिएको छ । यसका लागि प्रदेश तथा स्थानीय सरकार सितको समन्वयमा काम भएको छ ।

स्वास्थ्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । बिरामी अवस्थाका विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुपर्ने अवस्था आएमा सबै परीक्षा केन्द्रमा अलग्गै कोठाको व्यवस्था गर्न केन्द्राध्यक्षहरूलाई निर्देशसमेत गरिएको छ ।

यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भयरहित वातावरणमा एसइई परीक्षामा सहभागी हुन सबै विद्यार्थीमा आह्वान गरेका छन् ।

हिजो (मंगलबार) सार्वजनिक अपिल जारी गर्दै मन्त्री पोखरेलले चैत ६ गतेबाट १७ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुन सबैमा आह्वान गरेका हुन् ।

उनले परीक्षा केन्द्रमा विद्यार्थीलाई निर्बाध रूपमा परीक्षा लिने वातावरण बनाउन र अनावश्यक भीभाडसमेत नगर्न अभिभावकलाई समेत आग्रह गरेका छन् ।

हालको अवस्थामा कोरोनाभाइरसको संक्रमणबाट आतंकित हुन नपर्ने र ७ सय ५३ वटै स्थानीय तहलाई सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्न आग्रह गरिएको मन्त्रीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस