आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतबाट फर्कनेहरूको भिडमा थिए कोरोना संक्रमित

AuthorAP Khabar२०७६ चैत्र २३, आईतबार (४ साल अघि) १०५६ पाठक संख्या

चैत २३ धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगेको छ । शनिबार थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यसअघि गत साता दुबईबाट फर्केका धनगढीका एकजनामा कोरोना संक्रमण देखिएको थियो । विदेशबाट संक्रमित भएर आएकाबाट अन्यमा सरेको पहिलो केस पनि यहीँ देखिएको छ ।

संक्रमण देखिएका तीनजनामध्ये दुईजना भारतबाट फर्केका हुन् । उनीहरू लकडाउनकै समयमा भारतबाट स्वदेश फर्किने सयौँको भिडमा लामो समय नाकामा थुनिएको खुलेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय संक्रमित युवा १२ चैतमा भारतबाट घर फर्किरहेका अन्य एक हजारजनासँगै झन्डै २४ घन्टा धनगढीको त्रिनगर नाकामा रोकिएका थिए ।

लकडाउनको समयमा ११ चैतको बेलुकीबाट त्रिनगर नाकामा पुगेकालाई प्रहरीले दोस्रो दिन रातिसम्म नाकामा रोकेर राखेको थियो । स्थानीय प्रशासनले बसको व्यवस्था गरेर सीमामा रोकिएका ती युवासँगै अन्य नौ सय ९९ जनालाई १२ चैतको राति गन्तव्यमा पठाएको थियो । संक्रमित युवा भारतबाट फर्केका लम्की क्षेत्रका अन्य स्थानीयसँगै १२ चैतको राति १० बजे बस चढेर गन्तव्य पुगेका थिए ।

स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै नाकामा रोकिएकाहरूले १२ चैतको बिहान त्रिनगर नाकामा नाराबाजीसमेत गरेका थिए । उनीहरूले ढुंगामुडा प्रहार गर्न थालेपछि रोक्न प्रहरीले बल प्रयोग गर्नुपरेको थियो भने केही भाग्दै मोहना नदी तरेर धनगढी पुगेका थिए ।

सोही भिडमा ती संक्रमित युवा पनि थिए । उक्त दिन नाकामा रोकिएका कैलालीका दुई सय ९१ जनामध्ये लम्की, टीकापुर क्षेत्रकालाई चारवटा बसमा राखेर पुऱ्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

संक्रमित युवा चढेको बसका अन्य यात्रुको पनि पहिचान गरेर खोजी थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । प्रहरीका अनुसार फर्केको दिन राति घर गएका ती युवा दोस्रो दिन बिहानबाट स्थानीय सरस्वती माविमा बनाइएको क्वारेन्टाइनमा अन्य ४४ जनासँगै बसेका थिए ।

मुम्बईबाट नाकासम्म र नाकाबाट घरसम्म उनीसँग सम्पर्क भएर फर्किएका व्यक्ति तथा उनको सम्पर्कमा आएका परिवारका सदस्यको पहिचान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै संक्रमण भेटिएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय एक व्यक्ति पनि समूहमै स्वदेश फर्किएको खुलेको छ । कोरोना संक्रमण फैलिन नदिन भारतमा २१ दिन लामो लकडाउनले कामकाज बन्द भएपछि उनीसँगै ११ जना नेपाल फर्किएका प्रहरीले जनाएको छ । उनी एक महिनाअघि मात्रै भारतको उत्तराञ्चल प्रदेशको चम्पावतमा मजदुरी गर्न गएका थिए ।

लकडाउनकै समयमा सीमा बन्द भएकाले उनीहरू अवैध रूपमा नेपाल भित्रिने क्रममा समातिएका थिए । सशस्त्र प्रहरीको टोलीले भीमदत्त नगरपालिका– ९, ब्रह्मदेव क्षेत्रबाट उनीसँगै ११ जनालाई नियन्त्रणमा लिएर वेदकोट नगरपालिका– ९ सुन्दरपुर कृषि भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखेको थियो ।

लकडाउन तोड्दै नेपाल प्रवेश गरेका ११ जनालाई सीधै क्वारेन्टाइनमा लगिएको सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बताए । संक्रमितसहितका ११ जनालाई पक्राउ गरेर ल्याउने सशस्त्र प्रहरीको समेत स्वास्थ्य परीक्षण गरिने प्रहरी उपरीक्षक साहुले बताए ।

सुन्दरपुर कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा संक्रमितसँगै आएका ११ सहित १३ जना बस्दै आएका थिए । घर फर्कने क्रममा उनी थुप्रैको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस