आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दरबारमा षड्यन्त्रको सिकार भएकी गायिका

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ४६२ पाठक संख्या

काठमाडौं , पुष १० : गायिका मेलवादेवी बोल्न जान्ने भएदेखि नै औधी मिठो गीत गाउँथिन् । घरपरिवार मात्र होइन, विसं १९५६ मा ओखलढुंगामा जन्मेकी मेलवादेवीको विलक्षण प्रतिभा देखेर छक्क पर्थे । कोकिल कण्ठ दरबारमा गुञ्जाउने उद्देश्य बोकेर आमा र दिदी १९६५ तिर काठमाडौं पसे । ९ वर्षकी बालिकाको मीठो गीत गाउने कलादेखि चन्द्र शमशेर प्रभावित भए र देशको बाघडोर सिंहदरबारबाट उनको औपचारिक संगीत यात्राले गति लियो ।

त्यसयता, मेलवादेवीको आवाज श्री ३ चन्द्र शमशेरका दरबारमा गुन्जिन थाल्यो । शुरुवातीका दिनमा चन्द्र शमशेर मात्र होइन, चन्द्र शमशेरकी पत्नी बालकुमारी देवीबाट पनि बक्सिस र स्याबासी पाइन् । चन्द्र शमशेर दिनप्रतिदिन मेलवादेवीको कोकिल कण्ठको नशामा डुब्न थाले ।

मेलवादेवीको कोकिल कण्ठलाई विराट स्वरुप प्रदान गर्ने हेतुले चन्द्र शमशेरले ख्यातिप्राप्त उस्ताद बालाप्रसाद शर्मालाई शास्त्रीय गायनमा गुरूका रुपमा दरबार भित्र्याए । शास्त्रीय संगीत सिक्न थालेपछि मेलवादेवीले हरेक विधाका गीत उत्तिकै कुशलतापूर्वक गाउन थालिन् । उनको स्वरको नशामा लठ्ठ परेर चन्द्र शमशेर बारम्बार मेलवादेवीलाई धाप मार्थे । तर बालकुमारीदेवीलाई मेलवादेवीसँग चन्द्रको सामीप्यता मन परिरहेको थिएन अनि दरबारभित्रै मेलवादेवीको इष्र्या गर्नेको ताँती बढ्दै गयो ।

चन्द्र शमशेरकी पत्नी बालकुमारीको इशारामा मेलवादेवीलाई पानमा सिन्दुर राखेर खुवाइयो र कोकिल कण्ठमा हमला गरियो । त्यसपछि उनको स्वर बिग्रँदै गयो र त्यो घटनापछि चन्द्र शमशेर अत्यन्तै दुःखी भए । षड्यन्त्रको भूसमा इष्र्याका आगो सल्किँदै गयो र मेलवादेवीलाई दरबारबाट निस्कन बाध्य तुल्याइयो । एउटा कोकिल कण्ठको गुञ्जन र अस्तित्व नामेट पारियो ।

दरबारबाट निस्केपछि मेलवादेवीको तबलाबादक भक्तकृष्ण मानन्धरसँग बिहे भयो । भक्तकृष्णसँग उनको दाम्पत्य जीवन सुखमय बन्न सकेन र उनी जन्मिएका दुई नाबालक सन्तान च्यापेर रेलमार्ग हुँदै कोलकाता लागिन् । कोलकाता पुगेपछि यात्राका अनुभव संगालेर उनले ‘सवारी मेरो रेलैमा’ गीत लेखिन्, आफैँ संगित भरिन र गाइन् पनि ।

त्यसबेलासम्म नेपाली महिलाले गाएको गीत औपचारिक रेकर्ड भएको थिएन । आधुनिक गीतको इतिहासमा मेलवादेवी पहिलो महिला नेपाली गायिका हुन् । १९८५ मा पहिलोपटक भारतको कोलकातामा ‘सवारी मेरो रैलैमा’ बोलको गीत उनको आवाजमा रेकर्ड भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस