आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘अधिकार र कर्तव्यको सन्तुलनले गणतन्त्रलाई सार्थक तुल्याउँछ’

AuthorAP Khabar२०७७ जेष्ठ १५, बिहिबार (३ साल अघि) ४०७ पाठक संख्या

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताउनुभएको छ । प्रधानमन्त्रीले १३ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय तथा महान् उत्सवको दिन भएको स्मरण गर्नुभएको छ ।

‘गणतन्त्र गणहरुमार्फत अर्थात् जनतामार्फत जनताको तन्त्र हो । जनतालाई केन्द्रविन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो’ उहाँले भन्नुभएको छ, ‘संविधान र कानूनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन ।’

प्रधानमन्त्रीले गणराज्य नेपाली समाजको मौलिक प्रणाली हो भन्दै तर विभिन्न समयमा यो प्रणाली भत्किएको उल्लेख भएको छ । ‘सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरु स्थापित हुने, उनीहरुको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरुको हुकुम नै कानून हुने चरम अलोकतान्त्रिक प्रणालीहरु स्थापित र विकसित हुँदै गए’ प्रधानमन्त्रीले भन्नुभएको छ, ‘ झण्डै २ हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेका छौँ, र विकास गरेका छौँ ।’

प्रधानमन्त्रीले हाल नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ताको अन्त्य भइ जनताले निर्वाचित गरेका प्रतिनिधिद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित रहेको संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकांक्षा प्रतिविम्बित भएको जनाउनु भएको छ ।

‘गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलब्धि गौरवपूर्ण र दूरगामी महत्वका छन् । तर यिनै उपलब्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन’ उहाँले शुभकामनामा भन्नुभएको छ, ‘यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ र लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका ३ वटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेका छौं ।’

प्रधानमन्त्रीले सन्देशमा ‘गणतन्त्र शासन प्रणाली मात्रै नभइ नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि भएको र गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली हो’ भन्नुभएको छ । ‘त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेद ग्राह्य र सह्य हुन नसक्ने सन्देशमा उल्लेख छ । प्रधानमन्त्रीले सन्देशमार्फत गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुन नसक्ने स्पष्ट गर्नुभएको छ । कोरोना महामारीले आक्रान्त भएका बेला सिङ्गो मुलुक एकतावद्ध भइ जनताको सुख र समृद्धि तथा स्थिरताका लागि केन्द्रित हुन सन्देशमा आव्हान गरिएको छ ।

 

 

साभार जनता समाचार

प्रतिक्रिया दिनुहोस