आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘गणतन्त्र दिवसले राष्ट्रिय संकल्प हासिल गर्ने उर्जा प्रदान गरोस’

AuthorAP Khabar२०७७ जेष्ठ १५, बिहिबार (३ साल अघि) ३७४ पाठक संख्या

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुहुँदै गणतन्त्र दिवसले साझा राष्ट्रिय संकल्प हासिल गर्ने उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गणतन्त्रलाई थप सुदृढ तुल्याउन सबैमा आह्वान गर्नुहुँदै राष्ट्रपति भण्डारीले गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका राजनीतिक दल, नेता, कार्यकर्ता र आम जनताको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘यो ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस।’ अपार जनसहभागितामा ऐतिहासिक जनआन्दोलनबाट स्थापित जननिर्वािचत पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको स्मरण गर्दै राष्ट्रपतिले यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिले गणतन्त्र दिवस मनाउन असहज भएको बताउनुभएको छ । ‘यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणमा एकजुट हुन प्रेरणा दिने विश्वास लिएको छु’ शुभकामना सन्देशमा उल्लेख छ।

सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्‍याउने पूर्वजहरुको योगदानलाई पनि राष्ट्रपति भण्डारीले स्मरण गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले पूर्वजको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन पनि सबैलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपतिले भन्नुभएको छ, ‘निकै लामो संक्रमणकाल पश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेशमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ(आफ्नो क्षेत्रबाट सबैले योगदान पुर्‍याउनु पर्छ ।’

कोरोना भाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने र गणतन्त्र स्थापनामा आहुति दिने ज्ञातरअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै राष्ट्रपतिले शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गर्नुभएको छ । राष्ट्रपतिले कोरोना संक्रमित बिरामीहरुको स्वास्थ्यलाभको पनि कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस