आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ मा भद्रगोल क्वारेन्टिन, त्यहीँबाट सर्न थाल्यो कोरोना

AuthorAP Khabar२०७७ जेष्ठ १७, शनिबार (३ साल अघि) ३७८ पाठक संख्या

जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या ५४७ पुगिसकेको छ । हरेक दिन थपिने संक्रमितको संख्यामा प्रदेशका आठ जिल्लाकै ठूलो हिस्सा हुन्छ । यसरी थपिने अधिकांश संक्रमितहरु भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरु छन् ।

अहिले पनि प्रदेशभरका क्वारेन्टिनमा १८ हजार बढी छन् । तर न्यूनमत मापदण्ड नै नपुगेको क्वारेन्टिन स्थल नै कोरोना संक्रमण फैलिने अखडा बन्दै गएको छ ।

सप्तरीको डाक्नेश्री नगरपालिकाका चार सामुदायिक विद्यालयलाई क्वारेन्टिन स्थल बनाइएको छ । वडा नम्बर ५ पातोस्थित कन्तचन्द्र मावि, वडा नम्बर १ स्थित कविलासा मावि, वडा नम्बर ८ स्थित आधारभूत विद्यालय गम्हरिया प्रवाहा र वडा नम्बर ६ स्थित इस्लामियाँ वीपी प्राविलाई क्वारेन्टिन बनाइएको छ ।

कन्त चन्द्र मावि पातोमा १०७ जना छन् । तर उनीहरुलाई सुत्ने राम्रो व्यवस्था समेत छैन । कक्षाकोठाका डेस्क, बेञ्चमै बस्ने र सुत्ने गर्नु परेको छ । ‘खानेपानीको सुविधा छैन’ क्वारेन्टिनमा बसेका एकले भने, ‘‘बेन्चमै खान्छु, बेन्चमै सुत्छु । झुल पनि छैन ।’ उनीहरुलाई बिहान चिया बिस्कुट दिइन्छ भने खानाका लागि नगरपालिकाले दैनिक ३५० रुपैयाँका दरले नगद उपलब्ध गराएको छ ।

भद्रगोल क्वारेन्टिनको अर्को नमुना हो, सप्तरीकै बोदे बर्साइन नगरपालिका ५ स्थित चन्द्र मावि ।

यहाँ शनिबारसम्म ९१ जना छन् । क्वारेन्टिनमा बसेका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तर सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन बेड अभाव भएकाले संक्रमितलाई पनि यही राखिएको छ ।

यद्यपि उनीहरुलाई छुट्टै कोठामा राखिएको क्वारेन्टिन प्रमुख ऐयुब राइन बताउँछन् ।

यो यही क्वारेन्टिन हो, जहाँ १५ जेठमा एकै पटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये एक युवक पछिल्लो साता मात्र बझाङबाट आएका थिए । बझाङबाट आएका दुई जनालाई भारतबाट आएकाहरुसँगै राखिएको थियो । उनीहरु मध्ये ३० वर्षीय युवकमा संक्रमण देखिएको हो ।

बझाङबाट आएका युवक क्वारेन्टिन स्थलमै संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य प्रमुख समेत रहेका राइनले पनि क्वारेन्टिनमा बसेकाहरुले सामाजिक दुरी कायम नगर्ने तथा एकैठाउँमा घुलमिल भएर बस्ने गरेका कारण संक्रमण सरेको हुनसक्ने बताए ।

अन्यत्र पनि क्वारेन्टिन स्थलमा न्यूनतम मापदण्ड समेत पूरा नहुँदा संक्रमण सरेको पाइएको छ । बाँकेको नरैनापुर त्यसको उदाहरण हो । त्यहाँ कोरोनाका कारण एक जनाको मृत्यु भइसकेको छ भने एक सयभन्दा बढी संक्रमित छन् ।

तर प्रदेश २ मा अधिकांश जिल्लाका स्थानीय तहका क्वारेन्टिन स्थलको अवस्था पनि उस्तै छ ।

सिरहाको बरियारपट्टी र औरही गाउँपालिकास्थित क्वारेन्टिन दैनिक रुपमा फोहोर बन्दै गएको छ । बरियारपट्टी–३ स्थित जनता माध्यमिक विद्यालयका क्वारेन्टिनमा ६८ जना छन् भने औरहीले स्थानीय विद्यालयमा ५५ जना बसिरहेका छन् ।

क्वारेन्टिनमा बसेकाहरुका लागि प्लाष्टिकको झोलामा खाना प्याकिङ्ग गरेर पुर्‍याउने गरेको छ । खाना, नास्ता र चिया प्याकिङमा प्रयोग भएको कागज तथा प्यास्टिक यत्रतत्र फलिएको छ भने खानेपानी र शौचालयको समेत राम्रो व्यवस्था छैन ।

जबकी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी २०७६ सम्भव भए शौचालयसहित छुट्टै कोठा र त्यो नभए न्यूनतमप्रति कोठा अधिकतम तीन जनाको दरले राख्नुपर्ने, ६ जनाका लागि एउटा साझा शौचालय र स्नान गृह भएको हुनुपर्ने, विद्युत, पानी लगायतका आधारभूत सेवा हुनुपर्ने भनेको छ ।

प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटबीच न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने, ओढ्ने, ओछ्याउने र आवश्यक्ता अनुसार झुलसहित खाट, फोहोर फाल्ने डस्टबिन उपलब्ध गराउनुपर्ने मापदण्डमा छ ।

गर्भवती महिला, १० वर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्राथमिकता दिई अलग्गै क्वारेन्टिन व्यवस्था गर्ने र स्वस्थ्य खाना र शुद्व पिउने पानीको व्यवस्था गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीलाई आवश्यताअनुसार खानाको व्यवस्था गर्नुपर्छ ।

मापदण्डमा सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख रहने अनुगमन समिति बनाउने भनिएपनि न कसैले अनुगमन गरेको छ, न चासो नै दिएका छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरे क्वारेन्टिन सम्बन्धी मापदण्डले निर्देश गरेका बिषयहरु अनुशरण नगरिए थप समस्या आउनसक्ने बताउँछन् । ‘कोरोनाको जोखिम न्यूनिकरणका लागि सबै क्वारेन्टिनलाई व्यवस्थित गर्नु जरुरी छ’ उनी भन्छन्,‘ शौचालयदेखि फोहोर व्यवस्थापन, सेनिटाइजरहरुको व्यवस्था राम्रोसँग नभए जोखिम बढ्न सक्छ ।’

साभार अनलाईन खबर

प्रतिक्रिया दिनुहोस