आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नयाँ सडक अनि नयाँ शहर

AuthorAP Khabar२०७७ जेष्ठ १८, आईतबार (३ साल अघि) ११२१ पाठक संख्या

नवराज जोशी
कीर्तिपुर, काठमाण्डौ

सुखी हुनका लागी आर्थिक समृद्धी पहिलो अनि महत्वपुर्ण कुरा हो।देशभित्र प्रशस्त मात्रामा काम नपाउनु जसले गर्दा आफ्नो अनि परिवारको आकांक्षा आपुर्ति गर्न नसक्नुले सिर्जित गरिबि र सोको कारणले विरक्त भएर कतिपय मानिसहरु आफ्नो जन्मथलो छोड्दछन्, देश छोड्दछन्। तिनिहरुमध्ये केही आफ्नै देश नेपालको नयाँ सडक भएको नयाँ शहर सम्म भने पुग्नैपर्ने ठान्दा रहेछन् र पुग्दा रहेछन् पनि।

नयाँ सडक:

नयाँ सडक नेपालको राजधानी काठमाण्डौमा रहेको एउटा बजार हो। यो एक धेरै ब्यस्त सडक पनि। प्राचिन कालमा यसलाई ‘न्यूरोड’ को नामबाट पनि चिनिने जुन हालका दिनहरुमा पनि तपाई हामी सबैको मुखारबिन्दुबाट ‘न्यूरोड’ नै सम्बोधन हुने गर्दछ।नामाकरणको समयमा यसको पुर्वमा टुँडिखेल, पश्चिममा वसन्तपुर दरवार क्षेत्र, उत्तरमा रन्जना सिनेमा हल र दक्षिणमा खिचापोखरी रहेको पाइन्छ। यो सारै व्यस्त र ठूलो मात्रामा ब्यवसाय हुने क्षेत्र हो।यसको निर्माण विक्रम सम्वत १९९० को महाभुकम्प पछि जुद्ध शमशेरले आफु प्रधानमन्त्री भएको समयकालमा निर्माण गरेको हुनाले यसलाई ‘जुद्ध सडक पनि भनिदो रहेछ।यस सडकबाट पुर्व-राजपरिवारको बसोबास हुने पुरानो दरबारमा पुगिने भएकाले यसलाई पुरानो दरबार मार्ग पनि भनिदो रहेछ।यहाँ बसोबास गर्ने अधिकांश बासिन्दाहरु नेवार समुदायका रहेछन्।यो काठमाडौंको सबैभन्दा नयाँ सडक भएकाले पछि त्यसलाई ‘नयाँ सडक, न्यूरोड वा न्हू सतक’ भन्न थालिएको रहेछ  र यो सडक नेपालकै पहिलो पिच सडक पनि रहेछ।न्यूरोडसँगै रहेको भुगोल पार्क नेपालकै पहिलो व्यवस्थित पार्क रहेछ, न्यूरोडमै रहेको नेपालको पहिलो सिनेमा भवन ‘जनसेवा सिनेमा’ निर्माण गरिएको जुन पछि आगलागीमा परी ध्वस्त भई हाल त्यस ठाँउमा नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर जुन हालको बिशालबजारको नामले चिनिन्छ सो निर्माण गरिएको छ । प्रधानमन्त्री जुद्ध शमशेरले यसै नयाँ सडकमै नेपालको पहिलो दमकल सेवा ‘जुद्ध वारुणयन्त्र’ पनि स्थापना गरेका रहेछन् ,(स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट)।त्यसैले यो एक सडक मात्र नभएर वास्तवमा नेपाल रहेछ किनकि मैले सानो उमेरमा गाँउघरतिर ‘नेपाल बाजे भनेर बोलाउने गरेको नाम सुनेको थिए।आज आएर थाहा हुदै छ कि प्राचिन कालमा काठमाण्डौलाई ‘नेपाल’ भनिने रहेछ र काठमाण्डौ आएर गएकाहरुलाई ‘नेपाले’ हुदै पछि बुढेसकालमा तिनिहरुलाई ‘नेपाले बाजे’ पो भनेका रहेछन्।अनि त्यो नेपालको एक मुख्य ठाँउ पो रहेछ नयाँ सडक (न्यूरोड)।

नयाँ शहर:

यो नयाँ सडक सहितको नयाँ शहर (काठमाण्डौ) मा पुगेका अधिकांश मानिसहरु आर्थिक रुपमा सुकिला देखिन्छन् र देखाउने प्रयास गर्दछन् पनि।आधारभुत जिवनशैली प्राप्त छ।अर्थात भोतिक रुपमा दु:ख प्रवेश गर्ने प्वाल त्यति सहजै देखिदैन।तर किन हो तिनिहरु पटक्कै खुसी देखिदैनन्, कुनै घाउलाइ दवाएजस्तो।यहाँनेर तपाइ हामीहरुले सुन्दा उस्तै लाग्ने शब्द ‘खुसी’ अनि ‘सुखी’ वास्तवमा फरक चिज नै रहेछ भन्ने एक खालको धारणा बनाउन कुनै फरक ‍अनि आपत्ति नरहला।

यस्तै कुनै न कुनै रुपमा यो नयाँ शहरभित्र ईन्ट्रि/प्रवेश भैसकेका धेरै मानिसहरु आफ्नो यस्तै खुसी नहुदाको जिन्दगीभित्र अटाउदारहेछन् वा सिंगो जिन्दगी वितेको पत्तै नपाउदारहेछन्।किनकि, उनिहरु नयाँ शहरलाई निकै ठुलो देख्दा रहेछन् एकपल्ट पुग्नैपर्ने ठाँउ सम्झदारहेछन्।किनकि यसलाई पुष्टि गर्ने उखान सबैका कानमा गुञ्जिन्छ, काठमाण्डौ शहर हेर्दा लाग्छ रहर

मलाइ पनि सुरुमा नयाँ शहर निकै ठुलो, बिशाल अनि राम्रो लाग्यो। किनकि, यहाँ ठुल्ठुला भवनहरु, बाटाहरु पनि निकै ठुला अनि फराकिला, टन्‍नै गाडिहरु कुद्‍ने, जता गएपनि मानिसहरुको अनि गाडिहरुको भिडभाड, अस्पताल, सिनेमाहल, होटेल अनि लजहरु, स्कुलदेखी विश्वविद्यालयसम्मका थुप्रै शैक्षिक संस्थाहरु, मन्दिर अनि गुम्बाहरु, नाचघरदेखी फनपार्कसम्म, मजबुत सुरक्षा संयन्त्र, एयरपोर्ट, मुख्य प्रशासकिय अड्डाहरु, सपीङ्ग मलहरु ठाँउठाँउमा भएको अनि केही राम्रै घुम्ने ठाँउहरु लगायतका थुप्रै अन्य कुराहरुले होला सायद।मलाई पनि यहाँ जे देख्यो त्यही राम्रो, अचम्म अनि अनौठो लाग्दै सुरु-सुरुमा नयाँ शहर निकै बिशाल अनि गज्जबको लाग्यो।

निकै समय नयाँ शहरको बसाइले म पनि निकै अनुभवी भैसकेको थिए।अर्थात कतिसम्म त भन्दा एक्लै यात्रा गर्न र केही प्रशासनिक कार्यहरु पुरा गर्न मात्र किनकि सबैसँग भलाकुसारी गर्ने ठाँउ होइन रहेछ नयाँ शहर।किनकि, यहाँ थरिथरिका मानिसहरु अर्थात थोरै लेखेर धेरै नाम कमाएकादेखी धेरै लेखेर थोरै नाम कमाएका सम्मका सबैका थरिथरिका मानिसहरुको आ-आफ्नै व्यस्तता।अनि यिनिहरु सबैका आ-आफ्नै कथा-व्यथाहरु जो कपुरझै बिलाउने बाहेक पुरा होलान जस्तो लाग्दैनथ्यो मलाई यहाँ।किनकि अधिकांशको बोली कमजोर नै पाए मैले र थियो पनि सायद।यहाँनेर यस नयाँ शहरको एउटा कटु सत्य जुन एक ब्यङ्‍ग्यात्मक प्रस्तुतिको रुपमा राख्दा फरक नपर्ला, ‘घर पुग्दा प्राय:जसो बत्ती हुँदैन।तर घरमा आज बत्ती आउने पालो छ।त्यसैले पनि मन खुसी छ।घर गएर टीभी हेर्न पाइन्छ।किताब पढे पनि भयो।परिवारका सदस्यहरुको अनुहार उज्यालोमा हेर्न पाइन्छ।संयोगले जुन रात घरमा बत्ती थियो, भोलिपल्ट बिहान धारामा पानी आउने पालो पनि परेको रहेछ।त्यसैले त्यो रातमात्र होईन, भोलिपल्ट बिहान पनि साच्चै सुन्दर लाग्यो।त्यो दिन पानी आयो, कति आयो बेग्लै कुरा हो।जेहोस् घरका गाग्री र बाल्टिनहरुले पानी पाए। घण्टौंसम्म लाइन बसेर पनि तेल नपाएर रित्तै फर्केको अनुभव छ।बाटोछेउमा एउटा पेट्रोल पम्पमा तेल हाले लाइन बस्नु परेन।बाइकमा पेट्रोल भरिरहँदा पेट्रोलजस्तै मनभरि खुसीको वास्ना मगमगायो।भान्छाकोठा रमाइलो लाग्दै थियो। सरदर हप्ता दिनमा पानी आउछ धारामा।तर जुन दिन पानी आँउछ, पानीसँगै पानीभन्दा बढी खुसी आँउछ।बत्ती आयो, खुसी भइयो।पानी आयो झन बढी खुसी भइयो।गाग्रीहरु पनि खुसी भए।’(पत्रकार अशोक सिलवालले राजधानी दैनिक पत्रिकामा लेखेको रमाइलो य्यंग्यात्मक लेखको अंश, कर्ण शाक्यको ‘मोज’ कृतीको पेज नं.5) त्यसैले भन्न सकिन्छ कि यो यस्तो शहर हो जहाँ एउटा आर्थिक होस् वा बौद्धिक, जुनसुकै स्रोतबाट सुख र समृद्धि प्राप्त गर्न खोज्न आउने ठाँउ रहेछ।

म पनि आमाबाबुको स्वप्न फुलाउन नयाँ शहर छिरे, तर वर्तमान युगलाई मसिनोसँग केलाउन खासै सकेको छैन आजका दिनसम्म पनि, किनकि यो नयाँ शहर अनि यहाँको भन्दा निकै फरक परिवेशमा हुर्के अनि बढेर लक्का जवान भई आएको मलाइ यो घुइचोले भरिएको नयाँ शहरले जिवनका बहुरङ्गी जटिलताहरु अनि संकुचित बन्धनहरु जुन यहाँ कटहरको चोपझै टास्सिन आउदा मात्र रहेछन् भन्‍ने अभिव्यक्त बोधसम्म गरायो तर समाधान गर्न विल्कुल सिकाएन कहिल्यै र मलाई उपमा दियो त केवल नाममात्रको शहरीयाको

वर्तमान समयमा त नेपाल सरकारले नेपालको पुर्व पाँचथरको फिदिमदेखी पश्चिम बैतडिको पाटनसम्मका थुप्रै ठाँउहरुलाई नयाँ शहर बनाउन थालेको छ। तर चर्चाजत्तिको उपलब्धी भने भएको अझै आभास गर्न सकिएको छैन।किनकि, आजकल विकास भनेकै सडक खन्‍नु मात्र हो जस्तो भान हुन्छ।तर आजका दिनसम्म त यी घोषणा गरिएका नयाँ शहरहरुभन्दा त्यही नयाँ सडक (न्यूरोड) र त्योसहितको नयाँ शहर (काठमाण्डौ) ले आफ्नो नयाँ पुस्ता पाएको छ।अनि साच्चिकै नयाँ शहर भएको छ यो।यहाँ जादा कुनै पनि मानिसले अब आफ्नो सवारी साधन लिएर कहाँ पार्किङ्ग गर्ने भन्ने असजिलो महसुस आजकल कम हुदै गएको छ।किनकि पछिल्लो समय यहाँ जानुपर्दा कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्नुपर्ने भएको छ।यसलाइ नै भनिदो रहेछ स्मार्छ पार्किङ्ग।यो एक पूर्ण नयाँ सुरुवात हो नयाँ सडकका लागी।यसमा दर्ता गरिएको सवारी साधनहरुको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने र दर्ता भएको सवारी साधन मात्र पार्किङ गर्न सकिने व्यवस्था सुविधायुक्त यस स्मार्ट पार्किङमा रहेछ।यस्तै विभिन्न नयाँ उपलब्धी सहितका गतिबिधीहरुले भरिपुर्ण नयाँ सडक अनि नयाँ शहरले आफ्नो नयाँ रुप प्रस्तुत गरेको छ आजका दिनहरुमा।नयाँ सडक अनि नयाँ शहर आउने नयाँ मानिसहरु बिच एक महान सम्बन्ध छ जुन ‘घर बाहिरमा आधारित पुर्ण स्वीकृति हो।अर्थात तपाइ हामीलाई बाहिरी गतिविधीहरुमा भाग लिन बढी प्रोत्साहित गर्दछ यसले।

यस्तै गतिविधीहरुले भरिपुर्ण यस नयाँ सडक अनि नयाँ शहरमा बसोबास गर्ने सबै मानिसहरुका यी र यस्तै खाले जिज्ञासाहरुले ज्ञानको नयाँ ढोका खोल्ने साँचोको काम गर्न सकुन्।यहाँ देखिएका र देखिने ति बहुरङ्गी जटिलताहरु अनि संकुचित बन्धनहरु जस्तै:- यहाँको सबैभन्दा ठुलो चुनौती आवासको गुणस्तरता हो जसको स्वीकार गरि समाधान होस्, अनि बस्ने खर्चको बारे अनुसन्धान होस्।कम्पनी वा काम आउने बारेमा केहि अनुसन्धान होस्, सबैले अनुभुती गर्न सक्ने किसमको भरपर्दो, आधुनिक अनि दिगो विकास होस्।विकृति, जटिलताहरु, संकुचित बन्धनहरु जुन यही नयाँ शहरको ढोका हुदै टुकुचाको भेल भएर ‍ओइरिइ डम्पिङ साइड भएका छन् यहाँ यीनिहरुको प्रभावकारी व्यवस्थापन भए साच्चिकै यो नयाँ सडक अनि नयाँ शहर नै हुन्थ्यो होला।यही नै हो नयाँ सडक (न्यूरोड) अनि नयाँ शहर (काडमाण्डौ)

सुझाव/प्रतिक्रियाका लागी [email protected] & [email protected]

@joshinawaraj301

प्रतिक्रिया दिनुहोस