कोरोनाबारे प्रधानमन्त्री ओलीका विवादमा परेका तीन महिनाका तीन प्रमुख अभिव्यक्ति

देश राजनीति समाचार

असार ०८ काठमाडौं : विश्वभरि महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबखत टिप्पणी गर्दै आएका छन्। र, उनका कतिपय अभिव्यक्तिले व्यापक टीकाटिप्पणी पनि निम्त्याएका छन्।

विगत तीन महिनायता प्रधानमन्त्री ओलीले कोरोनासँग सम्बन्धित तीन मुख्य विवादास्पद अभिव्यक्ति दिएका छन्।

‘कोरोनाभाइरस रुघाखोकी जस्तो’

असार ४ गते राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाभाइरसबारे अभिव्यक्ति दिए।

उनले भने, “कोरोना [भाइरस] भनेको एउटा रुघाखोकीजस्तो हो। लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ।”

तर, प्रधानमन्त्रीले भनेजस्तो कोरोनाभाइरसलाई हल्का रूपमा लिन नहुने विज्ञहरूको राय छ।

बीबीसी न्यूज नेपालीसँग भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माले भनिन्, “साधारण रुघाखोकीभन्दा यो धेरै नै फरक छ। यो भाइरसको हकमा कसलाई कुन लक्षण देखिन्छ भन्ने कुरा पनि हामीलाई अहिलेसम्म थाहा छैन।”

“यो एकदमै नयाँ प्रकृतिको हुनाले हाच्छिउँ गरेर, तातो पानी खाएर उडाउन सकिँदैन,” उनले थपिन्।

इथिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनी पनि कोरोनाभाइरस रुघाखोकीजस्तो भएको तर्कसँग विमति राख्छन्।

उनी भन्छन्, “कोरोनाभाइरस रुघाखोकीजस्तो सामान्य होइन। त्यति सामान्य भइदिएको भए र मृत्युदर कम भएको भए विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य क्षेत्रमा आपत्कालीन अवस्था घोषणा नै गर्नु पर्दैनथ्यो।”

‘भारतबाट आएको भाइरस कडा’

गत जेठ ६ गते संसद्‌मै बोल्ने क्रममा कोरोनाभाइरसको प्रकृतिबारे प्रधानमन्त्री ओलीले दिएको अर्को अभिव्यक्तिले पनि विभिन्न प्रतिक्रिया निम्त्यायो।

कोरोनाभाइरसबारे उनले भनेका थिए, “वुहानबाट सङ्क्रमण भएर आएको अलि नरम देखिएको थियो। इटलीबाट आएको पनि अलि नरमै देखिएको थियो।”

“दुबईबाट आएको पनि अलि नरमै देखिएको थियो। तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ।”

प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्तिबारे भारतीय सञ्चारमाध्यमहरूले पनि समाचार प्रकाशन/प्रसारण गरे।

तर विज्ञहरू प्रधानमन्त्रीले भने जस्तै भारतबाट फर्केका नेपालीहरूमा देखिएको कोरोनाभाइरस सङ्क्रमण कडा खालको भए वा नभएको कुरा वैज्ञानिक रूपमा पुष्टि भइनसकेको बताउँछन्।

“बाहिर देखिएको स्ट्रेन र भारतमा देखिएको स्ट्रेनमा फरक छैन। अहिलेसम्मका अनुसन्धानले त्यही कुरा देखाएका छन्। म्यूटेशन हुँदैमा भाइरस डरलाग्दो हुन्छ भन्ने पनि हुँदैन,” डा. शर्मा भन्छिन्।

हुन त नेपालमा हालसम्म पुष्टि भएका सङ्क्रमणमध्ये अधिकांश घटना भारतबाट फर्केका नेपालीसँग सम्बन्धित छन्।

तर त्यस्तो देखिँदैमा भारतबाट आएको भाइरस कडा हो भन्न नसकिने विज्ञहरूको भनाइ छ।

डा. मरासिनी भन्छन्, “फाटफुट हो कि भनेका छन्। तर यो भनेको माइलो भाइ, साहिँलो भाइजस्तै हुन्छ।”

‘तातो पानीले भाइरस समाप्त हुन्छ’

गत चैत महिनाको २९ गते प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओमार्फत्‌ छलफल गरे।

त्यसक्रममा उनले तातो पानीले हात धुँदा कोरोनाभाइरसको बाहिरी तह पग्लिएर भाइरस समाप्त हुन सक्ने दाबी गरे।

प्रधानमन्त्री ओलीले भने, “…जहाँ भाइरस छ भने पनि तातो पानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ त्यहीँ।”

धेरै तातो पानीले त हात धुन सकिँदैन। मनतातो पानीले हात धोएर भाइरस मर्ने सम्भावना हुँदैन।डा. बाबुराम मरासिनी, पूर्वमहानिर्देशक, इथिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

“मर्ने होइन, त्यसको जुन जीवतत्त्वको रूपमा त्यो बाहिरी लेयरको बोसीय तत्त्वले जे उपद्रो मच्चाउन सक्थ्यो, त्यो समाप्त हुन्छ।”

भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माका अनुसार कतिपय भाइरस ‘एन्भेल्पड’ हुन्छन् भने कतिपय हुँदैनन्।

“उहाँले भन्न खोजेको एन्भेल्पड भाइरस होला। तर भाइरसलाई मार्न तातो पानीमा कति समय राख्नुपर्छ कसरी राख्नुपर्छ भन्ने कुराको पनि एउटा प्रोटोकल हुन्छ, “उनले भनिन्।

“तातो पानी पिउँदैमा वा त्यसले धुँदैमा मर्छ भन्ने हुँदैन। अतः प्रधानमन्त्रीको यस सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको अभिव्यक्ति हल्का छ।”

डा. शर्मासँग सहमति जनाउँदै डा. मरासिनी थप्छन्, “धेरै तातो पानीले त हात धुन सकिँदैन। मनतातो पानीले हात धोएर भाइरस मर्ने सम्भावना हुँदैन।

“भाइरस अथवा ब्याक्टेरिआ मर्नलाई कम्तीमा ७० डिग्री तापक्रम चाहिन्छ, अझ कुनै कुनैलाई मार्न त पानी नै उमाल्नुपर्छ।”

उनका अनुसार प्रधानमन्त्री ओलीले वैज्ञानिक रूपमा पुष्टि भएकाभन्दा व्यक्तिगत धारणा व्यक्त गरेको हुन सक्छ।

स्वास्थ्य मन्त्रालय आफैँले धेरै कुरा नबोल्ने गरेको सन्दर्भमा प्रधानमन्त्रीबाट कोरोनाभाइरसबारे अभिव्यक्तिहरू आएको हुनसक्ने पनि डा. मरासिनीको आकलन छ।

“प्रधानमन्त्रीले ‘रिस्क कम्युनिकेशन’ गर्नुभएको होला। स्वास्थ्य क्षेत्रमा जोखिमको बेला गरिने सञ्चार हुन्छ,” उनी भन्छन्।

“त्यसमा धेरै पनि बोल्नुहुँदैन, थोरै पनि बोल्नुहुँदैन। त्रास पनि निम्त्याउनु हुँदैन, असान्दर्भिक कुरा पनि गर्नुहुँदैन।”

आफू विज्ञ नभएको विषयमा जिम्मेवार व्यक्तिहरूले अभिव्यक्ति नदिनु नै जाती हुने डा. शर्माको सुझाव छ।

“जिम्मेवार पदमा बस्ने व्यक्तिका कुरा मान्छेले मान्छन् र ती कुरालाई पछ्याउँछन्। त्यसैले त्यस्ता व्यक्तिले हल्का टिप्पणी गर्नु हुँदैन,” उनले थपिन्।

असार ४ गते नै राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले कतिपय अवस्थामा बेसार खान हुने र कतिपय अवस्थामा खान नहुने बताएका थिए।

“बेसार पनि कोही कोही अवस्थामा खानुहुँदैन। रक्तअल्पता भएको छ भने बेसार खानुहुँदैन, जन्डिस लागेको छ भने बेसार खानुहुँदैन।”

त्यसबारे डा. शर्मा भन्छिन्, “बेसारकै हकमा राम्रो गुण होला तर त्यो कुरा विज्ञबाट आएको भए सकारात्मक सन्देश जान्थ्यो।”

विषयगत ज्ञान र विज्ञता नभएको अवस्थामा कुनै कुराबारे टिप्पणी गर्दा त्यसले नकारात्मक प्रभाव पार्नेतर्फ सम्बन्धित व्यक्तिले हेक्का राख्नुपर्ने विज्ञहरूको राय छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *