आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करोडौंका कृषि सामाग्री वितरण, भारतीय तरकारी आयातमा बन्देज लगाउने तयारी

AuthorAP Khabar२०७७ अषाढ ८, सोमबार (३ साल अघि) ९४४ पाठक संख्या

पुष्पराज खतिवडा : भारतीय तरकारी आयातमा बन्देज लगाउने तयारी भैरहेको संघिय सांसद रामबाबु यादवले बताएका छन् । कृषि ज्ञान केन्द्र बाराले सोमबार जीतपुसिमरा उपमहानगरपालिका ११को सिसहनियामा आयोजना गरेको कृषि सामाग्री वितरण कार्यक्रमका सांसद यादव प्रमुख अतिथी थिए ।

कृषि सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ठुलो परिमाणमा भारतबाट तरकारी लगायतका खाध्य सामाग्री आयात हुँदा नेपाली उत्पादक किसान मारमा पर्दै आएको बताए ।

उनले भने “भारतबाट हुने तरकारी आयातमा बन्देज लगाउने गृहकार्य भैरहेको छ । जुन कुराका लागि पटक पटक संसदमा आवाज उठाउँदै आएका थियौं । ” भारतीय तरकारी आयातमा बन्देज भए नेपाली किसानले मूल्य नपाएर सडकमा फाल्नु पर्ने दिन समाप्त हुने उनको भनाई थियो ।

त्यस्तै संसद यादवले कोभिड १९को प्रभावका विच रसायनिक मल ब्यवस्थापनमा संघिय सरकार जुटेको बताएका छन् । देशभर रसायनिक मलको हाहाकार भैरहेकाबेला स्थानियले मलको अभावमा खेती गर्न कठिनाई भएको गुनासो गरेका थिए । सरकारले निजी तवरबाट समेत मलको आयातका लागि केही दिन अघिबाट काम सुरु गरेका सुचना आफुले पाएको सांसद यादवले बताए ।

देशभरमा ७ लाख मेटिकटन मलको आवश्यकता रहेका छ । तर साँढे तीनलाख मेटिक टन मात्रै आयात हुँदै आएका कारण मलको हाहाकार भएको हो । यो समस्या समाधान उन्मुख रहेको उनले बताए ।

सांसद यादवले कृषि क्षेत्रलाई माथी उठाउन, बढ्दो बेरोजगारी समस्या समाधान गर्न राज्यले अनुदान र राहतका कार्यक्रममा विशेष जोडदिनु पर्ने भनाई राखे । वास्तविक किसानलाई एकलाख देखी पाँच लाख रुपैँया सम्म न्युन ब्याजमा सरल कर्जा दिने र उत्पादनका आधारमा प्रोत्साहन रकम दिने विषयहरुमा समेत छलफल भैरहेको बताए । मल विउ, विषादी र कृषि औजार,कृषी यन्त्रहरुमा अनुदानसँगै सिंचाईको ब्यवस्था र उत्पादनको बजार ग्यारेण्टी गर्न आफुले आवाज उठाउँदै आएको बताएका छन् ।

कार्यक्रममा जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष अजय पटेल ,कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादव , साना किसान कृषि सहकारी संघ बाराकी कोषाध्यक्ष नयनकला खड्का लगायतकाले मन्तब्य राखेका थिए ।

करोडौंका कृषि सामाग्री वितरण
कृषि ज्ञान केन्द्र बाराले किसानहरुसँगको सहकार्यमा ५० प्रतिशत अनुदानमा करोडौंका कृषि सामाग्री वितरण गरिरहेको छ । सोमबार मात्रै जीतपुरसिमरा उपमहानगरपालिका ११ को सिसहनीयामा एक कार्यक्रमका विच २ सय बढी किसानहरुलाई सिंचाई उपकरण, विउ, विषादी वितरण गरिएको छ ।

तरकारी ब्लक समिति, धान तथा मकै पकेट कार्यक्रममा आवद्ध दुईसय बढी किसानलाई लाखौं मुल्य बराबरका कृषि सामाग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

जिल्लाका १६ वटा स्थानिय तहहरुका विभिन्न वडामा गढित ब्लक तथा पकेट कार्यक्रम मार्फत करोडौंका कृषि उपकरण वितरण भैरहको हो । तरकारी तथा माछाका ६ वटा ब्लक र धान, मकै, उखु तरकारी लगायतका ३६ वटा पटेक समिति मार्फत कृषि सामाग्री वितरणको कार्यक्रम भैरहेको ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

ब्लकमा २५ लाख र पकेटमा ११ लाखको दरमा सरकारी अनुदान बजेट रहेको उनको भनाई छ । बजेट भएरपनी कोभिड १९का कारण किसानले कामगर्न नसक्दा रकम फ्रिज जाने अवस्था रहेको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस