आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओलीको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार, आआफ्नै रणनीतिमा नेतृत्व

AuthorAP Khabar२०७७ अषाढ १२, शुक्रबार (३ साल अघि) ३३६ पाठक संख्या

असार १२ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शीर्ष नेताहरुका बीचमा दूरी बढ्दै गइरहेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलेर अगाडि बढ्न गरेको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनदेखि अन्य विषयमा समेत मिलेर अगाडि बढ्न गरेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका हुन् । नेकपा स्रोतका अनुसार अध्यक्षद्वयबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

बुधबारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको सम्बोधनमा मतैक्यता नदेखिएपछि थप जटिता बढ्दै गएको छ । सोही मतभेदलाई अन्त्य गर्दै अगामी दिनमा मिलेर अगाडि बढ्नुको विकल्प नभएको ओलीले बताए । ओली सचिवालयले अहिलेको अवस्थामा मिलेर अगाडि बढ्नुको विकल्प नभएको जनाएको छ ।

तर, अध्यक्ष प्रचण्डले मिलेर जाने ओलीको प्रस्तावमा विश्वास नभएको निष्कर्षमा छ । प्रचण्ड सचिवालयका अनुसार अहिलेको आलोचना र विरोधबाट बच्नका लागि ओलीले मिलेर अगाडी बढन प्रस्ताव गरेको जनाएको छ ।

‘पाँच वर्ष नै केपी कमरेडले सरकार चलाउँने प्रचण्ड कमरेडले सहमति दिएपछि कुरा बिग्रेको हो’ दाहाल सचिवालयले भन्यो, ‘त्यसपछि ओली कमरेडको पार्टी र सरकार दुबै तिर मनोमानी शुरु भयो ।’

प्रधानमन्त्री ओलीसँग भेट्नुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेरै र अर्का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसँग फोनमा कुराकानी गरेका थिए । अहिले प्रचण्ड, नेपाल, खनाल, गौतम लगायतका नेता एकातिर छन भने ओली अर्का तिर छन् । अहिलेको अवस्थामा ओली सचिवालय र स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्म कमजोर अवस्थामा छन् ।

प्रचण्डले जारी स्थायी कमिटी बैठकमा पार्टी र सरकार सञ्चालनदेखि अन्य विषयमा खुलेर आफ्ना कुरा राख्न भनिसकेका छन् । प्रचण्ड र नेपाल समूह बैठकमा आउने निष्कर्षकै आधारमा अगाडि बढ्ने रणनीतिमा रहेका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीमा ‘सिस्टम’ नै नभएको बताइन् । सरकार र पार्टी सञ्चालन मनोमानी भएको बताउँदै महत्वपूर्ण निर्णयमा पार्टीभित्र छलफल र सल्लाह नहुनुले अहिलेको अवस्था सृजना भएको बताइन् ।

ओलीले सरकार र पार्टी सञ्चालनमा मनोमानी गरेको, पार्टी भित्र सल्लाह नै नगरी अध्यादेश ल्याएको, मुलुक र जनतको विरोधमा रहेको एमसीसी सम्झौता संसदबाट पारित गराउँन खोजेको आरोप प्रचण्ड र नेपाल समूहले लगाउँदै आएका छन् । यस्तै दाहाल र नेपाल समूहले एक व्यक्ति एक जिम्मेवारीको समेत मुद्दा बैठकमा जोडका साथ उठाउँदैछन् ।

एक व्यक्ति एक जिम्मेवारीको विषयमा नेपाल समूहले सुरुदेखि नै कुरा उठाउँदै आएको छ । यस्तै ओलीले पार्टी र सरकार सञ्चालनका क्रममा मनोमानी गर्दा थप समस्या बढेको निष्कर्ष प्रचण्ड र नेपाल समूहको छ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले जारी स्थायी कमिटीको बैठकबाट पार्टी र सरकार सञ्चालनका क्रममा महत्वपूर्ण सुझाव दिने बताए । अहिलेकै अवस्था अनुसार पार्टी र सरकार सञ्चालन भए धेरै कुरा बिग्रन सक्ने भएकाले पार्टीको निर्णय कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए ।

पार्टी र सरकार सञ्चालनमा मात्रै नभई एमसीसी सम्झौताका विषमा समेत पार्टीभित्र किचलो रहेको छ । ओलीले यथास्थितिमै पारित गराउने पक्षमा उभिदै आएका छन् भने प्रचण्ड, नेपाल, खनाल समूह सर्त संशोधन गरेर पारित गर्ने पक्षमा रहेका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले अहिलेको अवस्थामा मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । कोरोनाभाइरसको नियन्त्रण, रोकथामसहित आर्थिक समृद्धी एवं जनताको चाहना पूरा गर्न नेतृत्व मिल्नुको विकल्प नभएको उनले बताए । जनताले यति बहुमत सहितको मत झगडा गर्नका लागि नदिएको बताउँदै उनले नेतृत्वले जनताको चाहना पूरा गर्नतर्फ ध्यान दिए राम्रो हुने सुझाव मण्डलले दिए ।

प्रतिक्रिया दिनुहोस