नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

देश राजनीति समाचार

असार १३ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

सातवटा एजेण्डा तय गरिएको बैठकमा शुक्रबार नेपालले जारो गरेको नेपालको नयाँ नक्सामा केन्द्रीत रहेको थियो आज पनि त्यही विषयमा बोल्न बाँकी सदस्यले आफ्नो धारणा राख्ने छन् ।

हिजोको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित भएनन् । पहिलो दिन सरकार र पार्टीमा सहयोग नपाएको गुनासो गरेका प्रधानमन्त्री ओली शुक्रबारको बैठकमा नआएकोमा स्थायी कमिटी सदस्यले आपत्ति जनाए ।

आफ्नो कुरा राखेर प्रश्नको सामना गर्न प्रधानमन्त्री ओली तयार नभएको भन्दै सदस्यहरु बैठकमै महासचिव विष्णु पौडेलमाथि समेत खनिएका थिए । उनीहरुले ओलीले अराजनीतिक संस्कार देखाएको टिप्पणी गरेका छन् ।

यता बैठकमा नेताहरुले विरोध गरेपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि राखिएको सोफा हटाइएको थियो । बैठकमा ओली र प्रचण्डका लागि मञ्चमा सोफा राखिएको थियो भने अन्य नेताहरुका लागि कुर्सीको व्यवस्था थियो ।

दोस्रो दिनको बैठकमा नेता भीम रावलले बैठक कक्षको मञ्चमा दुई अध्यक्षका लागि छुट्टै सोफा किन राखेको भनेर प्रश्न गरेका थिए । नेता रावलले कम्युनिष्ट पार्टीको बैठकमा कुर्सीमै असमानता किन भनेर प्रश्न गरेका थिए । यो सामन्तवादी प्रवृति भएको भन्दै उनले हटाउन माग गरे । उनले सोफा हटाउन माग गर्दा सबैले ताली बजाएर समर्थन गरेका थिए । त्यसलगत्तै अध्यक्षद्वयका लागि मञ्चमा राखिएका सोफा हटाईएको एक नेताले जानकारी दिए । त्यसपछि अन्य सदस्यलाई जस्तै अध्यक्षका लागि कुर्सीको व्यवस्था त्यहाँ भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *