आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक नाघ्यो, ५६ मध्ये ३७ ढोका खोलियो

AuthorAP Khabar२०७७ अषाढ २७, शनिबार (३ साल अघि) ६२८ पाठक संख्या

असार २७ जनकपुर : बुधबार रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण प्रदेश नम्बर १ र २ को सीमा क्षेत्र कोशी नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । लगातारको वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदीको ढोका खोल्ने क्रम पनि जारी रहेको छ ।

कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । धनकुटास्थित तमोर नदी मुलघाटमा जलस्तर बढेपछि कोशीसँग जोडिएको प्रदेश नम्बर २ को सप्तरी र प्रदेश नम्बर १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सप्तरी र सुनसरी सीमा छुट्याउने कोशी नदीमा पानीको बहाव बढ्दै गइरहेको बताए । कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेत मान्ने गरिएको छ । आज (शनिबार) बिहानसम्म कोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक कटिसकेको जानकारी आफूहरूलाई प्राप्त भएको उनले बताए ।

उनले भने–‘धनकुटास्थित तमोर नदी मुलघाटमा पानीको बहाव उच्च भइसकेको जानकारी आएको छ, तमोर नदी नै कोशीमा मिल्ने भएकोले यहाँपनि पानीको सतह बढेको हो ।’

कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । पानीको बहाव लगातार बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये ३७ वटा खोलिसकेको उनले बताए । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ३७ वटा ढोका खोलिसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

कोशी नदीमा आउने बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका दर्जनौं गाउँ डुबानमा पर्ने गरेको छ भने उक्त क्षेत्र प्रत्येक वर्ष वर्षातयाममा बढी नै प्रभावित हुने गरेको छ । कोशीको पानी गाउँभित्र छिरेपछि हजारौं स्थानीय बाढीको चपेटमा पर्ने गर्छन् भने अधिकांश गाउवासीको उठिवास नै हुने गर्दछ ।

लगातारको वर्षापछि कोशीमा बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले उच्च सतर्कता अपनाउँदै नदी वरिपरी नजान सर्वसाधारणहरूलाई अपिल समेत गरेको छ ।

सप्तरीका प्रहरी निरीक्षक कृष्ण प्रसाईले बाढीका कारण आउनसक्ने चुनौतीको सामना गर्न आफूहरू तयारी अवस्थामा रहेको बताए । कोशी नदी र खाडो नदीमा बाढी आउदा हरेक वर्ष भारदह, पोर्तहा, जमुनिया, तिलाठी कोइलाडी लगायतका गाउहरू डुबानमा पर्ने गर्छन् भने गाउलेहरुको उठीवास नै हुने गरेको छ ।

विगत वर्ष आएको बाढीले बगाएको तटबन्ध लगायतका निर्माण कार्य अधुरै रहेका कारण र यस वर्ष अधिक वर्षात हुने देखिएपछि सप्तरी र सुनसरीमा यस वर्ष विगतभन्दा बढी बाढी आउने स्थानीय प्रशासनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस