आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रिस फेर्न भारत लगेर बन्धक बनाइएका नेपाली ३ दिनपछि मुक्त

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ४४४ पाठक संख्या

कैलाली , पौष १६ : साझेदारी व्यवसायमा देखिएको मतभेदको रिस फेर्न बझाङबाट अपहरण गरी भारत पुर्‍याइएका एक नेपाली अपहरणमुक्त भएका छन् ।

आफ्नै साझेदार रेहाना खाँबाट अपहरणमा परेका दुर्गाथली गाउँपालिका–४, बझाङका २६ वर्षीय धनराज जोशी त्यसको ३ दिनपछि मुक्त भएको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ ।

भारत उत्तर प्रदेशको खिरीस्थित पालियाका ५० वर्षीय खाँसँगको साझेदारीमा स्काभेटर सञ्चालन गर्दै आएका जोशीलाई खाँले घुम्न जाने भन्दै पालिया पुर्‍याएका थिए । तर, घुम्ने बहाना बनाएका खाँले व्यवसायमा देखिएको मतभेदको रिस फेर्न जोशीलाई बन्धक बनाएर आफ्नै घरमा राखेका थिए ।

जोशी बन्धक बनाएको सूचना पाएसँगै दुर्गाथली गाउँपालिका, बझाङका अध्यक्ष प्रयागराज जोशीले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई त्यसको जानकारी गराएका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बाबुराम श्रेष्ठले अपहरणमा परेका जोशीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँगको समन्वयमा सशस्त्र प्रहरीले आइतबार अपहरणमुक्त गरेको जानकारी दिए । अपहरणमुक्त जोशीलाई आइतबार साँझ स्थानीय जनप्रतिनिधिको जिम्मा लगाइएको उनले बताए ।

‘व्यवसायमा साझेदारी गर्दै आएका खाँलाई घुम्न जाऊ भन्दै भारतस्थित आफ्नै घरमा बन्धक बनाएका रहेछन्’, कैलालीका प्रजिअ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘एसएसबी र सशस्त्र प्रहरीको समन्वयमा ३ दिनपछि उहाँ अपहरणमुक्त हुनुभएको छ ।’

सशस्त्र प्रहरी धनगढीका गणपति नायब उपरीक्षक विष्णुप्रसाद भट्टले एसएसबीसँगको समन्वयमा जोशीलाई मुक्त गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस