आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओलीले बाँडे १० महिनामा साढे १२ करोड

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ७९३ पाठक संख्या

काठमाडौं , पौष १६ : केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आफू लोभ र मोहबाट मुक्त भइसकेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो १० महिनामा साढे १२ करोड रुपैयाँभन्दा बढी रकम आर्थिक सहायताका नाममा वितरण गरेको पाइएको छ । २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री भएपछिको १० महिना (फागुनदेखि मंसिर मसान्तसम्म) मा उक्त रकम आर्थिक सहायताअन्तर्गत बाँडिएको हो । पहिलो पटक प्रधानमन्त्री हुँदाको १० महिनाको भन्दा यो रकम बढी हो ।

“पछिल्लो १० महिनामा वर्तमान सरकारले आर्थिक सहायताको नाममा विभिन्न दलका पहुँचवाला नेता तथा कार्यकतालाई १२ करोड ६० लाख ८८ हजार ७ सय ८० रुपैयाँ वितरण गरेको छ,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बाह्रखरीलाई जानकारी दियोे, “केपी शर्मा ओलीज्यू पहिलो पटक प्रधानमन्त्री हुँदाको १० महिना (२०७२ असोज २४ देखि २०७३ साउन १८ गतेसम्म)मा आर्थिक सहायता शीर्षकमा १२ करोड २५ लाख १३ हजार ६ सय ३५ रुपैयाँ वितरण भएको थियो ।” प्रधानमन्त्री ओलीले पहिलो कार्यकालको भन्दा दोस्रो कार्यकालको पहिलो १० महिनामा आर्थिक सहायताको नाममा ३५ लाख ७५ हजार एक सय ४५ रुपैयाँ बढी वितरण गरेको देखिन्छ ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ नै आफ्नो सपना भएको बताउँदै आएका प्रधानमन्त्री ओलीले सरकारी खर्चमा मितव्ययिता अपनाउन विभिन्न कार्यविधि तथा निर्देशिका जारी गरेका थिए । तर उनकै पालामा राज्यकोषबाट आर्थिक सहायतका नाममा करोडौं रुपैयाँ बाँडेको देखिएको छ ।

आर्थिक सहायता तथा औषधि उपचारको नाममा जथाभावी रकम वितरण हुन थालेपछि केही वर्ष पहिले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि ल्याइएको थियो । कार्यविधिमा स्पष्ट रुपमा तोकिएका रोगको उपचारमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिलाई ५ लाखसम्म र विशिष्ट पूर्व एवं बहालवाला पदाधिकारीलाई बढीमा १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने उल्लेख गरिएको छ । कार्यविधिमा सरकारबाट आर्थिक सहायता पाउन नेपालभित्रै सरकारी अस्पतालमा उपचार गर्नुपर्ने र नेपालमा उपचार हुन नसकेमा सम्बन्धित निकायको सिफारिसमा विदेशमा उपचार गर्न पाउने व्यवस्था छ । तर, सरकारले भने कार्यविधिको खिल्ली उडाउँदै जथाभावी रकम वितरण गरेको छ ।

“औषधि उपचारको लागि आर्थिक सहायता शिर्षकमा वितरण गरिएको रकम धेरैजसो पहुँचवाल दलका नेता तथा कार्यकर्ता र संस्थाहरुले पाउने गरेका छन् । वास्तविक पीडित जनता यो सुविधा पाउनबाट वञ्चित छन् । वास्तविक पीडितमध्ये सानो संख्याले मात्र यो सुविधा प्राप्त गरेको देखिन्छ,” स्रोतले भन्यो ।

सरकारले मंसिर महिनामा आर्थिक सहायताका नामममा १ करोड २७ लाख १९ हजार ७ सय ४९ रुपैयाँ वितरण गरेको छ । यो महिनामा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई उपचार खर्च भनी आर्थिक सहायता शिर्षकबाट सरकारले गृह मन्त्रालयमार्फत् ७ लाख १९ हजार ७ सय ४९ रुपैयाँ उपलब्ध गराएको छ । यस्तै पूर्व सांसद टुकराज सिग्देललाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ भने झापा बिर्तामोड नगरपालिकाका राजेन्द्रकुमार बिमलीलाई १६ लाख रुपैयाँ आर्थिक सहायता स्वरुप उपलब्ध गराएको देखिन्छ । मंसिरमै सरकारले बुद्धभूमि नगरपालिका ३ कपिलवस्तुका मुमाराम आचार्यलाई १० लाख रुपैयाँ दिएको छ ।

गत कात्तिक महिनामा सरकारले १० लाख रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरेको देखिन्छ । असोजमा भने सरकारले १ करोड १९ लाख ९२ हजार ३ सय ८५ रुपैयाँ आर्थिक सहायता अन्तर्गत वितरण गरेको छ । असोजमा सरकारले पूर्वमन्त्री पूर्णकुमार लिम्बुलाई १० लाख रुपैयाँ, नर्वदा शिवाकोटीलाई १० लाख रुपैयाँ, विरबहादुर थापालाई १० लाख रुपैयाँ, नरेन्द्र मोचेलाई ५ लाख रुपैयाँ, सीता तामाङलाई ५ लाख रुपैयाँ, जीवनाथ आचार्यलाई ३ लाख रुपैयाँ, सूर्यकुमार खड्कालाई ३ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको देखिन्छ ।

गत भदौमा पनि सरकारले ठूलो रकम आर्थिक सहायताका नाममा वितरण गरेको देखिन्छ । सरकारले भदौमा १ करोड ८० लाख २१ हजार ८ सय रुपैयाँ वितरण गरेको छ । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यलाई स्वास्थ्य उपचारको लागि सरकारले भदौमा आर्थिक सहायता स्वरुप ३३ लाख ६१ हजार ५ सय ४५ रुपैयाँ उपलब्ध गराएको थियो । सोही महिना रामेछाप नगरपालिका ५ का भीमबहादुर श्रेष्ठलाई– १० लाख रुपैयाँ, दक्षिण एशिया गुठी र काठमाडौं युनभिर्सिटी स्कुल अफ ललाई एक सम्मेलनको आयोजना गर्न भन्दै सरकाले ३० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको थियो ।

गत साउनमा सरकारले आर्थिक सहायता भन्दै ९८ लाख ५१ हजार ६ सय ६९ रुपैयाँ वितरण गरेको देखिन्छ । उक्त महिना नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको लागि २ लाख ३ हजार रुपैयाँ,  काठमाडौं महानगरपालिका ४ चण्डोल निवासी पिताम्बर आम्बुहाङलाई १० लाख रुपैयाँ र पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई १५ लाख रुपैयाँ सरकारले आर्थिक सहयाता उपलब्ध गराएको देखिन्छ ।

गत असार महिनामा पनि सरकारले १ करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरेको थियो । उक्त महिना सेल्टर आश्रम काठमाडौंलाई २० लाख ५८ हजार ३ सय १६ रुपैयाँ, पूर्व सांसद डिलबहादुर नेपालीलाई ५ लाख रुपैयाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १० लाख रुपैयाँ, अखिल नेपाल कबड्डी संघलाई १५ लाख रुपैयाँ र युवा संघ नेपालको आयोजनामा विश्व प्रजातान्त्रिक युवा संघको जनरल काउन्सिल मिटिङको लागि २५ लाख रुपैयाँ आर्थिक सहायता सरकारले दिएको थियो ।

गत जेठमा सरकारले एक करोड ५ लाख रुपैयाँ विभिन्न व्यक्तिलाई आर्थिक सहायता शिर्षक अन्तर्गत वितरण गरेको थियो । खगेन्द्र चुँडाललाई १५ लाख, श्रीचन्द्र शर्मालाई १० लाख र डा. मिमाङ तेम्वे मालापथलाई १२ लाख रुपैयाँ सरकारले जेठमा उपलब्ध गराएको थियो । सरकारले गत वैशाखमा कूल १ करोड १० लाख ५० हजार रुपैयाँ आर्थिक सहायताका नाममा बाँडेको देखिन्छ । उक्त महिना सरकारबाट आर्थिक सहायताका नाममा सरिता राईले १५ लाख, जैविक राईले १० लाख, विराटनगर ९ का लव प्रधान ‘मित्र’ले १० लाख र विश्वेश्वरा दाहालले ७ लाख रुपैयाँ बुझेका थिए ।

२०७४ चैतमा ओली नेतृत्वको सरकारले सबैभन्दा बढी रकम आर्थिक सहायता अन्तर्गत वितरण गरेको देखिन्छ । चैत महिनामा मात्र सरकारले आर्थिक सहायता भन्दै २ करोड १६ लाख ९१ हजार ६ सय ६ रुपैयाँ बाँडेको थियो । सरकारले उक्त महिना पूर्वमन्त्री खुमबहादुर खड्को उपचारको लागि १५ लाख रुपैयाँ र  पूर्व संसद जागृत प्रसाद भेटवाललाई आर्थिक सहायता स्वरुप १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

दोस्रो पटक प्रधानमन्त्री भएकै महिना २०७४ फागुनमा ओली नेतृत्वको सरकारले राज्यकोषबाट १ करोड ४२ लाख १४ हजार ७ सय ४० रुपैयाँ आर्थिक सहायताका नाममा विभिन्न व्यक्तिलाई उपलब्ध गरेको थियो । उक्त महिनामा पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधानलाई जापानमा उपचार गर्न भन्दै २५ लाख रुपैयाँ दिइएको थियो ।

सरकारको नेतृत्वमा जुनसुकै दल पुगेपनि आर्थिक सहायताको नाममा ठूलो रकम दलका नेता तथा कार्यकर्तालाई बाँडिदै आइएको छ । यस अघिको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आर्थिक सहायता शिर्षकमा एक वर्षलाई छुट्याएको बजेटभन्दा बढी रकम आर्थिक वर्षको पहिलो ६ महिनामा नै वितरण गरेर सकेको थियो । आर्थिक वर्ष २०७४–०७५ को लागि सरकारले आर्थिक सहायता शिर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भएपनि देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामा साढे ३२ करोड रुपैयाँ खर्च गरेको थियो । देउवाले २०७४ जेठ २३ देखि माघ महिनासम्म ३९ करोड ८१ लाख ९० हजार रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरेका थिए ।

“खासगरी निर्वाचनको मुखमा, सरकार छोड्ने बेला, चाडवाडको मुखमा र आर्थिक वर्षको अन्ततिर आर्थिक सहायताको नाममा ठूलो रकम सरकारले वितरण गरेको देखिन्छ,” स्रोतले भन्यो ।

देउवाभन्दा अघिको तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेका थिए । उनले पनि बजेटमा व्यवस्था गरिएभन्दा दुई गुणा बढी रकम आर्थिक सहायताको नाममा दलका नेता तथा कार्यकर्तालाई वितरण गरेका थिए । दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्मको १० महिनाको अवधिमा दाहाल नेतृत्वको सरकारले ५९ करोड ४६ लाख ७१ हजार १ सय २ रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरेको देखिन्छ । उक्त वर्ष आर्थिक सहायताको लागि मात्र २५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।

दाहालभन्दा अघि प्रधानमन्त्रीको कुर्सीमा केपी शर्मा ओली थिए । उनले त्यतिबेला १० महिना (२०७२ असोज २४ देखि २०७३ साउन १८ सम्म) सरकारको नेतृत्व सम्हालेका थिए । ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा आर्थिक सहायताको नाममा १२ करोड २५ लाख १३ हजार ६ सय ३५ रुपैयाँ बाँडेका थिए । दोस्रो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री भएका नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले पनि चारवटा बैठकमार्फत् ५ करोड ६१ लाख रुपैयाँ आर्थिक सहायताका नाममा नेता तथा कार्यकर्तालाई बाँडेको थियो ।

२०६२–०६३ को आन्दोलनपछि नेपालमा सरकारको नेतृत्व गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल (दुईपटक), माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, शेरबहादुर देउवा र केपी शर्मा ओलीले (दुई पटक) गरेका छन् । सबै सरकारले नियम मिचेर ठूलो रकम आर्थिक सहायताका नाममा नेता तथा कार्यकर्तालाई बाँडेका छन् ।

२०६२–०६३ को परिवर्तनपछि बनेका ११ वटा सरकारले साढे ५ अर्ब रुपैयाँभन्दा बढी रकम आर्थिक सहायताका नाममा वितरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्याङ्कले देखाउँछ । राज्यबाट सबैभन्दा आर्थिक सहायता भने दुई जना प्रधानमन्त्रीले लिएको देखिन्छ । औषधी उपचारको लागि आर्थिक सहायता शीर्षकबाट केपी शर्मा ओलीले १ करोड २६ लाख ३५ हजार १ सय ३७ रुपैयाँ र सुशील कोइरालाले १ करोड ८७ लाख १७ हजार ९ सय ७४ रुपैयाँ बुझेका थिए ।

 

प्रतिक्रिया दिनुहोस