आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कारबाहीको संघारमा मन्त्री अधिकारी

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ३५८ पाठक संख्या

काठमाडौं  पौष १८ : नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार गरेकाे संसदीय उपसमितिले निष्कर्ष निकालेको छ।

अनियमितता छानबिनका लागि गठित लेखा समितिअन्तर्गतको उपसमितिको मंगलबार बसेको बैठकले अनियमिततामा संलग्न रहेको भन्दै बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ । समितिले दुई पूर्वपर्यटनमन्त्री जीतेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई समेत दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको हाे।

उपसमितिको प्रतिवेदनमा पर्यटनमन्त्री अधिकारीले मन्त्री पद सम्हालेपछि निगमले दुई किस्ता रकम भुक्तानी पठाइएको थियाे। तर मन्त्री अधिकारीले महालेखापरीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको प्रष्ट उल्लेख हुँदाहुँदै पनि छानबिन नगरी अन्तिम किस्ता रकम भुक्तानी दिन राेक नलगाएकाे उपसमितिकाे  निष्कर्ष छ ।

त्यस्तै भुक्तानीबारे छानबिन गर्न खरिद प्रक्रियामा संलग्नहरूकै समिति बनाएको, महालेखापरीक्षक टंकमणि शर्मासँग कुराकानी गरेर रकम भुक्तानी दिएको भनी झुठो बयान दिएको उपसमितिकाे निष्कर्ष छ ।

उपसमितिको प्रतिवेदनमा मन्त्रीले बदनियत राखेको र उनी जिम्मेवारीबाट पन्छन नमिल्ने देखिएकाले कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिफारिस गरेको छ ।

केही समयअघि यही प्रकरणमा आफ्नो नाम जोडिएर समाचार आएपछि मन्त्री अधिकारीले आफ्नो संलग्नता नरहेको भन्दै संलग्नता पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार हुने बताउनुभएकाे  थियाे ।

को -को पर्दैछन् कारबाहीमा ?

उपसमितिले विमान खरिदमा अनियमितता भएको ठहर गर्दै मन्त्री रविन्द्र अधिकारीसहित बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा र पूर्व पर्यटन सचिव तथा हालका गृहसचिव प्रेमकुमार राई, पूर्व पर्यटन सचिव शंकर अधिकारी, वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र अहिले राष्ट्रियसभाका सदस्य रहेका पूर्व पर्यटन मन्त्री जितेन्द्रनारायण देवलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस