आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डीपीएलको खेलाडी ‘अक्सन’ आज

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) १०२४ पाठक संख्या

 काठमाडौं ,पौष २१ :  तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिए ।

यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि तोकिएको थियो । यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन् । जसअनुसार प्रतियोगितामा सहभागी टोलीले खेलाडी किन्नेछन् ।

अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ । छ टोली सहभागी हुने डिपिएलमा हरेक टोलीले दुई विदेशी खेलाडीसहित १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने प्रवधान छ ।

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ । प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्कतालीकामा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौँथोबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।

रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।

देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताका रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि टिम चौराह धनगढीले जितेको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस